Bachelors Portal

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस अब आफ्नै भवनमा

Managed Admission 2022

पोखरा, ५ माघ (रासस) ः पोखराको महत्वपूर्ण पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाको ११ वर्षको अन्तरालमा आफ्नै भवनमा सरेको छ । यसअघि गुप्तेश्वर गुफाको यज्ञशाला भवनको दोस्रो तलामा सञ्चालन हुँदै आएको क्याम्पस गप्तेश्वर गुफाले खरीद गरेको लगभग छ रोपनी जग्गामा रु छ करोड १८ लाखको लागतमा तीन तलाको ३० कोठे पक्की भवन बनाएको हो । 

सो भवन जिल्ला समन्वय समिति कास्कीको प्राविधिक एवं भारतीय राजदूतावासको रु चार करोड ६४ लाख, गुप्तेश्वर गुफाको रु एक करोड १० लाख र विश्वविद्यालय अनुदान आयोगको रु ४९ लाखको लागतमा निर्माण सम्पन्न भएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा डा भूपति ढकाल ‘कमल’ले जानकारी दिनुभयो । 

गुफाको अध्ययन अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई टिकट बिक्री गरेको रकमबाट स्थापना गरी सञ्चालनमा आएको सो क्याम्पस वर्तमान अवस्थासम्म आइपुग्दा विस्तारै भौतिक पूर्वाधारका दृष्टिले पनि सुविधा सम्पन्न बन्दै आएको उहाँले बताउनुभयो । 

पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनमा ६ करोड १८ लाखको लागतमा निर्माण गरिएको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवनिर्मित भवन । तस्वीरः हरि बाँस्तोला, पोखरा, रासस



पोखराको महत्वपूर्ण पर्यटकीयस्थल पाताले छाँगाको नजिकै रहेको सो क्याम्पस भवनमा हालै पठनपाठन सञ्चालनमा आएको बताउँदै अध्यक्ष ढकालले भन्नुभयो अन्य आवश्यक पूर्वाधारका लागि गुफाबाट यसअघि रु दुई करोड छ लाख र विश्वविद्यालय अनुदान आयोगबाट रु ३८ लाख ८० हजार सहयोग प्राप्त भएको छ । 

सो भवनमा सभा हलसहित शैक्षिक तथा प्रशासनिक कक्ष, कम्प्युटर ल्याब, पुस्तकालय, ल्याब, रेष्टुराँलगायतका विभिन्न कक्ष रहेका छन् । ‘सबैका लागि गुणस्तरीय शिक्षा’ भन्ने मुख्य लक्ष्यका साथ स्थापना भएको क्याम्पसले विभिन्न सङ्कायमा स्नातक तथा स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्दै आएको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिनुभयो । 

विसं २०६५ मा स्थापना गरी सञ्चालनमा आएको क्याम्पसमा ३१० छात्रासहित हाल ४०५ विद्यार्थी अध्ययनरत छन् । यस क्षेत्रका शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी एवं सरोकारवालाको एक भेलाले शुरुमा शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायअन्तर्गत तीन वर्षे स्नातक तहका कक्षा सञ्चालन गरेको क्याम्पस व्यवस्थापन समितिका संस्थापक अध्यक्ष खगराज आचार्य बताउनुहुन्छ । 

क्याम्पसमा हाल व्यवस्थापन सङ्कायतर्पm चार वर्षे बिबिएस, बिएचएम, बिआइएम, एमबिएस तथा शिक्षाशास्त्र सङ्कायतर्पm बिइडीमा गरी कूल ४०५ विद्यार्थी अध्ययनरत छन् । २०६५ मङ्सिर ४ गते त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो क्याम्पसमा गत मङ्सिर महीनादेखि स्नातकोत्तर तहमा बिएचएम र बिआइएम एवं फागुन महीनादेखि एमबिएस स्नातक तहमा बिएड, बिबिएसका कक्षा सञ्चालन गरिने भएको छ । 

क्याम्पसको दिगोपनाका लागि गुफाले रु एक करोडको अक्षयकोष स्थापना गरेको र आम्दानीको केही प्रतिशत कोषमा थप गर्दै जाने सोच रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

Select college / campus