राजालाई ‘सरकार’ भन्नू ‘हजुर’ नभन्नू भनेर सिकाए

देवशमशेरलाई धपाएर सत्ता कब्जा गर्न सफल बनेका चन्द्रशमशेरका कारण धेरैले मुलुक त्याग्नु पर्यो । नेपालीको बाहुल्यता रहने भएकाले त्यो बखत धपाइएकाहरुको पहिलो रोजाइ हुन्थ्यो– दार्जिलिङ् । लखेटिएका देवशमशेर पनि धनकुटापछि दार्जिलिङ् नै पुगेका थिए । उ बेला दार्जिलिङ् पुगेकाहरुको फेहरिस्त नै तयार हुनसक्दछ । सहिद शुक्रराज शास्त्रीका पिता माधवराज जोशी पनि काठमाडौँ छोडेर दार्जिलिङ् जानु परेको थियो । त्यस बेलाका चर्चित साहित्यकारहरु धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली पनि धपाइएकाहरुमध्ये पर्दछन् । उनीहरु पनि दार्जिलिङ् पुग्नु परेको थियो । चन्द्रशमशेरका कारण मुलुक त्याग्नु परेका कृष्णप्रसाद कोइराला (वीपी कोइरालाका पिता) भने सहर्सातिर गए ।

सत्तामाथि धावा बोल्न सक्ने डरले आफ्नै भाइ भारदारलाई उपत्यकाबाट लखेट्ने वा जोगिनका लागि आफै भाग्ने चलन सुरुदेखिकै थियो । वीरशमशेरले सत्ता कब्जा गर्दा पनि जङ्गबहादुरका सन्तान भाग्नुप¥यो । 

चन्द्रशमशेरले राणाहरुलाई तीन वर्गमा विभाजन गरे– ए, बी र सी । झ्याइझ्याइ बाजा बजाएर आफ्नै जातभित्र गरेकाहरु ए वर्गमा वर्गीकृत गरिए । जातभित्र तर औपचारिक बिहे नगरी ल्याइएकाहरुबाट जन्मिएका सन्तान बी वर्गमा वर्गीकृत गरिए । जातभन्दा बाहिरका कन्याबाट जन्मिएका सबै सी वर्गका राणा भए । दरबारका सुसारे वा जात बाहिर मन परेकी कुनै कन्यासँग सहवास गरी जन्मिएका थुप्रै थिए सी वर्गका राणा ।

जुद्धशमशेरले पनि धपाउने अभियानलाई जारी राखे । हालको निर्वाचन आयोग रहेको भवनमा थियो चारबुर्जे दरबार । जुद्धशमशेर र चारबुर्जेका भारदारबीच सम्बन्ध त्यति सुमधुर थिएन । चारबुर्जेका मालिक थिए रुद्रशमशेर । रुद्रशमशेरलाई थपाउन अनेक दाउ खेले जुद्धशमशेरले । अन्ततः सर्वस्वसहित पाल्पामा धपाउन सफल भए । रुद्रशमशेरहरु दुईपटकसम्म धपाइएकाहरुमा पर्दछन् । रुद्रशमशेर धपाइएपछि उनका सन्तानमात्र नभई उनीसँग सम्बन्ध गाँसिएकाहरु उपत्यकामा बस्न सक्ने अवस्था रहने कुरै भएन । ती पनि धपाइए ।

कान्तिपथ निवासी ९५ वर्ष श्रीजङ्ग शाह त्यो बखतको स्मरण गर्छन्, “जुद्धशमशेरले कु गरेपछि सी क्लासका राणाजी धपाइए । म भर्खरै दरबार हाइस्कुलमा भर्ना भएको थिए । १० महिना जति भएको थियो स्कुल जान थालेको । हामीहरु जुद्धशमशेरका कारण काठमाडौँ छाड्नुपर्यो ।”

श्रीजङ्ग क्षेत्रपाटीमा जन्मिएका थिए । धपाइनु अघि श्रीजङ्गका पिता फत्तेजङ्गले क्षेत्रपाटीको सम्पत्ति बेचेर हाँडीगाँउमा बसाइ सरे । फत्तेजङ्गकी पत्नी बालकुमारी सी क्लासकी राणाजीको छोरी थिइन् । वीरशमशेरका छोरा प्रतापशमशेर फोहोरा दरबारमा बस्थे । निर्वाचन आयोगको सामुन्ने अमेरिकी दूतावास रहेको स्थानमा त्यो बेला फोहोरा दरबार थियो । फोहोरा दरबारमा हिमालको आकृति थियो । त्यसको ठिक तल पानी बग्ने पोखरी बनाइएको थियो । निकै आकर्षक थियो । नेपाल आएका विदेशी पनि त्यो हेर्न दरबार पुग्थे । फोहोरा दरबारका केटाकेटीसँग खेल्न श्रीजङ्ग पनि पुग्थे । एक दिन तत्कालीन राजा त्रिभुवन पनि त्यो पोखरी हेर्न पुगेको श्रीजङ्गले देखेका थिए ।

प्रतापशमशेरकी रानी (पत्नी) फत्तेजङ्गका नातामा फुपु पर्थिन् । त्यसैले फत्तेजङ्गको प्रतापशमशेरसँग निकट थिए । दैनिक जसो आउजाउ हुन्थ्यो । जुद्धशमशेरले प्रतापशमशेरलाई पनि टिक्न नदिएपछि उनी दार्जिलिङ्तर्फ लागे । फत्तेजङ्ग पनि परिवारका साथ प्रतापशमशेरसँगै बाहिरिए ।

दार्जिलिङ्को गभर्मेन्ट हाइस्कुलमा भर्ना भए श्रीजङ् । त्यहाँ पुगेको एक वर्षपछि त प्रतापशमशेरको निधन भयो । दार्जिलिङ् फापेन भनेर प्रतापशमशेरका परिवार जनकपुरतर्फ लाग्यो । त्यहाँ उनीहरुको बिर्ता थियो । दार्जिलिङ्को रकोटमा सानो घर लिएर फत्तेजङ्ग बसेका थिए । दार्जिलिङ्का ती दिनका स्मरण यसरी गर्छन् श्रीजङ्गले, “धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवालीले हामीलाई पढाउँथे । उनीहरु त्यो बेला नै नामी साहित्यकार थिए । नेपाली विषय पढाउँथे । मैले स्कुल तहमा नेपाली विषय पढ्न पाएको उनीहरुसँग हो । त्यसपछि नेपाली विषय पढ्न पाइएन ।”

फत्तेजङ्ग पनि दार्जिलिङ् बस्न सकेनन् । उनी सुरुमा रघुनाथपुर पुगे । त्यसपछि कता कता पुगे । नेपालगन्जमा फत्तेजङ्गका हजुरबुबाका नाममा जग्गा थियो । उनी नेपालगन्ज पुग्ने निधो गरे । उतै घर बनाउन थाले । छोराछोरीहरुलाई चार वर्षसम्म दार्जिलिङ्मै राखे । पछि सबै छोराछोरीलाई नेपालगन्ज लिएर गए फत्तेजङ्गले । उधुम गर्मी । एउटा छोरा र एउटी छोरीको निधन भएपछि डरले फत्तेजङ्गले श्रीजङ्गलाई बनारस पठाइदिए । उनी सेन्टर हिन्दू हाइस्कुलमा भर्ना भए । नेपालगन्जमा रहँदा घरमै पढ्नुपर्ने अवस्था सिर्जना भइसकेको थियो ।

भारतको पढाइ । सबै विषय भारतीय । इतिहास भारतकै पढ्नुपथ्र्याे । भूगोल भारतकै पढ्नुपथ्र्याे । नेपालका बारेमा अनभिज्ञ थिए उनी । भारतीय इतिहास, भाषा, संस्कृति, भूगोल पढे । मेट्रिक दिए । पहिलो श्रेणीमा उत्तीर्ण भए । फत्तेजङ्गले औपचारिक शिक्षा नलिए पनि छोराछोरीलाई पढाउन चाहन्थे । श्रीजङ्ग कलकत्ता विश्वविद्यालयमा भर्ना भए । उनले त्यहीबाट आइएदेखि एमएसम्म पढे । त्यो बेला कलेज शुल्क मुस्किलले २५ रुपियाँ लाग्ने गरेको उनी स्मरण गर्छन् ।

कलकत्तामा हरेक आइतबार छुट्टी । छुट्टीको सदुपयोग उनले ब्याटमिन्टन खेलेर गर्ने गरेका थिए । उनीहरु कलकत्तामा पढ्दा सुवर्णशमशेरका घरमा ब्याटमिन्टन खेल्न जान्थे । सुवर्णका छोरासँग उनीहरुको मित्रता थियो । “त्यही वीपी कोइराला, सूर्यप्रसाद उपाध्याय जस्ता थुप्रै नेता आउँथे । हामीले हेथ्र्याैँ । फलानो फलानो भन्थे” उनले भने, “कुनै बोलचाल हुन्थेन ।” त्यहाँ अध्ययन गर्ने सबै नेपाली विद्यार्थी राणा विरोधी थिए । खुलारुपमा सबैले अभिव्यक्त गर्न नसके पनि एकले अर्कालाई शंकाको दृष्टिकोणले हेर्थे । तर भित्रभित्रै सबै राणका विरोधी । पढाइ पूरा भएपछि उनी नेपालगन्ज फर्किए । उनी बाबु फत्तेजङ्गलाई खेतीपातीमा सघाउने गरेका थिए ।

पाल्पा निवासी डा. त्रिवेणीप्रसाद प्रधान नेपालगन्जमै प्राक्टिस गर्थे । उनीसँग बीपीको राम्रो सम्बन्ध थियो । श्रीजङ्गको पनि उनीसँग निकट सम्बन्ध थियो । डा. तुलसी गिरी र डा. त्रिवेणीलाई वीपीका दाहिने र देब्रे हात भन्थे त्यो बेला । डा. त्रिवेणीले रोजगारीका सन्दर्भमा वीपीसँग भेटाइदिन खोजे । पढेका मानिस कम थिए । नेपालगन्जमा बसेर के गर्छाैँ काठमाडौँमा प्रधानमन्त्रीसमक्ष भेटाइदिन्छु भनेपछि श्रीजङ्ग काठमाडौँ आइपुगे । जाडोको महिना थियो । बेलुका ७ बजेको समय दिइएको थियो । त्रिपुरेश्वरस्थित गेष्ट हाउस नै प्रधानमन्त्रीको आवासीय भवन थियो । “म त्यहाँ जाँदा वीपी आइसकेका थिएनन् । मलाई लगेर ड्रइङ्ग रुपमा राखे । १५ मिनेटपछि दुई तीन वटा मोटर आए । प्रधानमन्त्री आएको हुनुपर्दछ भनेर मनमा लाग्यो । नभन्दै उनी आएका रहेछन् । सिधै उनी माथि गए । त्रिवेणी पनि साथै थिए । म आयो कि आएन भनेर ड्रइङ्गरुममा हेर्न त्रिवेणी आइपुगे । मलाई देखेपछि प्रधानमन्त्रीसँग कुरा गरिदिएको छु भनेर उनी हिँडे” उनले थपे, “१५ मिनेटपछि वीपीका सचिव आइपुगे । प्रधानमन्त्रीले बोलाउनुभएको छ भनेर माथि लगे । वीपी सिरक ओढेर बसिरहेका थिए । म मेचमा बसे । के छ, कस्तो छौँ भनेर सोधे । कलकत्तामा सुवर्णशमशेरलाई कस्तो मान्छन् भन्ने लगायतका सोधे तर त्यो भेटले रोजगारीका कुनै कुरा भएनन् । न त उनले यही बसेर काम गर भने । म नेपालगन्ज फर्किए ।”

नेपालगन्जमा बसिरहेका थिए । एक दिन बडाहाकिम बद्रीविक्रम थापाले काठमाडौँ जान भने । राजा थिए महेन्द्र । उनले जिल्लाहरुबाट पढे लेखेका मानिस पठाइदिनू भनेर बडाहाकिमहरुलाई आदेश दिएका रहेछन् । बद्रीविक्रमलाई पनि थाहा थियो कि श्रीजङ्ग स्नातकोत्तर तह पूरा गरेका छन् भन्ने । काठमाडौँ आइपुगेपछि नारायणहिटी दरबार पुगे उनी । “त्यहाँ अरु जिल्लाबाट पनि बोलाएका रहेछन् । पढे लेखेका मानिसलाई मात्र झिाएका रहेछन्” उनले भने, “राजाका सामुन्ने लैजानुभन्दा पहिले त्यहाँका कर्मचारीले  सिकाए । भित्र गएर राजालाई सरकार भन्नू, हजुर नभन्नू, बोलेपछि यस्तो गर्नु उसो गर्नु भनेर सिकाए । भित्र गएपछि राजाका सामुन्ने उभिन लगाए । राजा बसेका थिए । त्यो मानिसले हामीलाई कुहिनोमाथि समाएर त्यहाँ पुर्याएका थिए । राजाले मेरा बारेमा सोधे ।” 

राजासँग कुराकानी गरेको लगत्तै उनलाई नेपाल राष्ट्र बैँकमा निर्देशक बनाइएको खबर आयो । नेराबैँक नयाँसडकको रैनबसेरा भन्ने घरमा थियो । पछि थापाथलीको सिंहमहलमा सर्यो । त्यो बेला राष्ट्र बैँकमा मेच टेबुल थिएन, हात टेकेर चकटीमा बसेर लेख्नुपथ्र्याे भनी उनी सम्झन्छन् । 

उनलाई जीवनमा दुई कुराले अझै पनि थकथक लाग्ने गरेको छ । एउटा दरबार हाइस्कुलमा पढ्न नपाउनु र अर्काे शिक्षा क्षेत्रमा लाग्न नसक्नु । “म शिक्षा क्षेत्रमा संलग्न हुन्छु भन्ने पहिलेदेखि नै सपना देख्थे” उनले भने, “तर इच्छा पूरा भएन । सोचेको मात्र नहुने रहेछ ।” नेपाल राष्ट्र बैँकमा डेपुटी र अल्टरनेट गभर्नर बनेका उनले आफ्नो जीवनको लामो समयसम्म अन्तर्राष्ट्रिय मुद्रा कोषमा विताए ।

Thuprai - Books and E-books