पञ्चायत माध्यमिक विद्यालय धरान–१० सुनसरीले अभिभावक अन्तरक्रियाका लागि गत वर्ष चार पटक निमन्त्रणा गर्यो । हरेक पटक २० जनाभन्दा बढी अभिभावक विद्यालय आएनन् । हरेक त्रैमासिक परीक्षापछि नतिजा सार्वजनिक गर्दा विद्यालयले अभिभावकलाई उपस्थित हुन आग्रह गर्यो तै पनि अभिभावक विद्यालयमा देखा नै परेनन् ।
अभिभावक विद्यालय नआएपछि विद्यार्थीका राम्रा पक्ष र सुधार गर्नु पर्ने पक्षको बारेमा विद्यालयले अभिभावकलाई सुझाब दिन र लिन सकेन । फलस्वरुप विद्यालयले आन्तरिक प्रयासबाट विद्यार्थीको सिकाइ गुणस्तर सुधार गर्ने सपना अधुरै हुन पुग्यो । उपलब्धि सधैकै जस्तै ५५ प्रतिशतमा सिमित रह्यो ।
सो विद्यालयमा अध्ययनरत अधिकांश बालबालिका मजदुरका छोरा छोरी छन् । केही राम्रो आर्थिक अवस्था भएका अभिभावकका छोराछोरी भएपनि आफ्ना छोराछोरीको प्रगति विवरण बुझ्न चाहँदैनन् । विद्यालयका प्रधानाध्यापक भन्छन्, ‘अधिकांश अभिभावकले ज्याला मजदुरी नगरे बिहान बेलुका छाक टार्न नै धौ–धौ पर्छ । राम्रो पारिवारिक अवस्था भएका विद्यार्थीका आमाबुबा पनि विद्यार्थीको प्रगति विवरण बुझ्न आउँदैनन् ।’
उनी थप्छन,‘हामी वर्षमा ४ पटक अभिभावक भेला बोलाउँछौं तर अभिभावक भेला त के छात्रवृति लिनसमेत अभिभावक आउँदैनन् । भेलामा आइ हाले पनि एकै छिनपछि काम छ ढिला भयो भनेर गइहाल्छन् ।’ अभिभावकले साथै नदिएपछि शिक्षकले मात्र कसरी सिकाइको गुणस्तर सुधार गर्ने भन्ने प्रश्न गर्छन् प्रअ श्रेष्ठ ।
त्यस्तै, म्याङ्लुङ नगरपालिका–७ तेह्रथुमस्थित कालिका माध्यमिक विद्यालयले गत वर्षको साउनमा अभिभावकसँग छलफल गर्न विद्यालयका सम्पूर्ण अभिभावकलाई पत्राचार गर्यो । दुईचार जना अभिभावक बोलाएको समयमा विद्यालय आए । भेला रोकियो, छलफल हुन सकेन । सो विद्यालयले पुनः कार्तिकमा सबै अभिभावकलाई बोलायो । सो समयमा अभिभावक त के विद्यालय व्यवस्थापन समितिका सबै सदस्य समेत उपस्थित हुन सकेनन् ।
उक्त विद्यालयदेखि करिब सय मिटरमाथि एभरग्रिन इङ्लिस बोर्डिङ स्कुल छ । सो स्कुलमा हरेक दिन आफ्ना छोराछोरी डोर्याउदै अभिभावक पुग्छन् । विद्यार्थीका हरेक गतिविधिको जानकारी लिन्छन् । विद्यालयले अब के गर्दा राम्रो हुन्छ भनेर छलफल गर्छन् । विद्यालय सुधार र भावी रणनीति निर्माणका लागि सरसल्लाह गर्छन् । एकाइलगायत हरेक त्रैमासिक परीक्षाको नतिजा लिन अभिभावक अनिवार्य पुग्छन् । विषय शिक्षक तथा कक्षा शिक्षकले आफ्ना विद्यार्थीको कमी कमजोरीका विषयमा अभिभावकलाई सुझाव दिन्छ । सोही सुझावअनुसार अभिभावकले आफ्ना छोराछोरीलाई कमजोर विषयमा सुधार गर्न उत्प्रेरित गर्छन् । तर हाम्रा अभिभावक विद्यालयले खोजी गर्दा पनि आउँदैनन् खाली शिक्षकले पढाउँदैनन् भनेर आरोप लगाउँछन् भन्ने दुखेसो व्यक्त गर्छन् कालिकाका प्रधानाध्यापक गोविन्द सोदेम्बा ।
प्रअ सोदेम्बा भन्छन्,‘हामीले विद्यार्थीको वैयक्तिक विवरण अभिभावकलाई दिएर उनीहरुको सिकाइ स्तर उकास्न अभिभावको सहयोगका लागि धेरै कोशिष गर्यौं तर आजसम्म सकिएको छैन ।’ उनी थप्छन्,‘बोर्डिङमा पढाइरहेका अभिभावकले आफ्ना ६–७ कक्षा पढ्ने छोराछोरीलाई डोर्याएर विद्यालयको गेटसम्म पुर्याउछन् । झोलामा खाजाका पोका हुन्छन् ।’ उनी थप्छन्,‘हाम्रा इसीडीका बालबच्चासमेत आफ्ना ससाना दाजु दिदीको हात समाएर स्कुल आउँछन्, सडकमा तीव्र गतिमा गुडेका बाइक, गाडी तथा मालबहाक सवारी साधनले बालबालिकालाई हानी देलाकी भन्ने त्रासले बेलाबेला झसंग हुन्छु ।’ उनी थप्छन्, ‘विद्यालयको आफ्नै यातायातको साधन छैन, टाढाटाढाबाट साना साना विद्यार्थी दुई घण्टासम्म हिडेर विद्यालय आउछन् । थाकेर आएका कलिला बालबालिकालाई सुरुसुरुका दुई पिरियडसम्म थकाइ मार्दै ठिक्क हुन्छ कसरी राम्रो सिकाउनु ।’ उनले आफ्नो दुःख पोखे ।
त्यसैगरी २०४० सालमा स्थापना भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.२, डाँडा गाउँस्थित जनजागृति आधारभूत विद्यालय अभिभावकले व्यवस्थापनमा चासो नदिँदा २०७२ मा पूर्ण रुपमा बन्द हुन पुग्यो । सो समयमा विद्यालयको नाम सुन्नसाथ विद्यार्थी–अभिभावकले नाक खुम्च्याउथे तर अहिले व्यवस्थापनको जिम्मा अभिभावकले लिएपछि देशकै नमुना विद्यालय बन्न सफल भएको छ ।
विद्यालय बन्द भएपछि अभिभावकको पहलमा सुभद्रा–मदन फाउन्डेसनले सो विद्यालय पुन संचालन गर्यो । शिक्षविद् मदन राईको वैकल्पिक शिक्षाको अवधारणामा संचालन गरिएको विद्यालय जीवनोपयोगी शिक्षाका लागि अहिले देशकै अब्बल विद्यालय बन्न सफल भएको छ । सो विद्यालयल अहिले आवासीय भएको छ । ५५ जिल्लाका ९५ विद्यार्थीले कृर्षि फार्म, पशु फार्म, पंक्षी फार्म, माछापालन, भण्डारण तथा प्रशोधन उद्योग, फर्निचर उद्योग, सिलाइ कटिङ, इन्जिन तथा धातु वर्क सप,भान्छा प्रयोगशाला, स्मिङपुल जस्ता विषयमा अध्ययन गराइरहेको विद्यालय व्यवस्थापन समितिले जानकारी दियो ।
अभिभावकहरूले नियमित अनुगमन गर्ने, शिक्षकले पढाए नपढाएको बुझ्ने अनुपस्थिति शिक्षकसँग स्कूल नआउनुको कारण सोध्ने, कक्षा कार्यमा आफ्ना छोराछोरीको प्रगति तथा अधोगतिका बारेमा बुझ्ने अभिभावक भएका विद्यालयहरुले छिटै नै राम्रो नतिजा हासिल गर्न सफल भएका छन् । अभिभावकको प्रत्यक्ष निगरानीले गर्दा ती विद्यालयको पठनपाठनमा सुधार आएको छ । अभिभावकले शिक्षकले छात्रछात्रालाई गृहकार्य दिए/नदिएको जाँच्ने, गृहकार्य परीक्षणको गुणस्तर हेर्ने र गल्ती भेटिएमा प्रअलाई जानकारी गराउने विद्यालयहरुको स्तरोन्नति चाँडै भएको छ । अभिभावकको निगरानी हुने सामुदायिक विद्यालयले एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने गरेका छन् । यसको प्रत्यक्ष नमुना हो सोलुखुम्बुको खुम्जुङ मावि ।
यो स्कुलमा केही वर्ष अघिसम्म भौगोलिक विकटता, प्रतिकूल मौसमका कारण विद्यार्थाी स्कुलमा टिक्दैन थिए । भर्नाको समयमा देखिन्थे तर केही दिनपछि हराउथे । विद्यार्थी अभाव देखिए पछि विद्यालयले अभिभावकको सक्रियतामा विद्यार्थी व्यवस्थापन गर्ने जुक्ति खोज्यो । सुरुसुरुमा यो पर्यटकीय क्षेत्रमा अभिभावकले खासै चासो देखाएनन् । तर शिक्षक, दातृ निकायको बारम्बारको प्रयासपछि अहिले यो विद्यालय भिरमा ढकमक्क फूलेको गुरास जस्तै हासी रहेको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ खुम्जुङमा अवस्थित यो विद्यालय केही वर्षयता निरन्तर जिल्लाको उत्कृष्ट विद्यालय बन्न सफल भएको छ ।
विद्यालयका प्रअ शम्भुप्रसाद बास्तोला भन्छन्, ‘कार्तिकदेखि चैत्रसम्म सधैं बाक्लो हिमपात हुने यस विद्यालयमा विद्यार्थी टिकाउनु ठूलो चुनौति थियो, यसलाई मध्यनजर गर्दै अभिभावकको प्रत्यक्ष संलग्नतामा विद्यालयमा सुविधायुक्त छात्रवास निर्माण गरियो । फलस्वरुप कक्षा छोड्नेदरमा ह्रास आएको छ ।’
उनी भन्छन्, ‘अहिले अभिभावकले विद्यालयको नियमित अनुगमन गर्छन् । शिक्षक विद्यालय नआएमा स्पष्टीकरण लिन्छन् । विद्यार्थीको साप्ताहिक प्रगति विवरण माग्छन् । कमजोरी तथा राम्रा पक्षको अभिभावक आफैले पहिचान गरेपछि विद्यार्थीको उपलब्धिमा सुधार आएको छ ।’ उनी थप्छन्,’विद्यार्थी शिक्षक मिलेर समय समयमा अभिभावकलाई सचेतना शिक्षा दिने उद्देश्यले प्रविधिमैत्री पद्धतिको उपयोग गर्दै प्रहसन गछौं, सबै अभिभावक उत्साहित भएर हाम्रा प्रहसनलाई हेर्छन् ।
यी त प्रतिनिधि विद्यालय मात्र हुन् । नेपालका अधिकांश सामुदायिक विद्यालयको पीडा उस्तै छ । अभिभावकले चासो दिएका विद्यालयमा शिक्षकको उपस्थिति नियमित हुने गरेको छ । भने शिक्षकले पूरै समय कक्षा कोठमा दिने गरेको पाइएको छ । अभिभावकले नियमित अवलोकन गर्ने विद्यालयको विद्यार्थी टिकाउदर उच्च छ । यस्ता विद्यालयमा विद्यार्थी पनि धेरै छन् । तर अभिभावकले चासो नै नदिने विद्यालयको सिकाइ उपलब्धि राम्रो नहुनुका साथै ती विद्यालयमा सुरुमा देखिएका विद्यार्थी बीचैमा हराउने गर्छन् । शिक्षक नियमित नआउने, कक्षामा पूरै समय नदिने जस्ता समस्या देखिएको म्याङ्लुङ नगरपालिकाकी उपप्रमुख सानु पौडेलले बताइन् ।
मझुवागढीका एक स्थानीय अभिभावक दिपक राई भन्छन्,‘हामी विहान १० बजेदेखि ४ बजेसम्म स्कुलमा बच्चा जिम्मा दिएपछि सम्पूर्ण जिम्मा स्कुलको हो भन्ने ठान्छौं । आफ्ना छोराछोरी विद्यालय पुगे की पुगेनन् ? विद्यालयमा के गर्दैछन् ? उनीहरुको पढाइ स्तर कस्तो छ ? उनीहरुको रुचि कस्ता विषयमा छ ? भनेर कहिल्यै बुझ्दैनौं ।’ उनले भने,‘स्कुल गएपछि पुरै जिम्मा स्कुलको हो, हामी पन्छियौं जस्तै ठान्छौं, यो अभिभावकको गम्भीर कमजोरी हो । हामी घरमा होस या विद्यालयमा हाम्रा छोराछोरीको नजिक हुनुपर्छ । उनीहरुका स्कुलका गतिविधि बुझ्न समय मिलाए विद्यालय जानै पर्छ ।’ उनले सुझाए ।
भोजपुर तिवारी भन्ज्याङ घरभई हाल धरानमा बस्दै आएका प्रदीप कार्की भन्छन्,‘दुई छाक खानका लागि ज्याला मजदुरी गर्छु । काम पाएको बेलामा काम नगरे मेरा स्वास्नी छोरा छोरी भोकभोकै मर्छन् । मेरो आम्दानीको स्रोत नै ज्याला मजदुरी हो अरु केही छैन । जसोतसो मैले दुःखजिलो गरेर छोराछोरीलाई पढाउँदै आएको छु ।’ उनी थप्छन्,‘मेरो जस्तो दुःख छोारछोरीले गर्नु नपरोस् भनेर दुई चार अक्षर पढाउँदै छु । जेनतेन स्कुल पठाएपछि स्कुलले पो छोराछोरीलाई पढाउनु पर्छ । अभिभावकले त काम गर्नु पर्यो नि नत्र के खानु ?’
सरकारले गाउँ शिक्षा समिति, शिक्षक–अभिभावक संघ र विद्यालय व्यवस्थापन समिति गठन गरी विद्यालय र अभिभावकको दुरी कम गर्ने प्रयास गरेको छ । तर यी सबै समितिको प्रतिनिधिहरु एकाध बाहेक अन्य भेला र मिटिङमा मात्र विद्यालय पुग्ने गरेका छन् । सरकारको विद्यालय र अभिभावकलाई जोड्ने यी सेतुहरु सक्रिय नहुँदा सिंगो शिक्षा क्षेत्र नै प्रभावित भइरहेको छ । अपवाद बाहेक अधिकांश विद्यालयमा अभिभावकहरूको संलग्नता न्यून छ । अधिकांश विद्यालयमा व्यवस्थापन समितिले विद्यालयको आर्थिक र भौतिक पक्षमा मात्र ध्यान दिने गरेको पाइन्छ । विद्यार्थीको सिकाइ उपलब्धि, शिक्षण प्रक्रिया, शिक्षकको नियमित उपस्थिति जस्ता विषयमा ध्यान दिने गरेका छैनन् । विद्यालयको शैक्षिक गतिविधिमा शिक्षक र प्रअको एकाधिकार युगै देखि जस्ताको त्यस्तै छ ।
एकातिर, कतिपय विद्यालयहरूले जति कोशिष गरेपनि आफ्ना क्रियाकलापमा अभिभावकलाई सक्रिय गराउन सकिरहेका छैनन् भने अर्कातिर अभिभावकहरूले स्कूलका गतिविधिमा रुचि नै राख्दैनन् । विद्यालयल र अभिभावकको दूरी कम भएका विद्यालयले उच्च स्तरीय उपलब्धि हासिल गरिरहेका छने भने अभिभावक र विद्यालयको दूरी टाढा भएका विद्यालयको सिकाइ उपलब्धि झारा टराई मात्र हुने गरेको विज्ञहरु बताउँछन् ।
मनोविज्ञ डा. सुशील कंडेल भन्छन्,‘बच्चालाई बिग्रिन नदिनको लागि उसका हरेक गतिविधि अभिभावकलाई थाहा हुनुपर्छ । बच्चाको भविष्यप्रति अभिभावकले चासो दिनुपर्छ ।’ अभिभावकले बच्चालाई ध्यान नदिँदा टिभी खोलेर होमवर्क गर्ने, दिन दिनै ट्युसन जाने तर नम्बर झन् झन् कम ल्याउने, घरको खाना मिठो नमान्ने, किताव फिंज्ने तर पढ्न पटक्कै नरुचाउने, बोल्न पनि रहर नगर्ने, ढोका लगाएर बस्ने, बोल्दा झर्कने, साथी संगीको हुलमा रमाउने जस्ता समस्या देखा पर्छन् । डा. कडेल भन्छन्,‘बालबालिकाको प्रथम विद्यालय घर हो र प्रथम गुरु पनि अभिभावक त्यसैले विद्यालयका हरेक गतिविधिमा अभिभावक प्रत्यक्ष संलग्न हुनुपर्छ ।’
सार्वजनिक शिक्षा सुधारका लागि हरेक विद्यालयले आफ्ना विद्यार्थीका हरेक गतिविधिको सूचना अभिभावकलाई दिनुपर्छ । अभिभावकले पनि स्कुलको ढोकामा छोराछोरी पुगेपछि ढुक्कले बस्नु नहुने अभिभावकहरु बताउँछन् । शिक्षक अभिभावक संघका बरिष्ठ उपाध्यक्ष सुवास भण्डारी भन्छन्,‘विद्यालयले हरेक विद्यार्थीको प्रगति विवरण अभिभावकलाई दिनुपर्छ । त्रैमासिक, वार्षिक रुपमा विद्यालय र अभिभावकको अन्तरक्रिया हुनै पर्छ ।’ उनी थप्छन्,‘हरेक अभिभावकले विद्यालयको नीरिक्षण गर्नुपर्छ, भर्ना गरेर मात्र अभिभावकको दायित्व पूरा हुँदैन । हरेक दिनका गतिविधिको हेक्का राख्नु पर्छ । कमजोर क्षेत्रको पहिचान गरी त्यसलाई सबल बनाउन अभिभावकले नै रचनात्मक सहयोग गर्नुपर्छ’ उनले सुझाए ।