
परीक्षा विद्यार्थी जीवनको अविभाज्य अंश हो । परीक्षाले केवल कक्षाकोठामा सिकेका ज्ञानको परीक्षण मात्र गर्दैन; विद्यार्थीको मनोबल, धैर्य, स्थिरता र मानसिक परिपक्वताको परिमापन पनि गर्छ । करियर अर्थात् पेसागत जीवनको निर्माण–यात्रा वा निर्णयमा पनि परीक्षा र यसको नतिजा प्रमुख घटक हुने भएकाले मानव जीवनमा परीक्षाको महत्त्वलार्ई नकार्न सकिँदैन । परीक्षा भनेको ज्ञान मात्र नभई मनको तयारी र धैर्यको मूल्याङ्कन गर्ने आयाम हो । तर, प्रत्येक विद्यार्थीले परीक्षालाई एउटै रूपमा अनुभूत गरेको पाइँदैन । कसैलाई परीक्षा चुनौतीजस्तो लाग्छ त कसैलाई डरलाग्दो घटनाजस्तो । मनोवैज्ञानिक रूपमा सबल विद्यार्थीका लागि भने परीक्षा एक सामान्य प्रक्रिया हो । आफ्नो योग्यता र क्षमता प्रस्तुत गर्ने एक अवसर हो । “परीक्षार्थीको आत्मविश्वास बलियो भए परीक्षा स्वतः सरल र सहज हुन्छ ।” विद्यार्थीका लागि परीक्षा कठिन विषय हो या सरल ? यसको निर्धारण विद्यार्थीले गरेको अध्ययनको मात्राले भन्दा बढी मनको अवस्थाले गर्छ । मन कमजोर भयो भने धेरै पढेर पनि डर, चिन्ता र अस्थिरताका कारण नतिजा घट्छ । तर, मन बलियो भयो भने कठिन विषयवस्तु पनि सहज–बोध भई नतिजा सप्रिन्छ । हरेक विषयको परीक्षाको सफलताको मूल कुञ्जी ‘आत्मविश्वास’ हो ।
परीक्षाको परिभाषा र परिकल्पनालाई साकार पार्ने सहायक तत्त्वहरूमा स्वयम् विद्यार्थी, शिक्षक, पाठ्यपुस्तक, सन्दर्भसामग्री, पाठ्य–लेख्यसामग्रीहरूका साथै कम्प्युटर, मोबाइल, इमेल, इन्टरनेट, गुगल आदि प्राविधिक स्रोत–सामग्रीको भूमिकासम्बन्धी दृष्टिकोण आमरूपमा छर्लङ्ग छ । तर, परीक्षाको नतिजालाई प्रभाव पार्ने अदृश्य पक्षहरूको पनि सावधानीपूर्वक कार्य–अनुशीलन भएन भने अध्ययनदेखि सफलतासम्मको यात्रा अधुरो हुन जान्छ । तसर्थ, आत्मविश्वास, सकारात्मक सोच, परीक्षाबारे परिपक्व दृष्टिकोण, योजनाबद्ध तयारी एवम् निरन्तर अभ्यासको सन्तुलित उपयोग अत्यावश्यक छ । यिनको विश्लेषण यहाँ प्रस्तुत गरिएको छः
विद्यार्थीको आत्मविश्वासः
परीक्षामा सफलताको आधारभूत शक्ति आत्मविश्वास हो । कुनै पनि विद्यार्थीको तयारी कति गहिरो छ भन्ने कुरा केवल अभ्यासपुस्तिकाका पानामा होइन, उसको दृढ सङ्कल्प सहितको मनोबलमा पनि निर्भर हुन्छ । आत्मविश्वासको कमीले पढेको र जानेको कुरा परीक्षामा बिर्सने वा राम्ररी लेख्न नसक्ने अवस्था सिर्जना भइरहेको हुन्छ । उत्सुकतायुक्त आत्मविश्वासबाट अभिप्रेरित भएर आएको विद्यार्थीले चुनौतीलाई डर होइन, अवसरका रूपमा हेर्छ । जरैदेखि पलाएको आत्मविश्वासले मनमा एक किसिमको स्थिरता, स्पष्टता र ऊर्जा भरिदिएको हुन्छ । यो शक्ति मानिसलाई जन्मैदेखि प्राप्त भएर आएको हुँदैन; पुनरावृत्ति, अभ्यास, नवीन सोच र अनुभवबाट क्रमशः आत्मविश्वास निर्माण भइरहन्छ । जस्तै; कुनै विद्यार्थीले आफ्नो कमजोर विषयमा निरन्तर अभ्यास गरेर राम्रोसँग बुझ्न थाल्यो भने त्यस दिनदेखि उसको मनमा “म सक्छु” भन्ने एउटा नयाँ भरोसा जन्मिन्छ । त्यही भरोसा नै उसको सफलताको सोपान हो । आत्मविश्वास भए दिमागको तर्क–शक्ति सक्रिय हुन्छ । ज्ञान र विचारमा स्पष्टता भए लेखन कौशल पनि सहज रूपमा बग्छ । आत्मविश्वास नै परीक्षामा सफलता हासिल गर्ने सर्वोत्तम मानसिक आधार हो ।
सकारात्मक सोचः
तनावलाई शान्तिमा बदल्ने मानसिक अस्त्र सकारात्मक सोच हो । परीक्षा नजिकिँदै जाँदा मनमा अनेकौँ शङ्का उठ्नु स्वाभाविक हो । कहिलेकाहीँ मनमा “यदि मैले सकिनँ भने के होला ?” भन्ने डर उत्पन्न हुन्छ । यस किसिमको डरले मनलाई अशान्त बनाउँछ । त्यसबाट ध्यान भङ्ग हुँदै मनोबल खलबलिन्छ । सकारात्मक सोचले मनको डरलाई सजिलैसँग नियन्त्रणमा राख्छ । सकारात्मक सोच केवल आशावादिता होइन; यो समस्यालाई समाधानतर्फ केन्द्रित गराउने क्षमता हो । कठिन पाठबाट निराश हुने विद्यार्थी तनावमा डुब्छ । तर, “यो कठिन छ, म यसलाई स–साना खण्डमा विभाजन गरेर बिस्तारै बुझ्छु” भन्ने विद्यार्थी समस्यालाई केलाउँदै समाधानतर्पm अग्रसर हुन्छ । यसरी उसले आफ्नो मनलाई हलुका राख्छ । तनाव घटाउने, ध्यान केन्द्रित गराउने र आत्म–विश्वास बढाउने सरल उपाय भनेकै सकारात्मक सोच–विधि हो । यो अवस्था परीक्षा दिइरहँदा समेत अत्यन्त आवश्यक हुन्छ, जहाँ मनको स्थिरताले समग्र प्रस्तुतिलाई निर्धारण गर्छ । अतः सकारात्मक सोचले प्रतिकूलतालाई अनुकूल सम्भावनामा रूपान्तरण गर्दै सफलताको मार्गलाई सार्थक तुल्याउँछ ।
परीक्षाबारे परिपक्व दृष्टिकोणः
परीक्षा के हो ? किन परीक्षा आवश्यक छ ? यी सवाललाई गहिराइमा बुझ्न र बुझाउन सकिएमा विद्यार्थीमा मानसिक परिपक्वता प्रबोधित हुन्छ । बुझाइ सशक्त हुँदै परीक्षा केवल एउटा औपचारिक चरणजस्तो लाग्न थाल्छ । परीक्षाको परिणामलाई मात्र जीवनको सम्पूर्ण मूल्य ठानियो भने त्यसले मनमा अत्यधिक दबाब सिर्जना गर्छ । परीक्षा अनुभवको एउटा कडी हो, एक अवसर हो र निरन्तर प्रक्रिया हो । “विद्यार्थी जीवनमा परीक्षा निकै महत्त्वपूर्ण छ । तर, एउटा परीक्षामा असफल भइयो भन्दैमा जीवन नै असफल हुँदैन । एउटा असफलता पनि सुधार र प्रगतिको अर्को ढोका हो । पढाइ वा सिकाइलाई समयको व्यवस्थापन र सदुपयोगसँग जोड्न सकिएमा कसैले नसोचेको सकारात्मक नतिजा हात पार्न सकिन्छ ।” जुन दिनदेखि परीक्षार्थीले परीक्षासँग सम्बन्धित यी कुराहरू बुझ्न थाल्छ, त्यस दिनदेखि उसको मन हलुका अर्थात् दबाबबाट मुक्त हुन्छ । आत्म–दबाब कम भएको अवस्थामा मात्र सिकाइप्रतिको रुचि बढ्छ र मानसिक स्थिरता मजबुत हुन्छ । दृढतासहितको मिहिनेत र परीक्षाको सफलताले जीवनको धार नै बदलिदिएका उदाहरणहरू हाम्रै वरिपरि अनेक हुन्छन् । यसबाट बुझिन्छ कि परीक्षाबारे स्पष्ट दृष्टिकोण बनाएर योजनाबद्ध तयारीमा जुट्नेहरू सफलताका हकदार हुन् । यस प्रक्रियाले विद्यार्थीलाई मनोवैज्ञानिक रूपमा सुरक्षित बनाउँछ । जब परीक्षा ‘भय’ होइन, ‘प्रक्रिया’ बन्छ, तब परिणाम पनि सजिलैसँग सुधारिन्छ । पढाइका स–साना सुधारहरूको योग नै उच्च सफलता वा उत्कृष्ट नतिजा हो ।
योजनाबद्ध तयारीः
परीक्षा कठिन लाग्ने प्रमुख कारणहरूमध्ये एक अव्यवस्थित पढाइ हो । धेरै विद्यार्थीहरूले तयारी त गरिरहेका हुन्छन्, तर योजनाविहीन रूपमा । अचानक जे मनमा आयो, त्यही विषय पढ्नाले उपलब्धि हँदैन । यसो गर्दा कुन विषय कति पढियो, कति छैन, कुन भाग कमजोर छ भन्ने स्पष्ट हुँदैन । योजनाबद्ध तयारीले दिमागमा सिकाइसम्बन्धी ‘मानसिक नक्सा’ बनाउँछ । कुन विषय, कुन दिन, कति समय, कस्तो विधिले पढ्ने भन्ने योजनाका आधारमा अध्ययन गर्ने हो भने राम्रो नतिजा प्राप्त हुन्छ । यसले विद्यार्थीलाई मार्गदर्शनका साथ–साथै सुरक्षा भाव र आत्मबल प्रदान गर्छ । समयतालिका बनाउने, विषयहरूलाई साना–साना खण्डमा बाँड्ने, कमजोर पक्ष पहिचान गर्ने र नियमित पुनरावृत्ति गर्ने बानीले मनलाई व्यवस्थित बनाउँछ । जस्तै; एक विद्यार्थीले “आज पाठ–१ पढ्ने, भोलि त्यसको अभ्यास गर्ने, पर्सि नोट बनाउने, निपर्सि आफूले गरेको काम शिक्षकलाई बुझाएर पृष्ठपोषण लिने” जस्ता योजना बनायो भने उसको तयारी सुव्यवस्थित हुन्छ र मन पनि तनावमुक्त रहन्छ । योजनाबद्ध तयारीका साथ गरिएको अध्ययनबाट मात्रै आफ्नो पढाइका बारेमा मनमा स्पष्टता आउँछ । त्यही स्पष्टताले परीक्षालाई सहज बनाउँदै सफलता सुनिश्चित गर्ने मार्ग प्रशस्त गर्छ ।
नियमित अभ्यासः
आफूले कहिल्यै अभ्यास नगरेका अपरिचित प्रश्न र प्रश्नपत्रका ढाँचाले विद्यार्थीको मनमा परीक्षाप्रति नकारात्मक दृष्टिकोण ल्याउँछ । परीक्षा भन्नेवित्तिकै डराउने अनेक कारणहरूमध्ये एक प्रमुख कारण नियमित अध्ययन–अभ्यासकै कमी हो । परीक्षामा जति अपरिचित प्रश्न देखिन्छन्, परीक्षार्थीको मनमा उति नै तनाव बढ्छ । तर, अभ्यासले अपरिचयलाई ‘परिचय’ मा बदलिदिन्छ र परीक्षा सजिलो भइदिन्छ । परीक्षामा पूर्ण सफलता प्राप्तिका लागि अघिल्ला वर्षहरूका प्रश्न हल गर्नु, अभ्यास परीक्षा (मोक टेस्ट) मा सहभागी हुनु, समय मिलाएर लेखन अभ्यास गर्नु आदि निर्माणात्मक तरिकाबाट विद्यार्थीले पहिलेदेखि नै निर्णयात्मक परीक्षालाई अनुभूत गरिसकेको हुनुपर्छ । प्रयाप्त अभ्यासका साथ परीक्षामा सहभागी हुँदा नयाँपन कम भई डर पनि कम हुन्छ । नियमित अभ्यासबाट मन, दिमाग र हात; यी तिनैलाई उचित समायोजित हुन मद्दत पुगेको हुन्छ । उत्तर सोच्ने, लेख्ने र समय व्यवस्थापनका साथ पूरा गर्ने क्षमतामा सुधार आउँछ । विषयवस्तुको भरपुर अभ्यास गर्ने विद्यार्थीहरू परीक्षा हलमा अनुमान होइन, अनुभव लिएर प्रवेश गर्छन् । यही अनुभवले मनलाई ढुक्क बनाउँछ । “यो प्रश्न त मैले धेरैपटक गरिसकेको छु, सजिलै गर्न सक्छु” भन्ने दृढविश्वासका साथ परीक्षा दिनु नै अपार सफलताको द्योतक हो । अभ्यासले ज्ञान र सिपको स्तरवृद्धि गर्ने मात्र होइन, समग्र मनोबल, लेखाइको गति र आत्मविश्वास पनि बढाउँछ । त्यसैले मनोवैज्ञानिक रूपमा परीक्षार्थीको सफलताका लागि सबैभन्दा प्रभावकारी अस्त्र अभ्यास हो । अभ्यास गर्ने बानीले नै मानिसलाई सफलताको शिखरसम्म पु¥याउँछ ।
निष्कर्षः
परीक्षामा सफलता प्राप्त गर्नु केवल प्रश्नको उत्तर लेख्नु मात्र होइन, लेख्नुभन्दा पहिले मानसिक रूपले आफूलाई तयार पार्नु हो । बलियो मन भएका विद्यार्थीहरूले कठिनाइलाई चुनौतीमा बदल्छन् । डरलाई कौशलमा रूपान्तरण गर्छन् । र, आफ्ना कमजोरीलाई सुधारको अवसरका रूपमा हेर्छन् । मन बलियो भयो भने मात्र परीक्षा सरल, व्यवस्थित र आत्मविश्वासी यात्रामा परिणत हुन्छ । परीक्षा केवल कागजमा अङ्क ल्याउने खेल होइन; विद्यार्थीको अनुशासन, मनोबल, मानसिक परिपक्वता र जीवनोपयोगी सिर्जनाको कडी हो । अभ्यासका अनेक चरण पार गरेर मनलाई बलियो बनाउन सके परीक्षा आफैँ सहज बन्छ । मान्छेका जीवनका सपनाहरूको गन्तव्यमा प्रयासका चरण स्पर्श गर्दै सफलतासम्म पुग्ने माध्यम परीक्षा हो । परीक्षाका यिनै नालीबेलीहरू पछ्याउँदै धैर्य र सावधानीपूर्वक परीक्षा–सोपान पार गर्नु बुद्धिमानी हो ।




