Thuprai - Books and E-books

समस्याको चाङ फुकाउँदै राम्रो विश्वविद्यालय बनाउन अहोरात्र खटिन्छु

Admission edusanjal

लामो सयम पदाधिकारी विहीन तथा विभिन्न खाले आन्दोलनका  कारण एक वर्ष अगाडिदेखि विद्यार्थी पढ्नबाट बञ्चित, परीक्षाको नतिजा प्रकाशनमा समस्या, जग्गा विवाद लगायतका समस्याको जालोले बेरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीसंग विश्वविद्यालयको समस्या समाधान र उन्ननयका लागि के कस्ता योजना तथा रणनीति बनाउनु भएको छ भन्ने विषयमा इडियु सञ्जालले गरेको इडियु टकमा व्यक्त विचारको सारसंक्षेपः

कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गर्नका लागि करीब २५ वर्ष अगाडिदेखि पहल गरिएको भएपनि यो विश्वविद्यालय २०६७ मा मात्र स्थापना हुन सक्यो । अनवरत अभ्यासपछि मात्र यो विश्वविद्यालय औपचारिक रुपमा स्थापना भयो । यो विश्वविद्यालय स्थापना हुनुपूर्व त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि र वन विज्ञान अध्ययन संस्थान सञ्चालन गरिँदै आएको थियो । यसमा केही कमजोरी थिए । शिक्षणलाई प्राथमिकता दिइन्थ्यो । त्यसलाई अनुसन्धानलाई जोड दिइएको थिएन । यो विश्वविद्यालयले अनुसन्धान, अध्यापन र कृषि र वन विज्ञानको प्रचार प्रसार तथा ग्रामीण विकासका लागि विज्ञ उत्पादन गर्ने क्षेत्राधिकार प्रदान गरिएको छ । हाम्रो खेतीपातीसंग त्रिपक्षीय सम्बन्ध जोडिएको छ । यसले कृषि, वनको विकास गर्नका लागि योग्य जनशक्ति उत्पादन गर्ने सोच लिएको छ । कामीले कार्यमूलक अनुसन्धान गर्नका लागि अनुसन्धान केन्द्र स्थापना गर्ने सोच छ । यसका लागि यो विश्वविद्यालयमा तीनवटा संकाय छन् । वन संकाय, कृषि संकाय, पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान संकाय सञ्चालनमा छन् । हाम्रो जोड भनेको अनुसन्धान केन्द्र बनाउने सोचका साथ अघि बढ्दैछौं ।

नेपालको प्राविधिक क्षेत्रमा योगदान पुर्याउने, अन्य विश्वविद्यालय भन्दा धेरै मन्त्रालयसंग जोडिएको छ । कृषि मन्त्रालय, वन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयसंग जोडिएको र सबैको चासो बोकेको विश्वविद्यालय हो । यो बहुआयामिक पक्षमा राज्यले अपेक्षा गरेको विश्वविद्यालय हो ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले विश्वविद्यालयको महत्वपूर्ण बडी हो । सिनेटले बनाएको कार्ययोजना कार्यान्वयन गर्ने बडी हो । यसमा रजिष्ट्रार सदस्य सचिव हुन्छ । यो पद विश्वविद्यालयमा खाँचो छ । यसका लागि ११ जना प्राध्यापकले आवेदन दिनु भएको छ । आवेदकहरु प्राडा अरविन्द श्रीवास्तव, प्राडा. कालिका वहादुर अधिकारी, प्राडा केशव अधिकारी, प्राडा दिलिप कुमार झा, प्राडा. पुष्कर बहादुर पाल, प्राडा बलराम कुमार भट्ट, प्राडा भूमिनन्द देवकोटा, प्रा मुकेश कुमार सिंह, प्रा.डा. मोहन शर्मा, प्राडा. शारदा थपलिया र प्रा. श्याम शंकर झाले आवेदन दिनु भएको छ । अब चाँडै विश्वविद्यालयले यो पदमा पनि पदाधिकारी पाउने अपेक्षामा छौं । विश्वविद्यालयमा पदाधिकारी पूर्ण हुने बितिकै दीर्घकालीन योजना बनाइ अघि बढ्ने सोचमा छौं । तत्कालका समस्यालाई सम्बोधन गर्दै तत्काल, मध्यकाल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने सोचमा छौं ।

समस्याका चाङै चाङ

गतवर्षको कार्तिकमा भएको परीक्षाको नतिजा प्रकाशन अझै भएको छैन ।  लामो समयदेखि परीक्षाको नतिजा प्रकाशन हुन नसक्दा विद्यार्थी मर्कामा छन। अहिले नतिजा प्रकाशनका लागि परीक्षा शाखा अहोरात्र खटिएर काम गरिरहेको छ । कर्मचारीले आफ्ना समस्या सम्बोधन गर्न माग गर्दै लामो समयदेखि गर्दै आएको तालाबन्दी मेरो आग्रहलाई स्वीकार गरेर उहाँहरुले ताला खोल्नु भएको छ । उपकुलपतिको कार्यकक्ष देखि लिएर सम्पूर्ण पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खोलिएको छ । मैले विद्यार्थी, शिक्षकसंग छलफल गरेको छु । वनविज्ञानका मुद्दाका कारण गतवर्ष प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले पढ्न पाएका छैनन् । विद्यार्थीको पढ्न पाउने अधिकार माथि नै हनन भएको छ । मुद्दा फिर्ता गर्न मुद्दा दायर गर्ने विद्यार्थीलाई पढ्न चाहने विद्यार्थीको भविष्य माथि खेलवाड गर्नु भन्दा राम्रो कामका लागि सहयोग गरेर मुद्दा फिर्ता लिई विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चितता गर्न आग्रह गरेका छौं । एनिमल साइन्समा गतवर्ष प्रवेश परीक्षा नै हुन सकेको छैन । भेटनरी काउन्सिलले तय गरेको पुरा गर्नुपर्ने मापदण्ड पुरा नभएका कारण विद्यार्थीले पढ्न पाएका छैनन् । उनीहरुको भविष्यमाथि खेलवाड भएको छ । यसलाई तत्काल सम्बोधन गर्नुपर्ने छ ।

हाम्रो फार्महरुमा पहिला २०० लिटर दुध उत्पादन हुन्थ्यो । अहिले ३०–३५ लिटर मात्र हुन्छ । यसलाई अनुसन्धानका लागि उन्नत जातका पशु उत्पादन गरेर फार्मलाई कसरी उत्पादन मुखि बनाउने भन्ने सोच बनाउँदै छौं । हाम्रा कक्षाकोठा परम्परागत तथा जीर्ण छन् । एउटा पनि स्मार्ट कक्षाकोठा छैनन् त्यसैले नयाँ सोचका साथ नयाँ ज्ञान र अनुभवलाई सोचेर विश्वविद्यालयलाई अगाडि बढाउने सोच छ ।

म विश्वविद्यालयमा १२ घण्टा खट्छु । हाम्रो विश्वविद्यालयलाई राम्रो विश्वविद्यालयका रुपमा परिचयन गराउन कार्य सम्पादनका पुराना ढाँचा, ढर्रा र नक्कललाई परिवर्तन गरेर हाम्रो र राम्रो विश्वविद्यालय बनाउन सबै शिक्षक कर्मचारीलाई आग्रह गर्छु ।

अनलाइन कक्षा

अनलाइन मार्फत् सैद्धान्तिक कक्षा निरन्तर सुचारु छन् । तर प्रयोगात्मक कक्षाका लागि घनिभूत छलफलमा जुटेका छौं । यसका लागि विश्वका अन्य विश्वविद्यालयका अभ्यास तथा प्रयोगका बारेमा अध्ययन गरिरहेका छौं । प्रयोगात्मक परीक्षाका लागि योजना बनाउन तीव्र छलफलमा जुटेका छौं । दशैंपछि परीक्षा सञ्चालन गर्छौं । अनलाइन परीक्षा सन्चालन गर्छौ । यसका लागि अन्य विश्वविद्यालयको अभ्यास र काउन्सिललाई उपयुक्त हुने गरिका मोडालिटी तयार गरी परीक्षा सञ्चालन हुन्छ ।

विश्वविद्यालय मर्ज हुँदाको सम्पत्ति

कृषि तथा वनविज्ञान विश्वविद्यालययको एकीकरण हुँदाका बखतको सम्पत्तिको अवस्था र परिस्थितिको गाम्भीरतालाई अध्ययन गरेर कानुनी दायराका बारेमा छलफल गरिरहेका छौं । अहिले परीक्षा लगायत अन्य विषयको व्यवस्थापन गरेर जग्गाको विषयमा छलफल गर्छौ । हाम्रो र त्रिविका विचमा देखिएको जग्गा विवादलाई आन्तरिक छलफलबाट सुल्झाउने प्रयत्न गर्छौं । जग्गा व्यवस्थापनका लागि त्रिवि र हाम्रो विश्वविद्यालयले छलफल गरी समस्याको सम्बोधन गर्छौं ।

पहिला कृषिमा एउटा मात्र कार्यक्रम थियो । अहिले सबै विश्वविद्यालयले कृषिका विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । त्रिवि, काठमाडौं, पूर्वाञ्चल र संस्कृत विश्वविद्यालयले पनि अहिले यो विषय पढाइ रहेका छन् । यदाकदा एउटा प्रदेशमा एउटा मात्र विश्वविद्यालय सञ्चालन होस् भन्ने सोच हुन सक्छ तर शैक्षिक वातावरण निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ । हाम्रो पाठ्यक्रम देशकाल सुहाउँदो छ । शिक्षक विद्यार्थी अनुपात हेर्ने हो भने त्रिविले १ः७३, काठमाडौं विश्वविद्यालयले १ः१० र हाम्रो १ः३३ बनाउने सोच बनाएका छौं । पहिले हाम्रो विश्वविद्यालयमा शुद्धता थियो अहिले खस्किएको छ । अहिले यो विश्वविद्यालयसंग शैक्षिक क्यालेन्डर छैन । यी सबैमा सुधार गरी पाठ्यक्रममा सुधार गर्न जरुरी छ । यो विश्वविद्यालयले प्राविधिक शिक्षा प्रदान गर्ने भएपनि साधारण धारको जस्तै छ । हाम्रो विश्वविद्यालयले विषय विज्ञ उत्पादन गर्ने सोचका साथ केही संकाय थप गरी स्थानीय स्रोत र साधन सुहाउँदो पाठ्यक्रम कार्यान्वयन गर्न गराउन जरुरी छ । यसका लागि कृषि, पशु र वनका विषयमा गुणस्तरीय शिक्षा हासिल गर्न स्थानीय, प्रदेश र संघीय सरकारसंग छलफल गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ । सरकारले दिएको जिम्मेवारीलाई अहोरात्र खटेर समस्याका चाङलाई फुकाउँदै यसको सम्बोधन गर्न अग्रज पदाधिकारी, विज्ञ लगायत संग छलफल गरी सीमित स्रोत साधनलाई सदुपयोगगरी विश्वविद्यालयलाई गोरेटोबाट चौडाबाटोमा हिडाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको छु । सबैको साथ सहयोग पाउनेमा आशावादी छु ।

सम्बन्धन विवाद

यस अघि सातवटा निजी क्याम्पसलाई सम्बन्धन दिइएको भएपनि अब दिँदैनौं । नयाँ सम्बन्धनभन्दा पनि आंगिक क्याम्पस बढाउन तिर जान्छौं । सरकारको जिम्मेवारी स्वास्थ्य र शिक्षा हो । सरकार, दाता र उद्योगधन्दासंग जोडेर सरकारको उद्देश्य पुरा गर्न तिर जान्छौं । सम्बन्धन दिने सोचमा छैनन् । आंगिक क्याम्पस बढाउने सोचमा छौं ।

हामीले तीतेपातिबाट सेनिटाइजर उत्पादन गरेका छौं । पहिला पीसीआर परीक्षणको साधन नहुँदा हाम्रो बायोटेक्नोलोजी ल्यावको मेसिनबाट परीक्षण गरिन्थ्यो । अबको हाम्रो जनशक्ति भनेको देशकाल सुहाउँदो हुनेछ । अहिले हामीले तितेपाती सेनिटाइजर उत्पादन, गहुँ र धानको बीऊ उत्पादन गर्दै आएका छौं । यसलाई परिस्कृत गरी अघि बढाउँदै अर्थोपाजनसंग शिक्षालाई जोड्नु जरुरी छ ।