एउटा विद्यालयमा प्रशासक, व्यापारी, डाक्टर, वैज्ञानिक लगायतका छोराछोरीसँग एउटा आधारभूत विद्यालयमा पढाउने शिक्षकको छोरा पढ्दै थियो । एक दिन उसले पाठशालाबाट अमिलो मन लिएर घर फर्केपछि बुबालाई प्रश्न गर्यो, ‘बुबा सबैका बाबुहरू धनीमानी छन् । तिनीहरू विद्यालय आउँदा पनि कारमा आउँछन् र आफ्नो बाबुको ओहोदा र धनको धाक लाउँछन् । उनीहरू मलाई जाबो शिक्षकको छोरो भन्छन् ? तपाईँले किन अन्यत्र जागिर नखाएर शिक्षक नै हुनुभएको ?’
बाबुले आफ्नो छोरालाई सम्झाउँदै भने, ‘बाबु ! शिक्षक नभए कोही पनि डाक्टर, इन्जिनियर, राजनेता, वैज्ञानिक आदि हुनै सक्दैनन् । तिनीहरूलाई बनाउन नै म शिक्षक भएको हुँ ।’ छोराको मलीन अनुहार हेर्दै उनले ढाडस् दिंदै भने, ‘मैले पनि अरू पेसा रोज्न सक्थेँ तर अरूलाई असल बनाउन मैले शिक्षण पेसा नै अँगालेँ । मैले पढाइमा कमजोर भएर वा पढन नसकेर शिक्षण पेसा रोजेको होइन बाबु । यो मेरो बाल्यकालदेखिको रुचिको पेसा थियो ।’
बाबुको यस्तो जवाफ सुनेर बालक चुप लागे । ती आधारभूत विद्यालयका शिक्षक अरु कोही नभएर बालगंगाधर थिए । जसले महात्मा गान्धीलाई पढाएर उनलाई राष्ट्रभक्तिको भाव भरी भारतलाई स्वतन्त्र बनाउन सफल भए ।
भारतमा अंग्रेजहरूको राज भएको बेलामा महात्मा गान्धी भने दक्षिण अफ्रिकामा वकालत गर्दै थिए । त्यहाँ रङ्गभेदको विरुद्धमा लडिरहेको बेला गान्धीलाई भारतीय राजनीतिमा ल्याउन प्रमुख भूमिका बालगङ्गाधर तिलकले खेलेका थिए । भारतको राष्ट्रिय काङ्ग्रेसका शीर्ष नेता रहेका उनी एउटा विद्यालयमा शिक्षक नै थिए । त्यहीँबाट सक्रिय राजनीतिमा लागेका थिए ।
जब भारत १९४७ अगस्टमा स्वतन्त्र हुने निश्चित भयो तब एक पत्रकारले बालगङ्गाधर तिलकलाई सोधे, ‘अब हाम्रो देश स्वतन्त्र हुने निश्चित भइसक्यो । तपाईँ स्वतन्त्र भारतको कुन मन्त्रालयको मन्त्री हुन चाहनुहुन्छ ?’ बालगङ्गाधरले पत्रकारलाई जवाफ दिए, ‘म कुनै पनि मन्त्रालयको मन्त्री हुन चाहन्नँ । म त आफ्नै शिक्षण पेसामा फर्केर स्वतन्त्र भारतमा असल नागरिक बनाउनमा लाग्नेछु । जसले गर्दा भारत सधैंभरि स्वतन्त्र, सार्वभौम, प्रगतिशील र उन्नतितिर लाग्नेछ ।’
यो प्रसंग एउटा शिक्षकले देशका लागि कसरी योगदान दिन सक्दोरहेछ भन्ने हाम्रा लागि प्रतिनिधि उदाहरण हुनसक्छ । यथार्थमा हाम्रो समाजमा डाक्टर, इन्जिनियर, पाइलट, नर्स, व्यापारी तथा अन्य पेशाकर्मीलाई आदरको रूपमा हेर्ने गरिन्छ । तर शिक्षण पेसालाई हेयको दृष्टिले हेर्ने गरिन्छ । शिक्षकहरूले नै आफ्नो पेसालाई गौरवका रूपमा लिनुपर्दछ । शिक्षक जस्तो पवित्र पेसा अरू हुनै सक्दैन । शिक्षण पेसा एउटा तपस्या हो । बालगङ्गाधरले भनेझैं एउटा बालकलाई समाज र राष्ट्रको असल नागरिक बनाउने काम शिक्षकको हो ।
कक्षाकोठामा भएकै बालबालिकाहरू पछि गएर समाज र राष्ट्रको अभिन्न अङ्ग बन्दछन् । ती असल भए समाज र राष्ट्र पनि असल हुन्छ । ती खराब भए राष्ट्र नै खराब हुन्छ ।
नेपोलियन बोनापार्ट, नेल्सन मन्डेला, अब्राहम लिंकन आफ्नो युगका असल विद्यार्थी थिए । जसले आफू बाँचेको युगको नेतृत्व गरे । यसरी एउटा विद्यार्थीले युगकै नेतृत्व गरी राष्ट्र बनाउने जस्तो पुण्य काम कसरी हेय हुन सक्छ ? शिक्षकले ‘म शिक्षक हुँ’ भनेर आफ्नो पेसालाई आत्मगौरवका साथ भन्न सक्नुपर्छ ।
असल शिक्षकको भूमिका अत्यन्त व्यापक प्रकृतिको हुन्छ । उसले प्रभावकारी शिक्षण सिकाइका साथै बालकलाई जटिल विश्वबारे आवश्यक ज्ञान दिई जटिल समाजसंग जुध्न सक्ने योग्य र सक्षम पनि तुल्याउन मद्दत गर्नसक्छ ।
शिक्षणका लागि आवश्यक शिक्षाको अभिन्न अङ्गका रूपमा अभिभावक, विद्यार्थी र शिक्षक पर्दछन् । मानौँ राम्रो पाठशाला छ, शिक्षण सामग्री पर्याप्त छन्, विद्यार्थीहरू छन्, अभिभावक हुने नै भए तर त्यहाँ शिक्षक भएन भने के हुन्छ ? शिक्षाका लागि विद्यार्थी, अभिभावक र शिक्षकको तादाम्यता हुनुपर्दछ ।
भनिन्छ, ‘विद्यार्थी भनेका देशका कर्णधार हुन् । जसरी यिनको अनुहार फरक फरक हुन्छ, त्यसरी नै गुण पनि फरक फरक हुन्छ ।’ बालक जन्मदा फरक फरक क्षमता लिएर जन्मिएको हुन्छ । त्यसैले कसैलाई नेपाली गाह्रो लाग्छ । कोही अङ्ग्रेजीमा फेल हुन्छन् । कसैलाई गणित सजिलो लाग्छ भने कसैलाई चित्रकला मनपर्छ ।
एउटा कक्षाकोठामा फरकफरक रुचि र क्षमता भएका विद्यार्थी सहभागी हुन्छन् । सबैले पढाइमा उस्तै रुचि राख्दैनन् । पहिलो बेन्चमा बस्ने विद्यार्थी र लास्ट बेन्चमा बस्ने विद्यार्थीकै रुचि भिन्न हुन्छ । भिन्न रुचि हुन्छ भन्ने थाह पाउनु शिक्षण मनोविज्ञान हो ।
अनि भनिन्छ, विद्यार्थी कहिल्यै फेल हुँदैन, फेल हुन्छ त केवल शिक्षक । त्यसैले असल शिक्षक त तिनै हुन् जसले विद्यार्थीको मनोभावना बुझेर फरक फरक क्षमता र रुचि पढेर पढाउने गर्दछन् । त्यस्तै पढाइ र सिकाइले सफलता हात पार्छन् ।
शिक्षकको बानीव्यहोरा आचरण र जीवन पद्धतिको प्रत्यक्ष प्रभाव विद्यार्थी, समाज, समुदाय, र राष्ट्रमा पर्दछ । त्यसैले असल मानव र व्यक्तित्व विकास गर्न शिक्षकले प्रभावकारी भूमिका खेल्नुपर्दछ ।
विद्यार्र्थीलाई पढाउन पनि एक किसिमको कला चाहिन्छ । कला बिनाको शिक्षण जति नै गरे पनि त्यो उपलब्धीमूलक हुँदैन । विद्यार्थीलाई अभिप्रेरित गरेर मात्र उनीहरूलाई विषयवस्तुमा रुची जगाउन सकिन्छ भन्नेमा कसैको विमति रहेको पाइँदैन ।
विद्यार्र्थीमा उत्प्रेरणा जगाउने काम सजिलो भने छैन । यसका लागि पहिलो शर्त हो शिक्षकको प्रतिबद्धता र समर्पण । त्यतिले मात्र पनि पुग्दैन त्यसका लागि व्यावहारिक ज्ञान, सिप र कलाको पनि उत्तिकै खाँचो पर्छ । विद्यार्थीलाई सिक्न र उत्प्रेरित गर्नका लागि निम्न विधि उपयोगी सावित हुन सक्छन् ।
टिचर, गुरु अर्थात् शिक्षकका हरेक अक्षरले यसका अनेक गुण बुझाउँछन् । शिक्षक कुनकुन आचरणबाट सफल हुन्छ ? उसमा के के गुण हुनुपर्छ ? भन्ने सन्दर्भमा धेरै अनुसन्धान भएका छन् । शिक्षकमा हुनैपर्ने गुणहरुमध्ये व्यक्तिगत गुण, शैक्षिक पेसागत गुण र सामाजिक गुणलाई अति आवश्यक गुण मानिएको छ ।
शिक्षकमा व्यक्तिगत गुणअन्र्तगत राम्रो स्वास्थ्य, आकर्षक शारीरिक व्यक्तित्व, मीठो बोलिवचन, रुचि एवं उत्साह, धैर्य एवं सहनशीलता, नैतिकता प्रेम एवं सहानुभूति, मौलिकता, आत्मविश्वास आदि पर्दछन् ।
पेशागत गुणअन्र्तगत शिक्षण कौशल, विषयवस्तुको ज्ञान ,बालमनोविज्ञानको सफल प्रयोग, शिक्षण पद्धति, विधि र शैक्षिक सामग्रीको ज्ञान, अध्ययनशील, उत्तरदायित्व बोध, अनुसन्धानमा दक्षताजस्ता गुण रहेका हुन्छन् ।
त्यसैगरी शिक्षकमा कक्षाकोठाको शिक्षणका अतिरिक्त सामाजिक गुणअन्तर्गत समुदायको ज्ञान र सेवाभाव, विनोदप्रिय, स्पष्टवक्ता, मानवीय सम्बन्ध कायम गर्ने सीप, नेतृत्व लिनसक्ने क्षमता भएको शिक्षकले मात्रै समाजको मार्गदर्शक भएर उभिन सक्तछन् ।
यसका अतिरिक्त अमेरिकी शिक्षाविद् वाल्पस र चार्टर्सका अनुसार असल शिक्षकमा विद्धता हुनुपर्छ । तालिम प्राप्त हुनुपर्छ । शिक्षक विश्वसनीय पनि हुनुपर्छ किनभने शिक्षकको भरोसामा नै बाबुआमाले आफ्ना सानासाना नानीबाबुहरू जिम्मा लगाएका हुन्छन् ।
शिक्षक जस्तोसुकै अवस्था वा समस्यामा पनि समाधान गर्न सक्ने दक्षता र खुबी भएको हुनुपर्छ । अलिअलि जान्नेछु भन्ने भाव पनि देखाउन सक्नुपर्छ । शिक्षित, जोसिलो, जाँगरिलो, अल्छिपन नभएको व्यक्ति मात्रै वास्तवमा शिक्षक हुन सक्छ ।
शिक्षक स्वयं योग्य (सक्षम), क्रियाशील (फुर्तिलो), सजग (सतर्क) कक्षामा भएका विद्यार्थीहरूको कार्य, बानी व्यहोराप्रति सधैँ सतर्क रहन सक्ने मनोविद् हुनुपर्छ । आफ्नो धारणा राख्नुपर्छ अनि विद्यार्थीको धारणा पनि सुन्नुपर्छ । साथै मानवीय उत्कृष्टता, मानवीय गुणहरू सत्य, धर्म, शान्ति, प्रेम, परोपकार र अहिंसाजस्ता मानवीय गुणहरु शिक्षकमा भए मात्र असल शिक्षक हुन सकिन्छ । यी कुराहरू पढेर, घोकेर, देखासिकी गरेर हुँदैन । यसलाई त व्यवहारमा उतारेर आफूलाई रूपान्तरण गर्नुपर्छ ।
एउटा असल शिक्षक सहयोगी हुनुपर्छ । सबै सहकर्मीलाई सहयोग गर्ने, शिष्टाचारी र सदाचारी हुनुपर्छ । छात्रहरूले शिक्षकलाई उसको व्यवहार निगरानी अर्थात वाच् गरिराखेका हुन्छन् र उसको अनुकरण गर्दछन् । त्यसकारण पनि शिक्षकले शिष्टाचारी वा बोलीमा विचार पुर्याउनुपर्छ ।
सबैलाई हेरविचार गर्ने, अशक्त कमजोर छात्रहरूलाई बढी विचार पुर्याउने स्वभावको शिक्षक विद्यार्थीका लागि प्रिय हुन्छन् । इमानदारीता असल शिक्षकको गहना हो । हामी विद्यार्थीलाई एकातर्फ इमानदार हुनुपर्छ भन्छौँ र अर्कोतर्फ उनीहरूलाई परीक्षामा चिट चोर्न प्रोत्साहन गर्छौँ भने त्यो असल शिक्षकको मर्यादाभित्र पर्दैन । विद्यार्थीको असल कामका लागि हामी सहयोगी हुनुपर्छ । खराब कामका लागि होइन ।
शिक्षक मेहनती हुनुपर्छ । उत्साही बन्नुपर्छ । सफा र राम्रो पहिरनमा ध्यान दिनुपर्छ । हाम्रो काम देखेर विद्यार्थीले त्यसको नक्कल गर्न सकून् । वास्तवमा एउटा असल शिक्षक आफ्नो विषयमा दक्ष, विशेषज्ञ हुनुपर्छ ।
सबैसँग मिलनसार हुनुपर्छ । स्पष्ट बन्नुपर्छ । एकलकाँटे बन्नुहँुदैन । सबैसँग मेलमिलाप गर्नुपर्दछ । नियमित हुनुपर्छ । जसरी हामी विद्यार्थीलाई कक्षामा ठीक समयमै उपस्थित होस् भन्ने चाहन्छौँ । त्यसरी नै हामी पनि समय अघि नै कक्षाकोठामा पुग्ने र विद्यालयमा पनि उपस्थित हुनुपर्दछ ।
शिक्षकले यदाकदा पत्रपत्रिकामा लेख ेजस्तो कक्षामा नजाने अनि महिनाको अन्तिम दिन विद्यालय गएर हस्ताक्षर गरी तलब मात्र लिने गर्नुहुँदैन । यसरी बच्चाले भनेको शिक्षकले नमान्ने हो भने आफूले भनेको बच्चाले कहिल्यै मान्दैनन् । शिक्षक सधैँ रिसोर्सफूल नयाँ उपाय खोज्ने र सोच्ने हुनुपर्छ । विद्यार्थीलाई पनि खुल्ने मौका दिनुपर्छ । समूहगत कार्य सहभागी गराउनुुपर्छ । इन्टरनेटबाट आजकल आफ्नो विषयमा नयाँनयाँ कुरा लिन सकिन्छ र विद्यार्थीलाई दिन सकिन्छ । खालि पाठ्यपुस्तकमा दिएको सूचनालाई मात्र सीमित राखी घोक्न लगाउनु उचित मानिँदैन । विद्यार्र्थीको आवश्यकता बुझेर सन्तुष्ट पार्नुपर्छ ।
एक अध्ययन अनुसार एउटा शिक्षकले पढाएको पाठबाट विद्यार्थीले १० प्रतिशत मात्र सिक्छन् तर ९० प्रतिशत अनुभवबाट सिक्छन् । त्यसकारण हामीले छात्रहरूलाई बढीभन्दा बढी पाठसँग सम्बन्धित अनुभवहरू र उपमाहरू दिन सक्नुपर्छ । व्याख्या गर्नुपर्छ ।
आवश्यक परेमा केही नियमलाई बदल्न पनि सक्नुपर्छ । विद्यार्थीहरुले शिक्षकलाई पढाएको पाठबाट भन्दा आफूहरूमाथि गरेको व्यवहार र कामको सम्झना ६ सय प्रतिशत बढी हुन्छ ।
एउटा असल शिक्षक पथप्रर्दशक पनि हो । विद्यार्थी र अभिभावकलाई समेत बाटो देखाउने शिक्षकहरू हुन् । सूचना र ज्ञानको स्रोत शिक्षक विद्यार्थीका सामु सबै चिजको ज्ञाता हो । विद्यार्थीले आपूmले थाहा नपाएका कुरा सोधे भने गलत सूचना नदिने, बरु म तिमीहरूलाई भोलि यसको जबाफ दिन्छु ।
आज हाम्रो पाठ पढ्न जरुरी छ भनी उनीहरूको ध्यान पाठमा लगाउने र अर्को दिन हिजो तिमीले सोधेको प्रश्नको जवाफ यो हो भनी पाठ सुरु हुनु अघि बताउने शिक्षकलाई विद्यार्थी सधैंभरि विश्वास गदर्छन् ।
बालबालिकाको जीवन बनाउने हात उसमा हुन्छ । शिक्षकहरूको कर्तव्य बालबालिकाको जीवन बनाउने हो । यसलाई हामीले राम्रोसँग बुुुझेको हुनुपर्छ । कक्षामा उत्कृष्टलाई पुरस्कृत गर्नुपर्छ ।
कहिल्यै पनि उनीहरूलाई गलत बाटो वा सूचना दिनुहुँदैन । सामुहिक हेरविचार गर्न भुल्नुहुदैन । शिक्षक आफूले पढाउने विषय र त्यसको लक्ष्य बुझेको हुनुपर्छ । आफ्नो पेसासँग सन्तुष्ट हुनुपर्छ । यदि शिक्षक आफ्नो पेसाप्रति सन्तुष्ट छैन भने उसले आफ्ना काम राम्रोसँग गर्न सत्तैmन र ऊ बालबालिका, अभिभावक र विद्यालयप्रति बफादार हुन सक्दैन । यसले सबैलाई हानी गर्दछ ।
शिक्षकहरु विभिन्न स्वभावका हुन्छन् । कोही गुनासोपूर्ण हुन्छन् जो सधैँ विद्यार्थीलाई यो भएन, त्यो भएन भनेर गुनासो मात्रै गरिरहन्छन् । कोही बढी कुरा मात्र गर्ने विद्यार्थीको गल्तीमा धेरै उपमा दिँदै लामो लेक्चर गर्ने वा सम्झाउने गर्छन् । कुनै उत्प्रेरणा दिने खालका हुन्छन् । कोहीचाहिँ विद्यार्थीको असल गुण र कामलाई प्रोत्साहित गर्दै उसलाई प्रेरणा दिने, स्यावासी दिने र उसलाई काममा उत्साही बनाउने स्वभावका हुन्छन् ।
कोही शिक्षणका क्रममा कक्षामा कहिलेकाहीँ हल्का व्यंग्य पनि गर्ने हुन्छन् । यसले कक्षाकोठाको वातावरण रमाइलो बनाउछ । यो चाहिँ सबैभन्दा उत्तम स्वभाव मानिन्छ । शिक्षकले असल उदाहरण बन भन्ने सिद्धान्त लिनुपर्छ । पहिला बन, त्यसपछि गर र बल्ल भन भन्ने नियम शिक्षक स्वयम्ले पालना गर्नुपर्छ । जुन कुरा पनि आफैँले व्यवहारमा प्रयोग गरेर मात्र विद्यार्थीलाई भन्नुपर्छ ।
शिक्षकले कक्षामा मोबाइलजन्य वस्तु विद्यार्थीको लागि हानिकारक हो भनी त्यसका दोष कक्षाको बोर्ड भरी लेख्ने, विद्यार्थीलाई प्रयोग नगर्नु पनि भन्ने तर आपूm कक्षाकोठामा गएर गफ मार्दै गेम वा फेसबुक चलाइरहेको ती विद्यार्थीले देख्दा उनीहरूमा के असर पर्ला ? यो किताब पढ भनेर उल्लु बनाउने काम मात्रै हो । भनिन्छ, असल शिक्षक हुनका लागि हेड, ह्यान्ड र हर्टको समायोजन हुनुपर्छ । जे टाउकोले सोच्छ त्यही बोल्नुपर्छ र जे बोलिन्छ त्यही गर्नुपर्छ अथवा सोचेको कुरा हृदयमा पुर्याउनु र हृदयले भनेको कुरा गर्नुपर्छ । आफूले पढाउने विषयको वार्षिक अर्धवार्षिक मासिक, साप्ताहिक र दैनिक योजना बनाएर पढाउनुपर्छ ।
हरेक विषय वा पाठमा मानवीय मूल्य राखेर पढाउनु राम्रो हुन्छ । पाएको ज्ञानलाई जीवनमा उतार्न विद्यार्थीलाई उत्प्रेरित गर्नुपर्छ । शिक्षालाई ज्ञान र सूचनामा मात्र सीमित नराखी त्यसद्वारा बालकको हृदय परिवर्तन गर्न सक्नुपर्छ ।
शिक्षकले यो पनि सोच्नु पर्छ कि आफूले कक्षामा पढाएर आफ्नो कर्तव्य पूरा गरेँ त्यसो होइन । तपाईँ समाजको सदस्य पनि हो, त्यसैले कक्षामा पढाएको कुराले समाजमा के कस्तो असर पर्छ ? तपाईँ समाजको पथप्रर्दशक पनि हो । समाजप्रति शिक्षककोे कस्तो जिम्मेवारी हुनुपर्छ ? त्यो सधैँ हेक्का हुनुपर्छ ।
त्यस्तै शिक्षकले शिक्षण सिकाइ कार्यमा सिकारु केन्द्रित भई दुईवटा कुरा सधैँ याद गर्नुपर्छ । के सिकाउने ? कसरी सिकाउने ? विद्यार्थीले के सिके र कसरी सिके ? त्यस्तै प्रभावकारी शिक्षण विधि छनौट गर्दा विषयवस्तुको स्वरुप, शैक्षिक लक्ष्य र उद्देश्य, बालमनोविज्ञान, शिक्षण समय, उत्प्रेरणा, पृष्ठपोषण, शैक्षिक सामग्री, शिक्षण सिकाइ वातावरण, सिकाइ उपलब्धी, विद्यार्थीको सक्रियता, अभ्यासको अवसरजस्ता कुरालाई ध्यान दिनुपर्छ । रमाइलो वातावरण सिर्जना गर्नुपर्छ ।
असल शिक्षकले बालबालिकालाई पढाउँदा राम्रो व्यवहार, बोली र विचारको विकासमा धेरै ध्यान दिनुपर्छ । किनभने उनीहरूले शिक्षकलाई रोल मोडेलका रूपमा हेरेका हुन्छन् । यदि शिक्षकले विद्यार्थीलाई सुर्तीको खराबीबारे पढाइन्छ तर आफै सुर्तीसेवन गर्छ भने त्यसले के प्रभाव पर्दछ ?
शिक्षण पेसा यस्तो पेसा हो जहाँ जति पढायो उति नै सिकिन्छ । जस्तै मोटर स्टार्ट गर्दा ब्याट्रीले सहयोग गर्छ तर जब मोटरको इन्जिन चालु हुन्छ , ब्याट्री चार्ज हुन्छ । मेरो अनुभवमा कक्षाभित्रको पढाइले मात्र हृदयलाई रूपान्तरण हुँदैन । शिक्षण व्यवहारमा (अभ्यास) मा आधारित हुनुपर्छ । प्रयोग र व्यवहारमा देखाएको र विद्यार्थीलाई अभ्यासमा उतारेको उदाहरणले मात्र परिवर्तन गर्दछ ।
शिक्षकले सादा जीवन उच्च विचारको जीवनशैली अपनाउनुपर्छ । जसबाट विद्यार्थीहरूले शिक्षकको अनुकरण गरुन् र उनीहरूको सामू नमुनाको व्यक्ति बनून् । शिक्षक राम्रो उदाहरण बन्न सके, त्यसैबाट राम्रो शिक्षा दिन सकिन्छ । असल, चरित्रवान, असल व्यक्तिले नै असल कुरा दिन सक्छ । यदि शिक्षक असल भएमा विद्यार्थीहरू पनि असल मानिस बन्नेछन् ।
कक्षाभित्रका पढाइले मात्र हृदयलाई रूपान्तरण गर्न सक्दैन । यस्तो हुन्थ्यो भने धेरै सन्तमहन्त महापुरुषहरूले धेरै राम्राराम्रा दिव्य प्रवचनहरू दिएका छन् । त्यसले स्रोताहरूलाई कुनै परिवर्तन गरेको छैन । प्रयोग र व्यवहारबाट देखाइएको उदाहरणले मात्र परिवर्तनको चाहनालाई बढावा दिन सक्छ । शिक्षाको अन्त नै चरित्र हो । त्यसैले शिक्षाले प्रत्येक विद्यार्थीको आचरण बनाउनु वा परिवर्तनतिर लगाउन सक्नुपर्छ । अनि मात्र पाठ्यक्रम आदिका ठूलाठूला विषयमा सोच्नुपर्छ ।
हाम्रो उद्देश्य ठूलो मानिस होइन । असल मानिस बनाउनेमा हुनुपर्छ । चना उमाल्ने शिक्षा होइन चना उमार्ने शिक्षा दिनुपर्छ । सबै विद्यालयमा पढेका असल भए समाज असल हुन्छ । समाज असल भए राष्ट्र, अनि राष्ट्र भए, संसार नै असल हुन्छ र चारैतिर शान्ति छाउँछ । एउटा असल शिक्षकको सपना साकार हुन्छ । त्यसैले त भनिन्छ शिक्षक सधैं किताबको वरिपरि शिक्षकका विद्यार्थी संसारभरि । असल शिक्षकका विद्यार्थी नै सधैंभरि सफल बनून् । शुभकामना ।