CMAT

गजेन्द्र सरको गज्जबको कथा

स्वयंसेवक शिक्षकले सुधारेको सामुदायिक विद्यालय

पूर्वी सुर्खेतको गुर्भााकोट नगरपालिकास्थित जहरेमा जनसंयुक्त आधारभूत विद्यालय छ । एक दशक अघि यो विद्यालय उचित व्यवस्थापनको अभावमा लगभग बन्द हुने अवस्थामा पुगेको थियो । बालबालिकाको पढाइ लथालिङ्ग थियो । ४० जना विद्यार्थी रेकर्डमा देखिए पनि मुस्किलले १५–२० जना बालबालिका मात्र विद्यालय आउथे । विद्यार्थी नभएपछि विद्यालय मर्ज हुने अवस्थामा पुगेको थियो । अरु विद्यालयसँग गाभिने संघारमा रहेको तत्कालीन जनसंयुक्त प्राविमा २०७१ सालमा गजेन्द्र राना पुगे । त्यसको केही समयपछि विद्यालयको मुहार फोरियो । स्वयंसेवी भावनाले ओतप्रोत भएर गजेन्द्र सरले स्थानीय अभिभावकको पहिलो रोजाइको विद्यालय बनाएका छन् ।

तस्वीरः गजेन्द्र राना

सुरुमा तीन महिनाका लागि स्वयंसेवक शिक्षकका रुपमा विद्यालयमा छिरेका उनलाई अहिले सबैले ‘गजेन्द्र सर’ भनेर चिन्छन् । उनी त्यतिकै गजेन्द्र सर भने भएका छैनन् । उनले आफ्नो उच्च शिक्षा पछिको उर्वर समय विद्यालय र स्थानीय बालबालिकाको भविष्य निर्माणमा करिब एक दशक गुजारेपछि उनी सबैका गजेन्द्र सर भएका हुन्  ।

उनले विद्यालयलाई अरु विद्यालयसँग समायोजन हुन दिएनन् । बरु उल्टै अरु सामुदायिक विद्यालयहरू यस विद्यालयमा गाँभिने अवस्थामा पुर्याए । अहिले गुर्भाकोट नगरपालिका भित्रका ५३ वटा आधारभूत विद्यालयमध्ये सबैभन्दा उत्कृष्ट विद्यालय बन्न पुगेको छ ।

यसरी सुरु भयो उनको स्वयंसेवी यात्रा

सानै उमेरमा बुबा–आमा गुमाएका सुर्खेत गुमीका ३६ वर्षीय गजेन्द्र राना अहिले त्यहाँ रहेको जनसंयुक्त आधारभूत विद्यालयमा अध्यापन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास मा डिग्री हासिल गरेर उनी ८ वर्ष अघि जन्मस्थल फर्किए ।

सँगैका साथीहरू अमेरिका, युरोप पुगे । कोही एनजिओ, आइएनजिओमा उच्च पदमा कार्यरत छन् । तर उनी घुम्न गाउँ पुगे । उनले पढेको विषयमा राम्रो भविष्य हुँदाहुँदै पनि गजेन्द्र चाहिँ गाउँ र्फिर्कए । गाउँ पुगेपछि स्थानीय बालबालिकाको अवस्था देखेर उनको हृदय छोयो । विद्यालयमा केही समयका लागि प्रवेश गरेका उनलाई आठवर्ष पुरा हुन्जेलसम्म पनि बालबालिकाको भविष्यको चिन्ताले बाँधेर अहिलेसम्म नछाडेको गजेन्द्र बताउँछन् ।

यसरी पुगे विद्यालय

उनले सानैमा बाबु–आमा गुमाए । अभिभावक गुमाए पछि बहिनीसहित उनलाई सुर्खेतमा रहेको एसोएस बालग्राममा भर्ना गरियो । कक्षा १० सम्म एसोएसबाटै उत्तीर्ण गरे । त्यसपछि काठमाडौँ गएर बाकीँ अध्ययन पुरा गरे । ग्रामीण विकास अर्थशास्त्रमा उनले उच्च शिक्षा हासिल गरे । स्नातकोत्तरको पढाइ सकेपछि उनी साथीसंग घुम्नका लागि पहिलो पटका आफू जन्मिएको गाउँ पुगे । उनको स्मरणमा सो ठाउँको कुनै याद सम्म थिएन, सोध्दै खोज्दै आइपुगेको उनी बताउँछन् ।

आफ्नो आमा– बुबाको अनुहारसमेत सम्झनामा थिएन गजेन्द्र सरलाई । बिचमा गाउँ फर्किएनन् । घुम्न आएको बेला खुट्टामा जुत्ता समेत नलगाउने बालबालिका विद्यालयमा देखेनन् । सबै गाउँमा नपढी घुमेको देखेपछि शुरुमा तीन महिनाका लागि विद्यालयमा स्वयंसेवा गर्ने सोचले विद्यालयमा शिक्षण सुरु गरे । १५ जना मात्र बालबालिका विद्यालयमा आउँथे  । सबै विद्यार्थी पुरैदिन विद्यालयमा बस्न मान्दैन थिए । उनले आमा बनेर बालबालिकाको विश्वास जिते । बाबु बनेर समुदायको विश्वास जितेर बन्द हुने अवस्थामा पुगेको विद्यालयमा अहिले ३४० भन्दा बढी बालबालिका अध्ययनरत भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर सुनार बताउँछन् ।

विद्यालयले सबैको भरोसा जित्यो

तस्वीरः गजेन्द्र राना

अहिले विद्यालयमा आसपासका बालबालिका पनि पढ्न आउँछन् । गजेन्द्र सरको अगुवाइमा स्कुलको अवस्था सुध्रिएको देखेर शिक्षक, अभिभावक, स्थानीय र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू सबै अत्यन्तै खुसी छन् ।

तीब्र इच्छा शक्ति भए कुनै पनि काम असम्भव भन्ने नहुने अध्यक्ष सुनार बताउँछन् । ‘गजेन्द्र सर आएपछि विद्यालयको अवस्था सुध्रिएको छ ।’ उनी भन्छन्, ‘अहिले सबैले हाम्रो विद्यालयलाई विश्वास गरेर नै निजी विद्यालयका विद्यार्थी हाम्रोमा पढ्न आएका छन् ।’

विद्यालय परिसर सफा छ, प्राङ्गणमा गजेन्द्र सर आफैं सफा गर्न पुग्छन् । प्रत्येक कक्षामा गएर विद्यार्थीको हालखबर बुझ्ने, विद्यालय नआएको भए किन नआएको भनेर सोद्ने गरेको विद्यालयले जानकारी दियो ।

पहिला अभिभावकले ऋण गरेर भएपनि निजी विद्यालयमा नै पढाउँथे तर अहिले अवस्था फरक छ । गजेन्द्र सरको विद्यालयमा पढाउनका लागि अभिभावकको भिड लाग्ने गरेको छ । विद्यालयमा पूर्वाधारको अभावका कारण आएका जति बालबालिकालाई भर्ना गर्न नसकिएको अध्यक्ष सुनारले बताए ।

सधैं स्वयंसेवक

८ वर्षअघि सुरुमा ३ महिनाको लागि स्वयंसेवकका रुपमा शिक्षण गर्न आएका गजेन्द्र सर अहिले पनि स्वयंसेवकका रुपमा नै कार्यरत छन् । उनलाई कहिलेकाँही खर्चका रुपमा विद्यालयले केही पैसाको व्यवस्था गरे पनि पारिश्रमिकका रुपमा भने उनले एक पैसा पनि लिएका छैनन् ।

सधैं बालबालिकाकै चिन्ता

फेरी बालबालिका पहिलाकै अवस्था पुग्छन् भनेर उनले विद्यालय छाड्न सकेका छैनन् । आफू विद्यालय छोडेर जाँदा विद्यालयको अवस्था फेरि पुरानै अवस्थामा फर्किने हो कि भन्ने चिन्ता उनलाई लागिरहेको छ । ‘आफू छोड्दा (जाँदा) विद्यालयको अवस्था फेरि पुरानै अवस्थामा फर्किने हो कि भन्ने चिन्ताले सताउँछ ।’ उनले भने, ‘आफू जन्मेको गाउँका नानीबाबुको भविष्य अन्योल देखेपछि केही महिनाको लागी सेवा गरौँ भन्ने उद्देश्ले आएको थिए, दिन महिना हुँदै ८ वर्ष पुगिसक्यो फुत्किने बाटो मिलेकै छैन ।’

वादी र जनजाति समुदाय बस्ने उक्त गाउँमा त्यो समय उच्च शिक्षा हासिल गरेका गजेन्द्र राना मात्रै थिए । काठमाडौँ बसेर ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनले आफ्नो क्षेत्रमा प्रचुर रोजगारीको अवसर हुँदाहुँदै पनि आफ्नो गाउँको दयनीय अवस्थाको सामुदायिक विद्यालय सुधार्ने सङ्कल्प लिए र सुधारे पनि ।

‘एक व्यक्तिले चाँहे परिवर्तन नहुने भन्ने केही रहेनछ, गजेन्द्र सरले हामीलाई नसोचेको उपलब्धि प्रदान गर्नु भएको छ ।’ गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विकले भनिन, ‘उहाँको सहयोगमा विद्यालयमा अहिले कक्षा ८ सम्म पढाउन सक्ने भएका छौँ ।’

सधैं बालबालिकाकै चिन्ता

पछिल्लो समय गजेन्द्र सरको शिक्षण पेसाबाट नमुना बनेको सामुदायिक विद्यालयमा अहिले देश–विदेशका विभिन्न संघसस्थाहरूबाट सहयोग आउनेक्रम बढेको छ । नेपाली समाज लुबुकले टेक्सास युएसएको चार लाख फण्डमा ईसीडी कक्षा निर्माण गरिएको छ । त्यसैगरी ब्रिटिस गोर्खा आर्मीहरुको सात लाख सहयोगमा विद्यालय कम्पाउण्डमा बास्केटबल खेल मैदान निर्माण भएको छ । एन्फाले अमेरिकामा रहेका एन्फाका पहिलो ब्याजका फुटबल खेलाडीहरूले सङ्कलन गरेको ८ लाख २० हजार रुपियाँँ तथा २ थान ल्यापटप सहयोग गरेका छन् । त्यसैगरी अस्ट्रेलियास्थित वाइ टिमले करिब १ लाख २२ हजार रुपियाँँ सङ्कलन गरेका छन् । दक्षिण कोरियामा रहेको सुर्खेत समाजले पनि १ लाख ११ हजार १११ रुपियाँ सहित अन्य दातृ निकायले समेत सहयोग गरेको विद्यालयले जानकारी दियो ।

I Tech store