एक किशोरीको डायरी खोतल्दा

I Tech store

दोस्रो विश्वयुद्ध चलिरहेको थियो । त्यसमा पनि यहुदीहरुका लागि यो आम नरसंहारकारी भएर आयो । एन फ्य्राङ्क एक यहुदी परिवारकी किशोरी थिइन् । उनको डायरी लेखन १४ जुन १९४२ बाट सुरु भएर १ अगस्ट १९४४ मा समाप्त भएको पाइन्छ । दुई वर्षभन्दा बढीको गुप्त बास (गुप्त भवनमा लुकेको)पछि ४ अगस्ट १९४४ मा फ्य्राङ्क परिवारसहित गुप्त भवनमा लुकेर बसेका आठ जना यहुदीलाई प्रहरी (गेस्टापो)ले गिरफ्तार गरी विभिन्न कुख्यात जेल हुँदै जर्मनीको एक यातना शिविरमा पुर्‍याइयो । त्यही यातना शिविरमा टाइफसको महामारीमा परेर १९४५ फेब्रुअरी अन्त्य वा मार्चको सुरु तिर एनको दुःखद् मृत्यु भएको थियो । एनका बुबा ओटो फ्य्राङ्क भने बाच्न सफल भए । ओटो फ्य्राङ्कले छोरी एनको डायरी फेला पारी प्रकाशनमा ल्याए । एन फ्य्राङ्कको डायरी सन् १९४७ जुनमा पहिलोपटक डच भाषामा र अहिलेसम्म विश्वका ६० भन्दा बढी भाषामा प्रकाशित एक विश्वप्रसिद्ध पुस्तक हो । 

एन फ्य्राङ्कले युद्धको समयमा आफू, आफ्नो परिवार र तमाम यहुदीहरुले भोगेका काला दिनहरुलाई मार्मिकढङ्गले डायरीमा उतारेकी छन् । भर्खरै कोपिला बस्दै गरेको फूल जस्तै १३ वर्षकी किशोरीको जीवनमा डरलाग्दो तुफान आयो जसका बावजुद पनि उनले जिजीविषा बोकेर सुनौलो बिहानीको प्रतीक्षा गर्दै आफ्ना इच्छा र चाहनालाई दबाएर राखिन् । अन्ततः उनको भविष्यमा ठूलो लेखक बन्ने सपना यो डाइरी (उनकी प्यारी किट्टी)ले पूरा गरेको छ् । ॅएक किशोरीको डायरी’ पढ्दा म धेरै भावुक भएँ । यो पुस्तक आम किशोर किशोरी विद्यार्थी, अभिभावक र शिक्षकका लागि समेत निकै उपयोगी छ ।  

फ्य्राङ्क परिवार जर्मनीबाट हल्याण्ड बसाइ सरेका थिए । यहुदीका लागि धेरै सेवा सुविधा कटौती भयो । सार्वजनिक रेल, बसमा यात्रा गर्न नपाइने, यहुदी विद्यालयमा मात्र पढ्न पाइने, यहुदीहरुको पसलमा मात्र सामान किन्न पाइने, आफ्ना साइकल सरकारलाई बुझाउनु पर्ने, पौडी पोखरी, सिनेमाघर, टेनिस कोर्ट, हक्की मैदान जस्ता सार्वजनिक मनोरञ्जनका स्थलमा प्रतिबन्ध लगाइएको थियो । एन फ्य्राङ्क जब यहुदी विद्यालयको कक्षा सातमा भर्ना भइन् कक्षामा धेरै बोल्थिन् । त्यसैले शिक्षकको नजरमा उनी हल्ला गर्ने विद्यार्थीमा पर्थिन् । एक दिन गणित पढाउने शिक्षक केप्टरले हपार्दा पनि एनले नटेरे पछि उनले ॅएक गफाडी’का विषयमा निबन्ध लेख्नु पर्ने अतिरिक्त गृहकार्य दिए । एनले आफ्नो गृहकार्य सकेपछि अतिरिक्त गृहकार्यको टिपोट देखिन् । एक गफाडीको विषयमा जे पायो त्यही नलेखेर उनी तर्कसहित विचार दिन चाहन्थिन् । त्यसैले उनले केही बेर सोचेर दिएको विषयमा तीन पाना भरेर लगिन् । उनको तर्क पढेर केप्टर बेस्मारी हाँसे । एन सोच्थिन् “मेरी आमा पनि बढी बोल्नुहुन्छ । सायद मभन्दा बढी ! यसरी वंशाणुगतरुपमै पाएको गुणलाई कसले बदल्न सक्छ ?” अझै एनको बानी गएन । फेरी गणित शिक्षकले अर्को शीर्षक दिए ॅमहागफाडी’ यस विषयमा पनि एनले निबन्ध लेखेर बुझाइन् । दुई दिनसम्म शिक्षक बोलेनन् तर तेस्रो दिन उनले एनको गफाडी पारालाई सहन सकेनन् र भने “एन फ्य्राङ्क, कक्षामा बकबक गरेको सजायस्वरुप अर्को निबन्ध लेखेर ल्याऊ ?” शीर्षक थियो, ॅश्रीमती न्याटरबिक भन्छिन्, क्वाक....क्वाक.....क्वाक’ अर्थात बकबक गर्ने चुच्चो भएको हाँस । यसपटकको विषयमा एनलाई बिलकुल भिन्न, नयाँ र मौलिक कुरा सोच्नुपर्ने थियो । तर उनले साथी सनाको सहयोगमा कविता लेखिन् । कविता एक जोडी पोथी र भाले हाँसबारे थियो । उनीहरुका तीन चल्ला थिए । तिनलाई भालेले ठुँगेर मारिदिएको थियो । किनभने ती धेरै कराउँथे । सौभाग्यवश केप्टरले यो ठट्टालाई सही तरीकाले लिए । उनले एनको कविता कक्षामा पढेर सुनाए, केही टिप्पणी पनि गरे र अर्को कक्षामा पनि लगेर सुनाए । त्यसपछि एनलाई कक्षामा बोल्न अनुमति दिइएको थियो । 

आजभन्दा ७५ वर्ष पहिलेको युरोपेली देशको शिक्षण पद्धति दण्डरहीत थियो । अर्थात् दण्डको नाममा शिक्षकले विद्यार्थीहरुलाई शारीरिक दण्ड नझई अतिरिक्त गृहकार्य दिन्थे । यसले विद्यार्थीहरुमा सोच्ने शक्ति वृद्धि हुनुका साथै सिर्जनात्मक क्षमता बढेको पाइयो । मैले प्राथमिकदेखि माध्यमिक तहसम्म नै कक्षामा हल्ला गरेको भनेर शिक्षकहरुले कान समातेर उठ्बस् गराएको र कयौँ पल्ट साथीहरुसँगै कटुसको लठ्ठीले हातमा हान्दा सुम्ला उठेर सहनै नसक्ने गरी दुःखेको सम्झिदा अहिले पनि पीडाको अनुभूति हुन्छ । एकाइसौं शताब्दीमा आइपुग्दा हाम्रा शिक्षक वर्गमा त्यस्तो अभ्यास कहिले आउने होला भन्ने चिन्ता लाग्छ । 

एक दिन एनकी दिदी मार्गोलाई एसएस (पुलिस)बाट बोलावट भएको सूचना प्राप्त भएपछि एनको बुबाले भन्नुभयो, “बाँच्नु नै सबैभन्दा ठूलो कुरा हो । त्यसैले हामी लुक्न जानु पर्छ” । यो कुरा सुनेपछि एनलाई धेरै डर लाग्यो । त्यसको भोलिपल्ट नै उनीहरु अज्ञात स्थानमा लुक्न गए । उक्त ठाउँ प्रिन्सेनग्रास्ट एनको बुबाको अफिस भएकै गुप्त भवनमा थियो । अफिसमा काम गर्ने मान्छेहरु क्रेलर, कुफियस, मिप र एली भोसेनले आफ्नो ज्यान जोखिममा राखेर गुप्त भवनमा लुकेका फ्य्राङ्क परिवारसहित आठ जना यहुदीलाई खाद्यान्न लगायत अन्य आवश्यक सामग्रीको व्यवस्था गर्दथे । गुप्त भवनमा रहँदा एनले धेरै अभाव र कष्ट भोग्नु परेको थियो । भर्खरै किशोर अवस्थामा प्रवेश गरेकी एनको शारीरिक परिवर्तनले गर्दा उनमा उत्सुकता, लज्जा र पीडा महशुस हुने गर्दथ्यो । यस्तो अवस्थामा एन आफ्नी आमाबाट सहानुभुति चाहन्थिन् । तर आमाले सधैँ रुखो व्यवहार गर्दा एन धेरै दुःखी हुन्थिन् । आमाका बारेमा एनको दृष्टिकोण यस्तो थियो, “हरेक दिन म मलाई बुझ्न सक्ने वास्तविक आमाको कमी महशुस गर्छु । म त्यस्तो आमा बारे सोच्ने गर्छु, जस्तो पछि गएर म आफ्ना सन्तानका लागि बन्न चाहन्छु । त्यस्तो आमा जसले सामान्य कुराकानीमा बोलिएका हरेक कुरालाई गम्भीरतापूर्वक लिन्नन् र गम्भीरतापूर्वक भनेको कुरालाई बेवास्ता गर्दिनन् ।”

यौन शिक्षासम्बन्धी एउटा पुस्तक पढेपछि एनले आफ्नो शारीरिक परिवर्तन र गुप्त अङ्गसम्बन्धी जिज्ञासा केही हदसम्म पूरा भएका थिए । तथापि एन आफ्ना दुःख पीडा आदान प्रदान गर्न चाहन्थिन् तर उनले त्यो गुप्त भवनमा त्यस्तो कोही पनि पाउन सकिनन् । बरु उल्टैसँगै बसेका श्रीमान् श्रीमती भानडान र अर्का व्यक्ति डोसेल सहितले पुलपुलिएकी अटेरी, छुच्ची केटी भनेर आलोचना गर्दा पनि बुबाआमा मुकदर्शक बनेको देख्ता एनलाई बिद्रोह गर्न मनलाग्थ्यो । तर अहिलेको परिस्थितिमा चुपलाग्नु नै उत्तम विकल्प ठानेर उनी एकान्तमा रोएर आफ्नो पीडा कम गर्थिन् । 

एनले आफ्नो दुःखसुख पोख्ने साथी नै डायरी बनाइन् र उसको नाम पनि किट्टी राखेकी थिइन् । अहिलेका हामी किशोर किशोरीका अभिभावकले उनीहरुलाई कस्तो व्यवहार गरिरहेका छौँ ? ख्याल गरौं सबै किशोर किशोरी एन जस्तै ज्ञानी नहुन सक्छन् । 

एनलाई गत पोहोरभन्दा अहिले अलि बढी बुझेको महशुस हुन थाल्यो । उनले पोहोर बुबाले आफ्नो युवावस्थाको प्रेमबारे सुनाउनुभएको कुरा सोचिरहिन् । सधैँ एक्लो महशुस गर्ने एन आजभोलि पिटर (सँगै बस्ने भानडान परिवारको एक्लो छोरो)सँग नजिकिन थालेकी छन् । पिटरसँग नजिकै बसेर आफ्ना भावना साटासाट गर्न पाउँदा एनलाई आनन्द आउँथ्यो । एक दिन एनले बुबासँग आफु पिटरसँग नजिकिदै गएको कुरा सुनाइन् । बुबाले भन्नुभयो थाहा छ, तिमीहरु असल साथी बन्न सक्छौ तर प्रेमी प्रेमिका हैन किनकि हामी एउटै घरमा बसेका छौं । बुबाको कुराले एन अलि खिन्न भइन् । उनको विचार पनि पिटरसँग पछि गएर विवाह गर्ने थिएन । प्रेम केहो भन्ने सम्बन्धमा एनको परिभाषा यस्तो छ, “प्रेम भनेको कसैलाई बुझ्नु, उसको ख्याल गर्नु, ऊसँग सुखदुःख बाँड्नु हो । अन्ततः यसमा शारीरिक प्रेम पनि समेटिन्छ । तिमी केही कुरा बाँड्छौ, केही कुरा दिन्छौ र बदलामा केही कुरा प्राप्त गर्छौ । तिमी विवाहित वा अविवाहित, आमा वा कुमारी जे भए पनि फरक पर्दैन” । 

हामी किशोर किशोरिका बुबाआमा हामीले उनीहरुसँग मायाप्रितिका कुरा कति गर्छौँ ? कि सधैँ लुकाउछौँ ? यसो गर्दै छौँ भने उनीहरुले पनि आफ्नो जीवनमा भोगेका घटना लुकाउन सिक्ने छन् र एक दिन त्यसले यति भयानक रुप लिन सक्छ कि त्यसबेला हामीले पछुताउनु बाहेक केही गर्न सक्दैनौँ । 

एनको दुई वटा जन्म दिन गुप्त भवनमा मनाइयो । उनले जन्म दिनको उपहारमा केही महत्वपूर्ण पुस्तकहरु पाएकी थिइन् । गुप्त भवनको कठोर बसाइका बाबजुद् पनि एनको धैरै समय अध्ययनमा बित्थ्यो । उनले धेरै प्रकारका पुस्तकको अध्ययन गरेर आफुलाई परिपक्व व्यक्तिका रुपमा विकास गरिरहेकी थिइन् । दिनहुँ कै बमबारी र हवाइ आक्रमणको भयानक आवाजले अहिल्यै मरिहालिन्छ कि भनेर मुटु छियाछिया हुन्थ्यो । रेडियो र पत्रपत्रिकाको समाचारबाट जर्मन लडाकूले यहुदीको विभत्स हत्या गरेको समाचार सुन्नु पर्दा एनलाई आफु लुकेर तमाम यहुदी प्रति अन्याय त गरिएको छैन ? भन्ने लाग्थ्यो । एन चाँडै युद्ध विराम होस् भनेर भगवानसँग प्रार्थना गर्थिन् । युद्ध विराम पछि उनी खुला आकासमा रमाउने, फेरी विद्यालय जाने परिकल्पना गर्दै बन्द झ्यालको चेपबाट बाहिर चियाउँदै कटुसको फूल हेर्थिन् । 

दुई वर्षभन्दा बढी गुप्त भवनको बसाइमा धेरै समस्या झेल्नु परेको थियो । साह्रो बोल्न नपाइने, नुहाई धुवाईमा समस्या, लगाउने लुगाको समस्या, खानेकुराको समस्या, अभाव, डर, भय, त्रास आदिका बाबजुद् पनि एनले निरन्तर अध्ययन जारी राखिन् । 

१४/१५ वर्षकी एउटी किशोरीले हरेक दिन आफूले गरेका कामको स्वमूल्याङ्कन गर्थिन् । उनले आफ्ना दुईटा रुप देख्थिन् । एउटा बाहिरी रुप र अर्को भित्री रुप । अरुसँगको सामान्य व्यवहार बाहिरी रुपले गर्थ्यो भने आफ्नो लक्ष्य के हो ? सही के ? गलत के ? जस्ता गहन आत्मसमीक्षा भित्री रुपले गर्दथ्यो । भविष्यमा पत्रकार र एउटा राम्रो लेखक बन्ने उनको इच्छा थियो । लेखन सम्बन्धमा एनको भनाइ यस्तो थियो, “म मृत्युपछि पनि बाँच्न चाहन्छु । लेख्ने सीप उपहार दिएकोमा ईश्वरप्रति कृतज्ञ छु । लेखनले मलाई अभिव्यक्ति गर्न र आफुलाई विकसित तुल्याउन सम्भव बनाएको छ । लेख्दाखेरि म सबै कुराबाट मुक्त हुन्छु । मेरा दुःख गायब हुन्छन् । ममा नयाँ हिम्मत पलाउँछ ।” 

हाम्रा किशोर किशोरी आफ्नो कोर्सभन्दा बाहिरका पुस्तकहरु कतिको पढ्छन् ? हामीले जन्म दिन लगायतमा पुस्तक कति उपहार दिने गरेका छौँ ? विद्यालयको माध्यमिक तहमा पुस्तक अध्ययन गरी समीक्षा गर्ने कार्य लागू गर्न सकेमा विद्यार्थीहरुमा विश्लेषण गर्ने, तर्क दिने र नयाँ सिर्जना गर्ने क्षमताको विकास हुन्छ । साथै स्वमूल्याङ्कन गर्नाले विद्यार्थीहरुमा आफ्नो सिकाइको स्तर पहिचान हुने र भावी लक्ष्य निर्धारण गर्न सहयोग पुग्न सक्छ । हरेक विद्यार्थीले यो विश्वव्यापी पुस्तक अध्ययन गर्नु उपयोगी देखिन्छ । लकडाउनको समयमा यो पुस्तक अझ उपयोगी र शिक्षाप्रद हुन सक्दछ ।

(राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत लेखक शिक्षा सेवाका उपसचिव हुन् ।)

 

                                                            

Thuprai - Books and E-books