एसईईका परीक्षार्थीलाई हेडसरको चिठ्ठी

प्रिय विद्यार्थीहरु !

म जान्दछु यसबेला अवोध बालबालिकाबाहेक विश्वभरिका मानिस कसैको पनि दिमाग स्थिर छैन । यो पत्र लेख्ने बेलासम्म विश्वका झण्डै ९५ प्रतिशत देशहरुमा कोरोना भाइरसले प्रवेश गरिसकेको छ । लाखौँ मानिसहरु सङ्क्रमित भएका छन् । हजारौँले ज्यान गुमाइ सकेका छन् । हजारौँ परिवार विचल्लीमा परेका छन् । लाखौँ मानिसहरुको हातमुख जोड्ने पेशा रोकिएको छ । अर्थतन्त्रको ग्राफ ओरालो लाग्दैछ । व्यापार–व्यवसाय चौपट हुँदैछन् । मानिसहरुमा आर्थिक प्रभावभन्दा मानसिक प्रभाव बेस्सरी बढ्दैछ । सूचना प्रविधिले वर्षौँ लगाएर जोडेको विश्व यो ग्लोबल भिलेज कोरोना भाइरसले दुई महिनामै छियाछिया पारिदिएको छ । अरुको घाउमा मलम लगाउँदा आफू नै घाइते हुने बेला आएको छ । सबैमा एक प्रकारको संत्रास बढेको छ । मनमा भय गढेको छ ।

प्यारा विद्यार्थीहरु,

यो भय र संत्रास बढाउने समय होइन । सावधानी अपनाउने समय हो । मनोबल उच्च राख्ने, चिकित्सक वा वैज्ञानिकहरुले बताएका सल्लाहहरुलाई इमान्दारीपूर्वक पालना गर्ने र आफू तथा आफ्ना परिवारजनका लागि पनि अनुशासित बन्ने । तिमीहरुलाई विद्यालयमा सिकाइएको अनुशासनको महत्व अहिले विश्वले वोध गरिरहेको छ । शारीरिक र मानसिक तन्दुरुस्ती बारे हामीले विद्यालयमा धेरै चर्चा गर्ने गर्थ्यौँ । त्यसको महत्व आज घर परिवारमा साटासाट गर्ने उचित समय आएको छ ।

म जान्दछु अनेक प्रयासका बावजुत पनि तिमीहरुको एसईई परीक्षा रोकिएकामा तिमीहरुको मथिङ्गल खलबलिएको छ । सबै योजनाहरु भत्किएका छन् । सबै रहरहरु तहसनहस भएका छन् । कैयौंको परीक्षा पछि विदेशमा रहेका बाबु आमा वा आफन्तजनसँग भेट्न जाने योजना हुँदो हो । कैयौंको गाँउघरतिर घुम्न जाने, नेपालका मनोरम दृश्यहरुको अवलोकन गर्ने वा हजुरबुबा हजुरआमाको मायामा लपेटिने जस्ता थुप्रै योजना थिए होलान् । ती सबै अहिले खलबलिएका छन् । तर विद्यार्थीहरु यो समस्या पक्कै पनि धेरै समय टिक्ने छैन । यो घरमा लकडाउन भएर बस्नु परेको अवस्थामा के एसईई परीक्षालाई चटक्कै भुलेर टेलिभिजन वा मोबाइल फोनमै झुण्डिएर बस्ने समय हो त ? पक्कै होइन ।

१) लकडाउनको अवस्थामा परिवारहरुसँगै बस्ने, घरको काममा हातेमालो गर्ने, राम्रा राम्रा पुस्तकहरु पढ्ने जस्ता सल्लाह दिइएको छ । तर तिमीहरुका लागि परिवारसँग बस्ने, घरको स्वस्थ खाना खाने र जे जति कुराहरु परीक्षाका लागि रिभिजन वा अभ्यास गर्न भ्याइएको थिएन त्यो गर्नका लागि यो एउटा महत्वपूर्ण समय बन्न सक्छ । दुई चार दिन पनि पढाइबाट टाढियौ भने पढ्ने बानी छुट्छ । त्यसैले दुई घण्टा पढ्ने, एक घण्टा ब्रेक लिँदै पढाइलाई निरन्तरता दिनु वेश हुन्छ ।

२) पाठ्यपुस्तकका सबै कन्टेन्टलाई ध्यानपूर्वक सविस्तारमा पढ्ने । त्यसो गर्दा नबुझेका वा बिर्सिएका पाठ पनि फेरी बुझिन्छ । सम्झिन्छ ।

३) प्रत्येक विषयलाई समय बाँडेर पढ । सबै विषयको महत्व उत्तिकै छ । तर अनिवार्य गणित र ऐच्छिक गणितलाई अभ्यास गर्ने समय केही बढी देऊ ।

४) पुस्तकमा हल गरिएका उदाहरणहरुलाई घरिघरि अभ्यास गर्दै दोहोर्‍याउँदै गर ।

५) केही कुरा अस्पष्ट भए आफ्नो विषय शिक्षकलाई फोन गरेर सोध । त्यस्तो गर्न सम्भव नभए आफ्ना साथीहरुसँग छलफल गर ।

६) मोबाइल फोनमा अनावश्यक च्याट गरेर वा गेम खेलेर समय खेर नफाल ।

७) सामाजिक सञ्जालबाट टाढा नै बस । यसले मनलाई चन्चल र विचलित गर्दछ । केही दिन सामाजिक सञ्जालबाट टाढा बस्दा तिमीले कुनै नोक्सान व्यहोर्नुपर्ने हुँदैन ।

८) घरका सबै परिवार एकै ठाँउमा बस्ने, रमाइला कुराकानी गर्ने, टेलिभिजन हेर्ने गरेको देखेर तिमी दुःखी नबन । यो समयलाई एउटा मौका ठानेर अधिकतम सदुपयोग गर ।

९) शारीरिक र मानसिकरुपमा स्वस्थ रहे बाहिरी रोगहरुसँग सजिलै लड्न सकिन्छ । त्यसैले स्वास्थ्यको ख्याल गर ।

१०) एक दशक लामो पढाइको प्रतिफल पाउने बेलामा केही दिनको लापरवाहीले पछि पछुतो हुने काम नगर ।

प्रिय विद्यार्थीहरु,

धेरै जसो विद्यार्थीहरुका लागि पढाइ एउटा कठिन र पट्यारलाग्दो काम हो । सबै विद्यार्थीले पढाइलाई एकैनासले रमाइलो मान्दैनन् । तर आफ्नो सुनिश्चित भविष्यका लागि यसप्रति इमान्दारीपूर्वक लागिरहनुपर्दछ । कोरोनाको कहर वा यो लकडाउन क्षणिक हो तर तिम्रो पढाइको महत्व जीवनभरिलाई हो भन्ने मात्रै बुझिदिए पुग्छ ।

मेरो शुभकामना सबैलाई

मुकुन्दराज शर्मा, प्रिन्सिपल

लिट्टिल एन्जेल्स स्कुल, हात्तीवन, ललितपुर ।