प्रत्येक विद्यार्थीबाट रु २०० सङ्कलन गरिएको र अपुग रकम विद्यालयबाट थप गरी हिटर खरिद गरेर जडान गरिएको हो
मौसममा आएको परिवर्तनसँगै बैतडीमा पनि जाडो बढ्दै गएको छ । जाडो बढेसँगै बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माविका प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको छ ।
बालबालिकालाई चिसोबाट बचाउनका लागि प्रत्येक कक्षा कोठामा हिटर जडान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । ‘‘शिशु कक्षादेखि १० सम्मको प्रत्येक कोठामा दुई-दुईवटा हिटर जडान गरिएको छ,” उउनले भने, “कतिपय अभिभावकहरुको आर्थिक अवस्था नाजुक हुँदा विद्यार्थीले पनि न्यानो लुगा लगाउन नपाएकाले आफूहरुले कक्षा कोठा न्यानो गरी पठनपाठन गराउन हिटर जडान गरेका हौँ ।”
प्रत्येक विद्यार्थीबाट रु २०० सङ्कलन गरिएको र अपुग रकम विद्यालयबाट थप गरी हिटर खरिद गरेर जडान गरिएको हो । यस कार्यका लागि रु ८३ हजार खर्च भएको अध्यक्ष भाटले जानकारी दिए। जडान गरिएका हिटरबाट हिउँदेयामको चिसो छेक्न मद्दत पुगेको र पठनपाठनमा सहज भएको छ ।
हिटर जडान गर्दा निकै खुसी लागेको कक्षा ८ की छात्रा वर्षा भाटले बताइन् । उनले भनिन्, “हिटर नहुँदासम्म कक्षाकोठामा जाडो हुन्थ्यो अहिले न्यानो हुँदा खुसी छौँ ।”
जाडो भएर कक्षाकोठामा बसेर पढ्न सहज हुन्थेन तर अहिले न्यानो भएकाले पढ्न निकै सजिलो भएको कक्षा १० का छात्र कृष्ण आलेले बताए । उक्त विद्यालयमा हाल २८५ विद्यार्थी अध्यनरत छन् ।
लमजुङका दुई विद्यालयलाई पोशाक वितरण
लायन्स क्लब अफ काठमाडौँ समर्पणले लमजुङका दुई विद्यालयलाई पोशाक वितरण गरेको छ । क्लबले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी लमजुङको राइनास नगरपालिका–८ पिपलटारीमा सञ्चालित अमरज्योति आधारभूत प्राथमिक विद्यालय र मध्यनेपाल नगरपालिका–१ रायपालीमा सञ्चालित शान्ति शक्ति प्राथमिक विद्यालयमा ५१ थान पोशाक वितरण गरेको हो ।
कार्यक्रममा क्लबका अध्यक्ष लवेन्द्रसिंह मल्लले जाडोको समयमा कठ्याङ्गिएर अध्ययन गर्न बाध्य ग्रामीण भेगका विद्यार्थीलाई थोरै भए पनि न्यायो पोशाक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
यसअघि उक्त क्लबले अमरज्योती प्राविलाई खेलकुद सामग्री वितरण गरेको थियो । क्लबका प्रथम उपाध्यक्ष अखिल अग्रवालले पवित्र सामाजिक सेवाको भावना बोकेर स्थापना भएको लायन्स क्बलले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अमरज्योति प्रावि लमजुङका प्रधानाध्यापक हरिमाया घिमिरेले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री सहयोग गरेर ठूलो योगदान गर्न लगाएको भन्दै लायन्स क्लब अफ काठमाडौँ समर्पणलाई धन्यवाद ज्ञापन गरेका छन् ।