नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सरकारले आफ्ना ३४ सुत्रीय माग पुरा नगरे लाखौं शिक्षक सडकमा आएर निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल शिक्षक महासङ्घले आज आयोजना गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना कार्यक्रमा बोल्दै महासचिव सुवेदीले शिक्षकको अधिकारका लागि बालुटार घेरोउ गर्न लाखौं शिक्षक सडकमा ल्याउने बताएका हुन् ।
महासचिव सुवेदीले शिक्षकहरुका माग अहिले सम्म जेजति सम्बोधन भएका छन् ती आन्दोलनबाटै प्राप्त भएको र अबका माग पनि पुरा गराएरै छाड्ने बताए । “हाम्रा माग जहिले सम्म पुरा हुँदैनन हामी निरन्तर आन्दोलनमा रहने छौं ।” उनले भने, “ माग पुरा गरेर मात्र अब सडकबाट फर्कने छौं ।”
त्यस्तै महासंघका सहअध्यक्ष पुर्णप्रसाद दवाडीले देशै भरिका शिक्षकहरु आन्दोलित भएको र नेपाल सरकारसँग महासंघले बारम्बार शिक्षकलाई गरेको विभेदको अन्त्यका लागि, शिक्षा ऐन ल्याउन र उच्च स्तरीय प्रतिवेदन सार्वजनिक गर्नका लागि दबाब सिर्जना गरिरहेको बताए ।
गत वैशाख २० गतेदेखि ३४ सुत्रीय माग राखी आन्दोलनमा उत्रिएको महासंघले सरकारले आफ्ना माग सम्बोधन नगरे बालुवाटार घेराउ गर्ने उद्घोषका साथ चौँथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । सोही कार्यक्रम अनुसार महासंघका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका शिक्षकले केन्द्रमा घेराउ गरेका हुन् ।
सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षक, हजारौ शिक्षक, शिक्षामा बजेट बढाउनु पर्ने लगायतका ३४ सुत्रीय माग राखी महासंघ आन्दोलनमा उत्रिएको छ । महासंघले विभिन्न चरणको आन्दोलनका कार्यक्रम पछि हरेक शुक्रबार विभिन्न निकायमा धर्ना दिँदै आएको छ । महासंघले अर्को शुक्रबार उपत्यकाका तीन जिल्ला, काभ्रे, धादि र नुवाकोटका एक् हजार शिक्षक कर्मचारीले प्रधानमन्त्रीको निवास अगाडिको सडकमा तीन घण्टा धर्ना दिने कार्यक्रम तय गरेको छ ।