A Levels MA

तनाव व्यवस्थापन शिक्षकले कसरी गर्ने ?

शिक्षण पेसामा दिनानुदिन प्रतिकूलता थपिएको छ । प्रविधिको तीव्र विकासले नवपरिवर्तनलाई भित्र्याएको छ । शिक्षकले सबै वर्ग, तह र तप्काका बालबालिका, अभिभावक तथा समाजका मानिसका चालचल तथा मनोविज्ञानको ज्ञान हुनुपर्छ । विभिन्न खालका तनाव कक्षाकोठा तथा विद्यालय परिसरभित्र उत्पन्न हुन्छ । यस्ता असहज वातावरण र प्रतिकूलताले तनाव वढेको छ । तनाव व्यवस्थापन ठूलो समस्याको रूपमा रहेको छ । प्रतिकूलतालाई अनुकूलतामा परिवर्तन गर्ने कसरीः ? असहज अवस्थालाई सहजतामा ल्याउन र कठीन परिस्थितिलाई तत्काल सहजतामा परिवर्तन गर्न शिक्षकले गर्नुपर्ने केही कार्यहरूलाई यहाँ छोटकरीमा चर्चा गरिएको छ ।

के गर्नु पर्छ ? वा के गर्ने ?

रोकिने र हेर्नेः

तनाव भएको बेलामा तत्काल प्रतिक्रिया दिनु राम्रो होइन । विद्यालय प्रशासनसँग, शिक्षकहरू सँग, अभिभावकहरूसँग वा अन्य सरकोकारवालाहरूसँग विविध कारणले विवाद वा समस्या भएको हुन सक्छ । यस्तो वेलामा भइरहेको गलत तथा प्रतिकूल अवस्थामा तत्काल प्रतिक्रिया नदिइकन एकछिन रोकिने र अवस्थाको अवलोकन गर्ने गर्नु पर्दछ । एक क्षण समय लिँदा वा रोकिदा आवश्यक स्पष्टता र समसामयिक परिप्रेक्ष्यमा समायोजन गर्न सहज हुन्छ । सरकात्मक रूपमा र असल कुरामा ध्यान दिने, गहिरो सास फेर्ने जस्ता अभ्यासले रोकिने र हेर्ने विधिलाई सहायता पुर्राउँछ । यसले विद्यालयको वातावरण र आफ्नो कार्यमा पूर्णता ल्याउँछ ।

सास कार्य मार्फत आफैलाई पुनः केन्द्रित गर्ने 

विद्यालय सानो समाजको प्रतिरूप भएकोले धेरै प्रकारका विवाद र समस्याहरू समाज मार्फत विद्यालयमा आएको हुन्छ । त्यस माथि शिक्षकसँग समाजले ठूलो आशा र भरोसा पनि गरेको कारण आवश्यक र अनावश्यक सवै प्रकारका तनाव विद्यालयमा आउन सक्छ । सास फेर्ने तरीकाले तनाव कम गर्दछ । यो एक शक्तिशाली तथा बलशाली तरीका हो । यसको अभ्यास गर्न सास लिने, एकदेखि चारसम्म गन्ने, विस्तारै सास छोड्ने गर्नु पर्दछ । त्यसैगरी सास नलिकन चार सम्म गन्ने सास लिएपछि मुख बाट सास निकाल्ने अभ्यास गरेमा तनाव कम हुन्छ । त्यस्तै बैकल्पिक रूपमा नाकले सास फेर्ने अभ्यास गरेमा व्यक्तिहरूलाई प्रतिकूलताको बीचमा आफूलाई पुनःसम्हालिन मद्दत गर्न सक्छ ।

आफूलाई हेर्ने र आत्म–हेरचाहलाई प्राथमिकता दिने

विद्यालयमा सवै भाषा, संस्कार र सस्कृतिका मानिसहरूको कतै न कतैबाट आवद्धता हुन्छ । आफूलाई समय दिन नसकिने र जतिवेला पनि अरूलाई समय र तन, मन, वचन समर्पण गर्नुपर्ने अवस्था आउँछ । तर जस्तो सुकै अवस्थामा पनि आत्म–हेरचाहमा ध्यान दिनु पर्दछ । आत्म हेरचाह विलासिता होइन बरू आवश्यकता हो । विशेष गरी परिवर्तन र प्रतिकूलता तथा तनावको समयमा यो अति जरूरी हुन्छ । शरीर, दिमाग र आत्मालाई पोषण गर्ने गतिविधिहरूलाई प्राथमिकता दिँदै लचिलोपन अपनाउनु पर्दछ । यसमा काम र आरामको विच सन्तुलन, धैर्य हुने, मन परेको तथा मनोरन्जनात्मक काममा सामेल हुने गरेमा तनाव कम हुन्छ ।

तनाव चिन्ने र निराकरण गर्ने

तनावका स्रोतहरू चिन्ने तिनीहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने काम पहिलो काम हो । मनका कुराहरू लेख्ने, विश्वासिलो शिक्षक, इन्चार्ज, सहायक प्रधानाध्यापक, प्रधानाध्यापक वा अन्य मनमिल्ने जिकिर दोस्तसँग शेयर गर्ने र आवश्यक परेमा चिकित्सकसँग समन्वय गर्ने कार्य गर्नु आवश्यक हुन्छ ।

प्रतिबिम्बन गर्ने 

समस्या र चुनौतिहरू के के छन्? पछिल्लो पटक कुन घटनाले तनाव महसुस भएको थियो ? अव के गरेमा त्यो समस्या फेरि आउँदैन जस्ता विषयमा स्वःमूल्यांकन गर्न आवश्यक छ । विद्यार्थीको अनुशासनसँग सम्वन्धित समस्या भएमा सो कक्षामा अध्यापन गर्ने सवै सर मिसहरूसँग बसी कक्षा शिक्षकसमेत राखि छलफल गर्न सकिन्छ । अभिभावन, सकरात्मक अनुशासन जस्ता विविध उपायहरू अपनाउन सकिन्छ । घरायसी र पारिवारिक कारणबाट तनाव भए पनि यसलाई समाधान गर्न विद्यालयका साथीहरू उपयोगी हुन सक्छन् ।

व्यायामका लागि समय दिने 

शारीरिक क्रियाकलाप शरीरका लागि मात्र होइन दिमागका लागि पनि फाइदाजनक हुन्छ । नियमित व्यायामले तनाव कम गर्न, मुड सुधार गर्न र लचिलोपन बढाउन सहायता हुन्छ । सामान्य ध्यान, योग, खेलकुद, दौड, व्यायामलाई प्राथमिकता दिँदै तनाव मुक्त हुन सकिन्छ ।

पोशिलो खानेकुरा खाने 

पोषणले रिस, डाहा र तनावलाई कम पार्छ । पोषणयुक्त खानाले राम्रोसँग काम गर्न शरीरलाई आवश्यक पोषक तत्वहरू प्रदान गर्दछ । दुध, फलफूल, सागसब्जी, माछामासु, अन्न अनाज, प्रोटिन र चिल्लो पदार्थ भएको सन्तुलित आहारको सेवनले प्रतिरक्षा कार्यलाई बलियो बनाउँछ ।

लागु पदार्थ सेवन नगर्ने 

तनाव कमगर्न मदिरा वा नशा जन्य वस्तुहरू सेवन गर्न हुदैन । यसले स्वास्थयमा झन नकरात्मक असर पार्दछ भने समस्या र तनाव कम गर्नुको सट्टा वढाउँदछ । धुम्रपान, मध्यपान जस्ता वस्तुहरूको सेवनले मानसिक रूपमा समेत नकरात्मक असर बढ्दछ । अझ शिक्षण पेसामा आवद्ध हुनेले त यस्ता कुराहरूको कल्पना समेत गर्न हुदैन ।

परिभाषित काममा ध्यान दिनेः

पाठयोजना बनाउने, शैक्षिक सामग्री तयार गर्ने, अडियो भिडियो सामग्रीको सृजना गर्ने, विद्यार्थीहरूसँग रमाउने, उनीहरूसँग छलफल गर्ने गरेमा तनाव कम हुन्छ । त्यसैगरी पाठ्यक्रम , पाठ्यपुस्तक, स्पेशिफिकेशन ग्रिड हेर्ने, ती सामग्रीहरूको डिजिटल स्वरूपमा परिवर्तन गर्ने गरेमा तनाव कम सिकाई बढी र विषयगत उपलव्धी वृद्धि हुन्छ । सवैको वाहवाही प्राप्त हुन्छ । सवैको असल गुरू र गुरूआमा बन्न सकिन्छ । यसले तनाव कमगर्दछ र भावि पुस्तालाई पनि सकरात्मक बाटोमा अगाडि बढाउँदछ ।

खेल विधि अपनाउने

शिक्षण क्रियाकलापमा खेलविधिलाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिने गर्नुपर्दछ । खेल्न बालवालिका उत्सुक र जागरूक हुन्छन् । यही विधिले पाठ्यक्रमले आशा गरेका सक्षमता दिने गरी डिजानईन गरेमा आफ्नो पीर र तनाव पनि कम हुन्छ भने विद्यार्थीहरूको नजान्ने र नसिक्ने समस्या वा उपलव्धीमा पनि सुधार हुन्छ ।

समूह तथा परियोजना कार्य गर्नेः

बालवालिकालाई समूहमा विभाजन गर्ने र कामको जिम्मा दिने गरेमा सवै सकृय हुन्छन् । सामूहिक जिम्मेवारी र सामूहिक जमानीको वातावरण बन्दछ । यसले गर्दा जस अपजस सवैले लिने वातावरण तयार हुन्छ । वालवालिकामा सिक्ने, गतिविधि र क्रियाकलाप गरेर सिक्ने वातावरणको विकास हुन्छ । यसो भएमा न त शिक्षकमा तनाव रहन्छ न त विद्यार्थीमा ।

रचनात्मक र क्रियाकलापमुखी गतिविधिले सवैको तनाव कम गरी असल समाज र सुन्दर भविष्यको सुनिश्चितता कायम हुन्छ ।

Thuprai - Books and E-books