Bachelors Portal

गुरुहरु घरायसी काममा व्यस्त

बिहानदेखि साँझसम्मको समय शिक्षणमा व्यस्त पाल्पा, रामपुर नगरपालिका १० का दामोदर तिमिल्सिना अहिले घरायसी कामकाजमा व्यस्त हुनुहुन्छ । उहाँलगायत शिक्षणमा व्यस्त रहने अधिकांश अहिले घरायसी काममा लाग्नुभएको छ । “बिहानसाँझ ट्युसन कक्षा र दिउँसो विद्यालयमा अध्यापनमै व्यस्त भइन्थ्यो तर लकडाउनले घरको काममा व्यस्त भएको छु”, तिमिल्सिनाले भन्नुभयो । उहाँले अहिले श्रीमतीलाई घरमा सघाउने, तरकारी लगाउने र गोडमेल गरेर लकडाउनको समय सदुपयोग गर्नुभएको छ ।

रामपुरकै कृष्ण सोमै पनि यतिबेला खेतबारीको काममा व्यस्त हुुनुहुन्छ । खेतमा गहुँ स्याहार्ने र मकै छर्ने काममा उहाँको दैनिकी बितेको छ । बिहान ५ देखि साँझ ७ बजेसम्म लगातार शिक्षण गर्ने सोमै भन्नुहुन्छ, “घरमा श्रीमती एक्लै, आफूले खेतीपाती लगाउने काममा कहिल्यै सहयोग गर्न पाइएकै थिएन, यस पटक भने उनीसँंगै घरायसी काममा खटिरहेको छु”, उहाँले भन्नुभयो ।कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी लकडाउनको सदुपयोग गर्दै एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई पढाइमा जोड दिन घरमै पुगेर आग्रह गर्ने र बेलाबेलामा पढेनपढेको निगरानी गर्ने कार्यमा समेत शिक्षक जुटेका छन् ।

अहिले विद्यार्थीको रेखदेख र करेसाबारीको काममा नै आफ्नो समय बित्ने गरेको चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकनाथ पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो,“तरकारी लगायो, गोडमेल ग¥यो, विद्यार्थीले पढे वा पढेनन्, उनीहरुको निगरानी गरेर समय सदुपयोग गरिरहेको छु ।” 

कतिपय शिक्षकले घरमै बसेर पनि परीक्षाको उत्तरपुस्तिका जाँच गर्ने विद्यालयका योजना बनाउने कार्य गरिरहेका छन् । लकडाउनको समय लम्बिदै जादा घरभित्रै बसेर विद्यालयका भावी योजना तयार पार्ने र विद्यार्थीको पढाइमा निरन्तरता दिन पृष्ठपोषण दिने काम भइरहेको नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त न्यौपाने बताउनुहुन्छ ।

Thuprai - Books and E-books