परिवारभित्रै निरक्षरलाई साक्षर

सरकारलाई साक्षर घोषणा भएको जिल्लामा सबैले अक्षर चिन्छन् भन्ने परेको छ । साक्षरता अभियानको गतिलो अनुगमन भएकै छैन । जिम्मेवार निकायहरुले हावादारी तथ्यांक प्रस्तुत गर्दै आएका छन् । कक्षामा भेला गराउने भन्दा पनि इच वान टिच वान, समूह प्रणाली र परिवार मार्फत नै साक्षर बनाउन जोड दिएका छौं ।

सरकारले दुई वर्ष भित्र मुलुकलाई साक्षर घोषणा गर्न चार वटा ढाँचाबाट साक्षरता अभियान सुरु गर्ने भएको छ ।

एक जना साक्षरले अर्को निरक्षरलाई साक्षर गराउने, समूहमा आबद्ध निरक्षरलाई समूहबाटै साक्षर गराउने, निरक्षरलाई परिवारकै साक्षर सदस्यले पढाउने र बिगतकै जस्तो टोलभरीकालाई भेला गरेर पढाउने विधि अपनाउन लागिएको हो । यसअघि एकै ठाउँमा भेला गरेर र कक्षा १० का विद्यार्थी मार्फत सिकाउने ढाँचा अपनाउने गरिएको थियो । बिगतको ढाँचामा बजेट खर्च भए अनुसार उपलब्धी नआएपछि दुई वर्ष भित्र मुलुकलाई साक्षर बनाउन नयाँ ढाँचा अबलम्बन गर्न लागिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक चुडामणि पौडेलले बताए । ‘कक्षामा भेला गराउने भन्दा पनि इच वान टिच वान, समूह प्रणाली र परिवार मार्फत नै साक्षर बनाउन जोड दिएका छौ,’ उनले भने ।

साक्षर मुलुक घोषणा अभियान सफल पार्र्न केन्द्रले तयार गरेको अवधारणा पत्र अनुसार कक्षागत प्रणाली ढाँचामा कक्षा चलाउन हिमाली जिल्लामा कम्तीमा १५ र तराई, पहाड र उपत्यकामा कम्तीमा २० जना हुनैपर्छ । सिकाइ अवधि भने १ सय ५० देखि २ सय घण्टासम्म छ । ४ महिनाभित्र दैनिक दुई घण्टाको दरले सातामा ६ दिन पढाउनै पर्ने हुन्छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक वर्ष ०७६-७८ भित्र मुलुकलाई साक्षर घोषणा गर्ने भनिएको छ । केन्द्रका उपसचिव दिनेश घिमिरेका अनुसार ५१ जिल्ला साक्षर घोषणा भइसकेका छन् । यो आर्थिक वर्षसम्म ७० जिल्ला साक्षर घोषणा गरिसक्ने लक्ष्य लिइएको उनले बताए । ‘यसवर्ष मध्य तराई बाहेक सबै साक्षर गराउने लक्ष्य लिएका छौ,’ उनले भने, ‘अर्को वर्ष सबै जिल्ला साक्षर घोषणा गरिसक्छौं ।’

०६७ को घरघुरी सर्वेक्षणमा निरक्षर रहेका व्यक्तिहरुको संख्याभन्दा बढीलाई साक्षर बनाइ सक्दा पनि धेरै जिल्लामा साक्षरताका नाममा खर्च भइरहेको छ । ०६७ को घरधुरी सर्वेक्षणमा काठमाडौंमा ४९ हजार ३ सय ३४ जना निरक्षर रहेको पाइएको थियो । त्यसयता आठ वर्ष निरन्तर चलेको साक्षर कक्षामा ५३ हजार ७ सय ४५ जना साक्षर भइसकेको तथ्यांक छ । तर, यो जिल्ला अझै साक्षर घोषणा भइसकेको छैन ।

संखुवासभामा २९ हजार निरक्षर रहेकामा ३२ हजार साक्षर भइसकेको भनिएको छ । सप्तरीमा १ लाख ७० हजार निरक्षर रहेकामा १ लाख ७८ हजार साक्षर बनाएको विवरण सरकारसंग छ । सिरहामा १ लाख ८७ हजार निरक्षर रहेकामा १ लाख ९३ हजार साक्षर बनाइएको तथ्यांकले देखाउँछ ।

निरक्षरलाई साक्षर बनाएपछि थप नवनिरक्षर थपिने गरेको केन्द्रका पूर्वमहानिर्देशक बाबुराम पौडेलले बताए । ‘अब निरक्षरको मुहान नै बन्द गर्ने गरी अनिवार्य शिक्षा सम्बन्धी ऐनले कक्षा ८ सम्म अनिवार्य पढाउनै पर्ने भनेको छ,’ उनले भने ।

सरकारको योजनाअनुसार साक्षर नेपाल घोषणा गर्नुअघि नै देशैभरका १५ देखि ६० वर्ष उमेरसमूहका सबै नागरिक साक्षर हुनेछन् ।

७२ वर्षदेखि निरन्तर

२००४ सालबाट राज्य निरन्तर साक्षरता अभियानमा रहे पनि देशकै राजधानी काठमाडौंसहित २६ जिल्ला साक्षर घोषणा हुन बाँकी छ । यी जिल्ला साक्षर बनाउन यसपाली २० करोड बजेट बिनियोजन गरेको केन्द्रले जनाएको छ ।

सरकारले २०६७ सालमा गरेको घरधुरी सर्वेक्षणका आधारमा साक्षरता कार्यक्रम संचालन गर्दैै आएको छ । सर्वेक्षणका क्रममा १५ वर्ष नपुगेका नाबालकको त्यसयता औपचारिक शिक्षा पाए पाएनन्, पछिल्लो समय साक्षर भनिएकाहरू अझै पनि अक्षर चिन्छन् कि चिन्दैनन् भन्ने विषयमा जिम्मेवार निकाय नै बेखबर छन् ।

यस विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र निर्देशक गेहनाथ गौतम भन्छन्, ‘२०६७ मा घरधुरी सर्वेक्षण गर्दा १५ वर्ष उमेर नपुगेका कारण नसमेटिएका बालबालिका औपचारिक शिक्षामा प्रवेश नगरेको पाइए साक्षरताको अवसार प्रदान गर्न गाउँपालिका र नगरपालिकाले तथ्यांक यकिन गर्ने भनेका छौं ।’

२०७१ असारदेखि साक्षर जिल्ला घोषणा गर्ने अभ्यास सुरु गरिएको हो । त्यसयता निरन्तर शिक्षा भन्ने कार्यक्रम चलिरहेको छ । कार्यक्रमका दुइटा तह रहेको उल्लेख गर्दै उनले भने, ‘तह १ ले बाँकी रहेका निरक्षरहरूलाई साक्षर गराउने कार्यक्रम विकास गर्छ । तह २ ले साक्षर भइसकेकालाई सिकाइको थप अवसर दिन र उनीहरूले सिकाइएका कुरा नबिसिउन् भनेर अगाडिको सिकाइका लागि कक्षा सञ्चालन गर्ने छ ।’

महोत्तरीका शिक्षा तथा समन्वय इकाइ प्रमुख शत्रुघ्न यादवका अनुसार त्यस जिल्लामा मात्रै उमेर पुगेर पनि शिक्षामा प्रवेश गर्न नसकेका र विद्यालय जाने उमेरका ११ हजारभन्दा बढी बालबालिका शिक्षाको पहुँचसम्म पुग्न सकेका छैनन् । ‘गरिबी, कमाउन जानुपर्ने अवस्था र जनचेतनाको कमी तथा पढेर के हुन्छ भन्ने मानसिकताले गर्दा ती उमेर समूहलाई साक्षर गराउन कठिन छ,’ उनले भने । डोम, चमार, मडर, मुसहर र मुस्लिम समुदायका व्यक्तिलाई साक्षर गराउन चुनौतीपूर्ण रहे पनि प्रयास भइरहेको उनले बताए ।

शिक्षाविद्हरू भने सरकार नागरिकलाई साक्षर बनाउने भन्दा पनि साक्षर नेपाल घोषणा गर्न हतारिएको बताउँछन् । शिक्षाविद् धनन्जय शर्माले भने, ‘सरकारलाई साक्षर घोषणा भएको जिल्लामा सबैले अक्षर चिन्छन् भन्ने परेको छ । साक्षरता अभियानको गतिलो अनुगमन भएकै छैन,’ उनले भने, ‘साक्षर भएका कतिले अहिले पनि अक्षर चिन्छन् भन्ने विषयमा अनुगमन आवश्यक छ ।’ जिम्मेवार निकायहरूले हावादारी तथ्यांक प्रस्तुत गर्दै आएको उनको दाबी छ ।

सही तथ्यांक छैन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशमा १ लाख २ हजार १०१ जना मात्रै निरक्षर रहेको तथ्यांक प्रस्तुत गरेको छ । केन्द्रले साक्षरता अभियानका आधारमा त्यति संख्या भने पनि निरन्तर सिकाइको अभाव र अनुगमन अभावले गर्दा उक्त संख्या निकै धेरै रहेको शिक्षाविद् शर्मा बताउँछन् ।

यस विषयमा निर्देशक गौतम भन्छन्, ‘साक्षर घोषणा हुन बाँकी रहेका २६ जिल्ला मध्ये पनि कठिन १८ जिल्लाको हिसाब गर्दा हामीसंग १ लाख २ हजार १ सय १ जना निरक्षर रहेको भनेका छौं । तर यो अलि पुरानो तथ्यांक हो । यसमा अलिकति बढ्ने अनुमान गरेका छौं ।’ उनका अनुसार निरक्षरका लागि प्रतिव्यक्ति लागत २ हजार अनुमान गरिएको छ । यसले ठूलै रकम साक्षरता कार्यक्रममा पटक पटक लगानी भएको देखाउँछ ।

साक्षर नेपाल वर्ष २०७६ को अवधारणा पत्रमा समेत निरक्षर रहेका बस्ती र समूहसम्म साक्षरता कार्यक्रम पुग्न नसकी सहज समूह र बस्तीमा मात्र पुगेको उल्लेख छ । अवधारणापत्रमा भनिएको छ, ‘सुगम स्थानमा मात्रै कक्षा संचालन हुँदा वास्तविक निरक्षर छुटिरहने र साक्षर व्यक्तिहरू दोहोरिने स्थिति रहेको छ । सबै क्षेत्र र समुदायमा लक्षित उमेर समूहका निरक्षर नागरिकबारे एकिन तथ्यांकको कमी रहेको छ । कक्षा सहभागिता र सिकाइमा निरन्तरताको कमी छ ।’ निर्देशक घिमिरेले स्थानीय तहले नै संख्या यकिन गरेर कार्यक्रम संचालन गर्ने बताए ।

प्रदेश स्तरमा घोषणा

साक्षर घोषणा कार्य अब प्रदेश स्तरमा संचालन हुने भएको छ । केन्द्रअन्तर्गतको वैकल्पिक तथा अनौपचारिक शिक्षा शाखाले निरक्षरता रहेका बाँकी जिल्लामा स्थानीय र प्रदेश स्तरको संयन्त्र परिचालन गर्नेछ ।

निर्देशक घिमिरे भन्छन्, ‘जुन जिल्लामा साक्षरता संख्या र प्रतिशत पुगेको छ त्यहाँको प्रदेशलाई रकम पठाउने र प्रदेशले समन्वय गरेर उता चलाउने भन्ने छ । । उनले यो आर्थिक वर्षमा ७० जिल्ला पुर्याउने बजेट जिल्लामा पठाइसकेको जानकारी दिए । ‘हिमाली जिल्लाका लागि ४ देखि ५ लाखका दरले र तराईमा १० देखि १४ लाख सम्म बजेट पठाइएको छ,’ उनले भने ।

साक्षर जिल्ला घोषणा हुनलाई १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत मानिस साक्षर हुनुपर्छ ।

पूर्ण साक्षर जिल्लाको अवस्था

७७ जिल्लामध्ये ५१ वटा पूर्ण साक्षर घोषणा भइसकेका छन् । निर्देशक घिमिरेले कतिपय जिल्लाको तथ्यांक पुगेर पनि घोषणा हुन नसकेको बताए ।

शिक्षा मन्त्रालयले भने साक्षर घोषणा भइसकेका सबै जिल्लामा ९५ देखि १०० साक्षरता प्रतिशत पुगेको तथ्यांक प्रस्तुत गरेको छ । केन्द्रले भने कक्षामा सहभागिता र सिकाइमा निरन्तरताका लागि अभियानकै रुपमा लैजान ठोस प्रयासको कमी रहेको जनाएको छ ।

तराईका ८ जिल्लामा चुनौती

केन्द्रका अनुसार काभ्रेपलाञ्चोक, कैलाली, डोटी, बाँके, काठमाडौं, कपिलवस्तु र ताप्लेजुङ साक्षर घोषणा गर्ने प्रकृयामा छन् । अन्य १८ जिल्लामा मुगु, जुम्ला, कालिकोट, अछाम, बझाङ, बाजुरा, कंचनपुर, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा, सोलुखुम्बु, हुम्ला र डोल्पा छन् । ‘यी जिल्लामा थप प्रयास र कक्षा आवश्यक छ,’ निर्देशक घिमिरेले भने, ‘महोत्तरी, धनुषा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा, सोलुखुम्बु, हुम्ला, डोल्पालाई अलि बढी नै ध्यान दिनुपर्छ ।’

केन्द्रका अनुसार पहिलेदेखि नै कठिन १० जिल्लामा साक्षरताका विभिन्न कक्षा संचालन भइसकेका छन् । ती जिल्लामा पढ्नै पर्छ र साक्षर नै हुुनुपर्छ भन्ने जरुरी नठान्ने व्यक्ति धेरै रहेकाले साक्षर बनाउनु चुनौती छ । चेतना, आर्थिक अवस्था, कक्षाको सुलभ पहुँच हुन नसकेका कारण धनुषा, रौतहट, सर्लाही तथा मुगु, जुम्लालगायतका जिल्लाका बासिन्दालाई साक्षर गराउन नसकिएको केन्द्रले जनाएको छ ।

के जाने साक्षर ?

राष्ट्रभाषा वा मातृभाषाका वर्ण÷अक्षरको पढाई र लेखाई

नेपाली वा मातृभाषामा लेखिएका मूल्यसुची र बीलको पढाई

आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाई र पढाई

 मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न

 ० देखि ९ सम्मका अंक अक्षरमा लेखाई

१ देखि १ सय सम्म गणना

लेनदेनका हरिहिसाब रखाई

सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक संकेत पढाई र बुझाई

सामुदायिक कार्यक्रममा आफ्नो बिचार सहित सक्रिय सहभागिता देखाउन

घडी हेरेर समय भन्न

भित्तेपात्रो हेरेर तिथिमिति बताउन

बैङक भौचर भराई र चेक खिचाई गर्न

 

I Tech store