After SEE Portal

उच्च शिक्षा पढ्ने विद्यार्थीलाई अनुदान

Bridge Course

पर्वत,  सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

आर्थिकरुपमा सबल विद्यार्थीले शुल्क तिरेरै भए पनि गुणस्तरीय शिक्षा लिइरहेका छन् । आर्थिकरुपमा विपन्न परिवारका विद्यार्थीले भने बीचैमा पढाई छाडेर बस्नुपर्ने वा विदेश पलायन हुने गरेको अवस्थालाई मध्यनजर गर्दै पर्वतको महाशिला गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउन थालेको छ ।

उच्च शिक्षामा राम्रो विषय लिएर पढ्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदै जाँदा मुलुकमा मात्र हैन पालिकामा पनि आवश्यक दक्ष जनशक्तिको अभाव भएपछि अनुदान नै दिएर पढाउन थालिएको हो ।

दक्ष जनशक्तिको उत्पादनका लागि उच्च शिक्षासम्म पढ्न प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिकाले उच्च मावि र स्नातक वा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छुट्टाछुट्टै अनुदान दिने भएको हो ।

उच्च माविमा गणित, विज्ञान तथा स्टाफ नर्स अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप वार्षिक रू ५० हजार उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले जानकारी दिए । उनका अनुसार यस वर्ष विपन्न तथा जेहेन्दार छ जना विद्यार्थीलाई उक्त अनुदान उपलब्ध गराइनेछ ।

विपन्न तथा असहाय परिवारका विद्यार्थीलाई उच्च शिक्षामा सहज पहच पुयाउनका लागि मेडिकल, इञ्जिनियरिङ, कृषि र भेटेरीनरी विषयमा स्नातक तह अध्ययन गरिरहेका वा अध्ययन गर्न इच्छुकलाई पनि अनुदान दिइने पराजुलीले बताए ।

 “यस्ता विद्यार्थीलाई वार्षिक रू एक लाख अनुदान उपलब्ध गराइने छ । जतिसुकै सङ्ख्यामा भए पनि स्नातक तहका विद्यार्थीलाई अनुदान दिने छौँ”, उनले भने ।

आर्थिक अभावका कारण कोही पनि विद्यार्थी गुणस्तरीय शिक्षा लिनबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले विद्यार्थी अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए ।

उनका अनुसार गाउँपालिकाले गत आइतबार सूचना जारी गरी १५ दिनभित्र इच्छुक विद्यार्थीलाई पालिकामा सम्पर्क गर्न आग्रह गरिसकेको छ ।

अहिले पनि गाउँपालिकामा कृषि, पशु, स्वास्थ्यसम्बन्धी जनशक्ति र गणित तथा विज्ञान पढाउने शिक्षकको अभाव रहेको भन्दै यी विषय अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक रू एक एक लाखका दरले चार वर्षसम्म अनुदान दिइने अध्यक्ष भुसालले जानकारी दिए ।

पालिकामा विज्ञान र गणित पढाउने शिक्षकको अभाव लामो समयदेखि खड्किँदै आएको भन्दै पटकपटक सूचना गर्दा पनि यी विषयका शिक्षक पदपूर्ति गर्न नसकिएको अध्यक्ष भुसालको भनाइ छ ।

 “पालिकाभित्रबाट उच्च शिक्षा पढ्ने विद्यार्थीलाई चार वर्षसम्म सहयोग गर्नेछौँ । उक्त कार्यक्रम दक्ष जनशक्ति उत्पादन गर्न लागू गरिएको हो”, उनले भने ।

उक्त सुविधा लिने विद्यार्थीले पढाइ सकिएपछि न्यूनतम दुई वर्ष पालिकामा सेवा गर्नुपर्ने सर्त राखिएको गाउँपालिकाका अध्यक्ष भुसालले बताए ।

यस्तो अनुदानले विद्यार्थीलाई मासिक शुल्क भुक्तानी र स्टेशनरी खरिद लगायतमा सहजता हुने अपेक्षा पालिकाको छ । पछिल्ला केही वर्षयता गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धिलाई जोड दिँदै आएको छ ।

पालिकाका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पनि पठनपाठन थालिएसँगै विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका सात पालिकामध्ये निजी विद्यालय नभएको महाशिला मात्रै रहेको अध्यक्ष भुसालले बताए ।

 

A Levels MA
Thuprai - Books and E-books