After SEE Portal

आर्थिक अभावमा कष्ट झेल्दै सहाराविहीन बालबालिका

Bridge Course

आर्थिक अभावका कारण पाँचथरको फिदिम नगरपालिका–४ मा रहेको आवासीय विद्यालयका सहारा विहीन बालबालिका कष्ट झेल्न बाध्य भएका छन् ।

सालघारीस्थित जागृति आधारभूत विद्यालयमा आवासीयरूपमा अध्ययनरत सहाराविहीन बालबालिकाले बसोबास, खानपान तथा पठनपाठन र स्वास्थ्य समस्या झेल्न बाध्य भएका हुन् ।

भवन अभावका कारण एउटै कोठामा १६ जना सम्म बालबालिकालाई राखिएको छ । आवासीय रुपमा कक्षा १ देखि ७ सम्म अध्ययनरत ७ देखि १५ वर्षसम्मका २५ जना सहाराविहीन बालबालिका बस्दै आएका छन् । खानबस्न, शिक्षा र स्वास्थ्यको व्यवस्थापन गर्दै आएको विद्यालयमा आर्थिक अभावका कारण समस्या उत्पन्न भएको हो । अहिले चारकोठे भवनमा आवास र भान्साघर सञ्चालनसहित शिक्षिका तथा सहयोगी कर्मचारी बसोबास गरिरहेका छन् ।

राससका अनुसार विद्यालयसँग आवासको उचित व्यवस्थापन तथा यहाँ बस्ने बालबालिकाका आवश्यकता पूर्ति गर्ने पर्याप्त आर्थिक स्रोत छैन । आर्थिक अभावका कारण बालबालिकाको दिनचर्या दिन प्रतिदिन समस्या ग्रस्त बन्दै गएको विद्यालयले जानकारी दियो ।

विद्यालयसंग पर्याप्त कोठा छैनन् । दुईटा कोठामा १६ जना छात्र र ९ छात्रालाई राखेको प्रधानाध्यापक डिल्लीराम लुइँटेलले बताए । ‘बालबालिकालाई आवासमा राखिए पनि प्रशस्त कोठाको व्यवस्थापन, सहज अध्ययनको प्रबन्ध, कपडालगायत आवश्यक सामग्रीको उचित प्रबन्ध गर्न सकिएको छैन’ उनले भने, ‘भौतिक अवस्था अत्यन्तै कमजोर भयो । शौचालय, भान्साघरको भवनसमेत उपयुक्त छैन, बनाउनलाई आर्थिक स्रोत जुटेन ।’

नगरपालिकाबाट विनियोजित बजेट आवासको नियमित सञ्चालनमै सकिने भएपछि नयाँ संरचना निर्माण हुनसकेको छैन । आवास सञ्चालनका लागि फिदिम नगरपालिकाले वार्षिक रु. पाँच लाख बजेट दिँदै आएको छ । तर त्यो बजेटले बालबालिकालाई खाना खुवाउन मात्रै पुग्ने प्रधानाध्यापक लुइँटेलले जानकारी दिए । ‘स्वास्थ्योपचार, लत्ताकपडा, स्टेशनरी लगायतको प्रबन्ध गर्न गाह्रो छ ।’ उनले भने, ‘विद्यालयसंग अन्य आम्दानीको स्रोत छैन ।’

आवासीय विद्यालयमा भाडाकुँडा, खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री अभाव भएपछि विभिन्न व्यक्तिसँग सहयोग मागेरसमेत आवश्यकता पूर्ति गर्दै आएको विद्यालयले जानकारी दियो ।

स्थानीय बजेट सार्वजनिक हुनु अघिविद्यालयले कम्तीमा ५० बालबालिका अट्ने भवन, भान्साघर, सहयोगीका लागि आवास, शौचालय लगायतको निर्माणका लागि फिदिम नगरपालिकासँग प्रस्ताव गरेको थियो । नगरपालिकाले विद्यालयको प्रस्ताव राम्रो भएपनि बजेट अभावका कारण बजेट विनियोजन गर्न नसकेको जानकरी दियो ।

सहारा विहीन बालबालिको सहारा विद्यालयलाई बनाउन आफूहरु लागि परेको भएपनि विभिन्न अड्चन तथा आर्थिक अभावले गर्दा सोचे जस्तो व्यवस्थापन गर्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर तामाङले बताए । ‘विद्यालयले विभिन्न स्थानमा अलपत्र परेका बालबालिकालाई संरक्षण तथा शिक्षा दिक्षा दिने अठोटका साथ आवासीय सुविधा सहित बालबालिकाको संरक्षण सुरु गरेको हो ।’ उनले भने, ‘बालबालिकाको मौलिक हकको पर्वधनका लागि पर्याप्त पूर्वाधार र आर्थिक स्रोत जुटाउन पहल गरिरहेका छौं सहजै जुट्न सकेको छैन ।’

सडक बालबालिका तथा कठिन अवस्थाका बालबालिकालाई संरक्षण गर्दै विद्यालयले २०७२ सालदेखि आवासीय विद्यालय सञ्चालनमा ल्याएको हो । आवासमा गरिब, विपन्न, असहाय, शिक्षाबाट बञ्चित भएका, आमाबाबु नभएका तथा भए पनि शिक्षा दिन चासो नदिनेका छोराछोरीलाई राखेर पठनपाठन र खान बस्नको प्रबन्ध गरिएको छ । विद्यालयमै राखेर पठनपाठन गराउँदा त्यस्ता विद्यार्थीको शैक्षिक स्थिति सुधार भएको पाइएको प्रधानाध्यापक लुइँटेलको भनाइ छ ।

१३ बालबालिकालाई राखेर आवासीय सुविधा सहितको व्यवस्थापन गर्दै आएको हो । अहिले बसेका २५ जनामध्ये १६ बालबालिकाका बाबुआमाले छाडेका छन् । बाँकी नौ जनाका बाबुआमा भए पनि स्याहारसुसार नगर्ने, ख्याल नराख्ने, विद्यालय पठाउने तथा पढाउनेतर्फ चासो नदिने भएपछि विद्यालय आफैँले अभिभावकत्व लिई अध्ययनको प्रबन्ध गरेको हो । आवासका विद्यार्थीको हेरचाह, पठनपाठनलगायत कार्यमा एक शिक्षिका र एक भान्से कर्मचारीको व्यवस्था गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books