सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी नेपाली विषयमै कमजोर भएको पाइएको छ । विद्यार्थीको सिकाइ तथा उपलब्धिको मापन गर्दै शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा ५ को सिकाइ उपलब्धि प्रतिवेदनबाट यस्तो देखिएको हो ।
प्रतिवेदनअनुसार गणित र नेपालीको सिकाइ उपलब्धि कमजोर रहेको देखिएको छ । जसमा नेपालीमा २० प्रतिशत विद्यार्थीले कक्षामा सिक्न नसकेको देखिएको छ ।
छनोटमा परेका २४ जिल्लाका १ हजार ४ सय विद्यालयका २८ हजार ३ सय ८१ विद्यार्थीमा मूल्याकंन गरिएको थियो ।
जसमा कक्षा ५ को नेपाली र गणित विषयका लागि परीक्षण सञ्चालन गरिएको थियो । नेपाली विषयको परीक्षणमा ७ सय विद्यालयका १४ हजार २ सय ७ विद्यार्थी र गणित विषयमा ७ सय विद्यालयका १४ हजार १ सय ७४ विद्यार्थी परीक्षणमा सहभागी थिए ।
विद्यार्थीको वास्तविक क्षमतालाई आधार मानी राष्ट्रिय औसत ५ सय मानिएको छ । २०६८ सालदेखि हालसम्म केन्द्रले कक्षा ३, ५, ८ र १० का ७ वटा परीक्षण गरिसकेको जनाएको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न २२ बुँदे कार्यक्रम ल्याएका थिए ।
कार्यक्रममा विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थीको अभ्यासको प्रगति मसान्तभित्र इमेल गरिसकेको हुनुपर्ने र सो हुन नसकेका विद्यार्थी, शिक्षक र प्रधानाध्यापकको प्रगतिमा कैफियतको व्यवस्था गर्ने उल्लेख छ ।