A Levels MA

कार्यान्वयनमा ल्याइँदैछ पाठ्यक्रमका नयाँ प्रावधानहरु

नयाँ शैक्षिक सत्र सुरु हुन अब डेढ महिना पनि बाँकी छैन तर अधिकाँश स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार नै गरेका छैनन् । 

आगामी २०७७ सालको नयाँ शैक्षिक सत्रबाट विद्यालय तहमा पाँच क्रेडिट आवरकाे स्थानीय पाठ्यक्रम अनिवार्य गरिएको छ । आगामी वर्ष कक्षा १ मा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याइनेछ भने क्रमशः कक्षा ८ सम्म लागू गरिनेछ ।

पाठ्यक्रम विकास केन्द्रको अनुमानमा हालसम्म करिव ८० स्थानीय तहलेमात्र स्थानीय पाठ्यक्रम तयार गरेका छन् । कतिपय स्थानीय तहले तयारी गरिरहेका छन् भने अधिकाँश स्थानीय तहले अझैसम्म सुरसार नै गरेका छैनन् । 

पाठ्यक्रम विकास केन्द्रले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले स्थानीय सरकारले स्थानीय पाठ्यक्रम तयार गर्नुपर्दछ भन्दै थपे, “अझै एक महिना बाँकी छ । यस अवधिमा बाँकी सबै स्थानीय सरकारले पाठ्यक्रम तयार गरिसक्लान् ।”

स्थानीय तहले स्थानीय पाठ्यक्रमका रुपमा स्थानीय विषयवस्तु वा मातृभाषा वा संस्कृत भाषामध्येबाट कुनै एक छनोट गर्नुपर्ने हुन्छ । पाठ्यक्रम तयार गरिसकेका अधिकाँश स्थानीय तहले स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम तयार गरेका छन् । केन्द्रले आफ्नो वेवसाइटमा स्थानीय पाठ्यक्रमको नमूना राखेको छ । सोहीअनुसार स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार गर्नसक्ने भनाइ केन्द्रका पदाधिकारीको छ ।

गणित नहटाइएको

केन्द्रले हल्ला गरिएअनुसार गणित विषय नहटाइएको स्पष्ट गरेको छ । पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक डा. पौडेलले कक्षा ९ देखि १२ सम्म गणित विषय नहटाइएको बताउँदै भने, “कक्षा ९ र १० मा पहिले पनि अनिवार्य र ऐच्छिक गणित विषय थियो । कक्षा ११ र १२ मा पहिले पनि ऐच्छिक गणित विषय थियो । गणित हटाइएको छैन ।”

उनले आफू पनि गणितको विद्यार्थी भएको र गणित विषयको पाठ्यपुस्तक आफूले पनि लेखेको बताउँदै भने, “कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्य गर्न सम्भव छैन । अहिले एसईई परीक्षामा ५० प्रतिशतभन्दा बढी विद्यार्थीले गणित विषयमा डी र ई ग्रेड ल्याइरहेका छन् । कक्षा १० मा त्यो हालत छ, कक्षा ११ र १२ मा पनि अनिवार्य गरियो भने गणितको नतिजा स्तर निकै खस्किनेछ ।”

उनले विगतमा पनि विज्ञानमा भौतिकशास्त्र, रसायनशास्त्र र जीवशास्त्र अनिवार्य रहेको तथा गणित ऐच्छिकरुपमा रहेको बताउँदै गणित हटाइएको हल्ला गलत रहेको दावी गरे ।

माध्यम मातृभाषा

आगामी शैक्षिक सत्र २०७७ बाट आधारभूत तहमा मातृभाषामा नै अध्यापन गर्नुपर्ने भएको छ ।

अङ्ग्रेजी भाषाप्रतिको मोहले विद्यार्थीको सिकाइलाई बिगारेको तर्क गर्दै केन्द्रले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउने भएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा. पौडेलले कक्षा १ देखि ३ सम्ममा गणित र अङ्ग्रेजी तथा कक्षा ४ देखि ८ सम्म विज्ञान विषय अङ्ग्रेजी भाषामा अध्यापन गर्न पाए पनि अन्य विषय नेपाली भाषा वा मातृभाषामा नै अध्यापन गर्नुपर्ने बताए । 

एक विषयका पुस्तक एउटा

विद्यालयहरुले एउटा विषयका पाठ्यपुस्तक एउटामात्र प्रयोग गर्न पाउने भएका छन् । प्रायः निजी विद्यालयहरुले पाठ्यपुस्तक प्रकाशकहरुको प्रलोभनमा परी एउटै विषयका थुप्रै पाठ्यपुस्तक अध्यापन गर्ने गरेका छन् ।

उनले कक्षा १ मा १६ वटासम्म पाठ्यपुस्तक प्रयोग हुँदै आएको बताउँदै भने, “अब स्वीकृत भएको एउटा विषयमा एउटामात्र पाठ्यपुस्तक अध्यापन गर्न पाइनेछ । सन्दर्भ सामग्रीका रुपमा थप पुस्तक प्रयोग गर्नुपर्ने भएमा विद्यालयमा बुक कर्नर बनाइ राख्न सकिन्छ ।” 

एउटा विषयमा गृहकार्य

शिक्षकले अबदेखि गृहकार्य दिनुपरेमा कुनै एक विषयको मात्र दिन पाइनेछ । पाठ्यक्रम विकास केन्द्रले आगामी वर्षबाट कार्यान्वयनमा ल्याउन लागेको नियमअनुसार एकभन्दा बढी विषयमा गृहकार्य दिन नपाइने व्यवस्था गरिएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा. पौडेलले सबै विषयमा गृहकार्य दिने प्रवृत्तिले घर पुगेका विद्यार्थी गृहकार्यले थिचिने गरेको उल्लेख गर्दै भने, “अबदेखि सबै विषयमा गृहकार्य दिन पाइँदैन । स्कुल सकेर घर पुगेका विद्यार्थीले खेल्न पाएनन् । घर पुग्नासाथ गृहकार्य गर्नमै व्यस्त हुनुपर्ने अवस्था छ । त्यसले विद्यार्थीको सिकाइमा असर पुगेको छ ।”

 

Thuprai - Books and E-books