सरकार नै शिक्षाको व्यापारीः पूर्वप्रधानन्यायाधीश कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन्।

आज डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले शिक्षा, स्वास्थ्य सहितका हरेक कुरामा व्यापार गरिरहेको आरोप लगाएकी हुन्।

उनले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरूले छोराछोरीहरूलाई अध्ययन गराउन नसकेको बताइन्।

 ‘अहिले शिक्षा,स्वास्थ्य हरेक कुरामा व्यापार छ । छात्रवृत्ति कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन । शिक्षा व्यापार भएको छ । यो दूर्भाग्पूर्ण कुरा हो । तर सरकारमा बस्नेहरू नै व्यापारी भएपछि यो कुरा कसले सुन्ने ?’ उनले भनिन्, ‘शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरूले छोराछोरीहरूलाई अध्ययन गराउन नसक्ने अवस्था आयो ।’

पूर्वमन्त्री तथा क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष होमनाथ दाहालले संविधानमा नै समाजवाद उन्मुख शिक्षा भनिए पनि शिक्षा, स्वास्थ्य सर्वसुलभ हुन नसक्नु राज्यको कमजोर िभएको बताए । उनाँले नेपालको शिक्षा नीति र प्रणालीले गर्दा उच्च शिक्षाको लागि कोही पनि नेपाल बस्ने अवस्थामा नरहेको उल्लेख गर्दै शिक्षामा व्यापक सुधारको खाँचो औल्याए  ।

यस्तै पूर्व मन्त्री बिक्रम बहादुर थापाले सार्वजनिक शिक्षालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै डिल्लबिजार कन्या बहुमुखी क्याम्पसले छात्राहरूको शिक्षाको लागि गरिरहेको प्रयास प्रशंसनीय रहको बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. रद्र शर्माले भौतिक पूर्वाधार सहित यस क्याम्पसलाई नमुना क्याम्पस बनाउन व्यवस्थापन समितिले सरोकारवाहरूसंग सहकार्य गरिरहेको जानकारी दिए ।

२०३७ सालमा स्थापना भएको क्याम्पसमा स्नातक तहमा बीबीएस, बीए तथा बीएड र स्नातकोत्तर तहमा एमए अंग्रजी, एमए समाजशास्त्र, तथा एमबीएसको अध्यापन हुने गरेको छ ।