Ranakalin Shiksha

एउटै कोठामा चार कक्षा

८५ रुपैयाँ पाथीमा गिट्टीबालुवा खरिद गरी स्थानीयले बोकेर तीनकोठे भवना निर्माण थाले पनि त्यो पूरा हुन सकेको छैन 

गुणस्तर र व्यावहारिक शिक्षाको टड्कारो आवश्यकता महसुस भइरहेको समयमा हेटौंडा उपमहानगरपालिकाभित्रैको एक विद्यालयमा चारवटा कक्षाका विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य छन् । 

मकवानपुरको हेटौंडा–१९ शेरशेरस्थित भैरुङदेवी प्राविमा एउटै कोठामा बालविकास केन्द्रदेखि ३ कक्षासम्म पढ्दै विद्यार्थी । हेटौंडा–१९ शेरशेरस्थित भैरुङदेवी प्राथमिक विद्यालयमा एउटै कोठामा बालविकास केन्द्रदेखि ३ कक्षासम्मका विद्यार्थी पढ्ने गरेका हुन् । ०६४ मा स्थापना भएको विद्यालयमा ३ कक्षासम्म मात्र पढाइ हुन्छ । एकजना राहत दरबन्दीको शिक्षक रहेको विद्यालयमा कक्षाकोठाको अभावमा सबै विद्यार्थीलाई एउटै कक्षामा राखेर पठनपाठन भइरहेको हो । राहत शिक्षक नर्मदा सुवेदीले स्थापनाकालदेखि नै विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेकी छन् ।

विद्यालयमा ईसीडी र कार्यालय सहयोगीसहित तीनजना मात्र कर्मचारी छन् । ‘विद्यालयको स्थापनादेखि छ वर्षसम्म म एक्लैले पढाएँ । ईसीडी शिक्षक र विद्यालय सहयोगी उपलब्ध भएपछि भने केही सहज भयो । तर, कक्षा कोठा अभावमा स्थापनाकालदेखि नै एउटै कोठामा कक्षा सञ्चालन गरिरहेका छौं ।’ प्रधानाध्यापक सुवेदीले विद्यालय सहयोगीले पनि आपत्कालीन अवस्थामा विद्यालयमा पढाउने गरेको बताइन् ।

सुवेदीका अनुसार कक्षा–कोठासँगै विद्यालयमा आवश्यक डेस्क, बेन्च तथा बोर्डहरूको समेत अभाव रहेको छ । ‘शिक्षक, भौतिक संरचना लगायतको अभावमा सबै विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउन बाध्य छौँ, यो विषयमा हामीले स्थानीय निकायदेखि शिक्षासँग सरोकार राख्ने सबैलाई जानकारी गराइसकेका छौं ।

तर, सुनुवाइ हुन सकेको छैन,’ प्रधानाध्यापक सुवेदीले भनिन्, ‘पास फेल जे भए पनि एउटै कोठामा बस्नुपर्ने बाध्यता विद्यार्थीलाई छ, हामीलाई पनि कक्षा व्यवस्थापनमा समस्या छ ।’ उनले एउटा कोठामा चारवटा कक्षा सञ्चालन भएपछि विद्यार्थीको सिकाइ क्रियाकलाप कमजोर हुने गरेको बताइन् । ‘विद्यार्थीले के पढ्ने हामीले कसरी पढाउने ?’ उनले भनिन्, ‘ एकदमै समस्या छ, अब यो समस्या खै कसले पो समाधान गर्ने हुन ?’

पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले विद्यालयमा तीनकोठे भवन निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराएको भए पनि अझै कक्षाकोठा फिनिसिङ भइसकेको छैन । ‘पहिलो सानो कोठामा कक्षा सञ्चालन गरिरहेका थियौं । अहिले निर्माणाधीन भवनमा भुइँ ढलान गरेर कक्षा सञ्चालन गरिरहेका छौं । बाँकी दुईवटा कोठाको भुइँ ढलानसमेत गर्न सकिएको छैन,’ प्राधानाध्यापक सुवेदीले भनिन्, ‘नयाँ भवन बन्न अझै केही समय लाग्ने देखिन्छ । भवन बनेर मात्र भएन । आवश्यक डेस्क, बेन्च, बोर्डलगायत सामग्री पनि चाहियो । त्यो पनि अझै उपलब्ध हुने छाँट छैन ।’

८५ रुपैयाँ पाथीमा गिट्टीबालुवा खरिद गरी स्थानीयले बोकेर तीनकोठे भवन निर्माणको काम अन्तिम चरणमा पुर्‍याएका छन् । उक्त स्थानमा विद्यालय निर्माणका लागि आवश्यक सामग्री लैजान धेरै कठिनाइ छ । ‘भवनको काम सम्पन्न हुँदा नयाँ शैक्षिकसत्र लाग्ने देखिन्छ,’ उनले थपिन्, ‘विद्यार्थीलाई चिसो भुइँमा राखेर पढाउने कुरा पनि भएन । बाध्य भएर एउटै कोठामा राखेर पढाइरहेका छौं ।’ भर्खरै ‘क, ख...’ सिक्दै गरेका बालबालिका र २/३ कक्षामा पुगिसकेकालाई एउटै कोठामा राख्दा सिकाइमा समेत समस्या हुँदै आएको सुवेदीले बताइन ।

विद्यालयमा ५० जना विद्यार्थी रहेका छन् । प्रधानाध्यापक सुवेदी र ईसीडी शिक्षिका निरमाया थिङ र विद्यालय सहयोगी पल्मो रुम्बा विद्यालय व्यवस्था समिति अध्यक्षकै घरमा बसेर विद्यालय आउजाउ गर्छन् । सुवेदी हेटौंडा–५, भैरबरोड घर भए पनि आउजाउ गर्न नभ्याउने भएका कारण त्यहीँ बस्न बाध्य भएको बताइन् । हेटौंडाबाट उक्त विद्यालय पुग्न पाँच घण्टा समय लाग्छ । विद्यालयका विद्यार्थीहरू तीन कक्षा सकिएपछि थप कक्षा पढ्दैनन् । उक्त स्थानबाट नजिकैको कालिका मावि पुग्न दुई घण्टाभन्दा बढी समय लाग्ने भएका कारण विद्यार्थी थप कक्षा नपढ्ने गरेको सुवेदीले बताइन् । ‘एसईई गरेको विद्यार्थी गाउँभरिमा दुई जना मात्रै छन्,’ उनले भनिन् ।

मकवानपुरमा १५५ ड्रपआउट

गत शैक्षिक सत्रमा मकवानपुर जिल्लाका कूल विद्यार्थी संख्याको १५ प्रतिशत (१२ हजार २ सय २० छात्रछात्रा) ले बिचैमा पढाइ छाडेका (ड्रपआउट भएका) छन् ।

शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरका अनुसार शैक्षिक सत्र ०७५ मा कक्षा १ देखि १० सम्मकै कूल १५ प्रतिशतले बीचमै विद्यालय छाडेका हुन् । एकाईका अधिकृत कृष्णप्रसाद पौडेलले जिल्लाका ५ सय ४ वटा सामुदायिक विद्यालय र थोरै निजी विद्यालयका विद्यार्थीले पढाइ छाडेको जनाए । ‘बिचमै पढाइ छाड्नेहरूमा धेरै सामुदायिक विद्यालयका विद्यार्थीहरू रहेका छन्,’ उनले भने, ‘निजी विद्यालयमा ड्रपआउट हुने विद्यार्थी भने न्यून छन् ।’

गत शैक्षिक सत्रमा कक्षा १ मा १ हजार ९ सय ३६ , कक्षा २ मा १ हजार ४ सय ४०, कक्षा ३ मा १ हजार २ सय ५७, कक्षा ४ मा १ हजार ३ सय २०, कक्षा ५ मा १ हजार १ सय ३३ जनाले पढाइ छाडेका छन् ।

यसैगरी, कक्षा ६ मा १ हजार ३ सय ११, कक्षा ७ मा १ हजार २ सय ६३, कक्षा ८ मा १ हजार २ सय ४०, कक्षा ९ मा १ हजार १ सय ५५ र कक्षा १० मा १ सय ६५ जनाले गतवर्षमा शैक्षिक सत्रको बीचमै पढाइ छाडेको पौडेलले बताए । मकवानपुरमा ड्रपआउट हुने विद्यार्थीमध्ये ५ हजार ६ सय ३६ छात्र छन् भने ६ हजार ५ सय २४ जना छात्रा छन् । जसमध्ये हेटौंडा उपमहानगरपालिकामा ०७५ मा कक्षा १ देखि १० कक्षासम्म २ हजार ८ सय ६७ जना विद्यार्थी ड्रपआउट भएका छन् । ड्रपआउट हुनेमा १ हजार २ सय ६५ जना छात्रा र १ हजार ६ सय २ जना छात्र छन् । यसैगरी, थाहा नगरपालिकामा ५ सय ५१ जना छात्रा र ६ सय ३४ जना छात्र, बाग्मती गाउँपालिकामा ७ सय ४२ जना छात्रा र ७ सय ९६ जना छात्रले बीचमा नै पढाइ छाडेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाईका अनुसार बकैया गाउँपालिकामा ९ सय २१ छात्रा र १ हजार ६५ छात्र, भीमफेदी गाउँपालिकामा २ सय ११ छात्रा र २ सय ४३ जना छात्र, इन्द्रसरोवर गाउँपालिकामा छात्रा १ सय ७२ र १ सय ५७ जना छात्र, कैलाश गाउँपालिकामा छात्रा ५ सय ३ जना र ५ सय ३१ जना छात्र, मकवानपुरगढी गाउँपालिकामा छात्रा २ सय ९२ जना र छात्र ३ सय ६२ जना, मनहरी गाउँपालिकामा छात्रा ५ सय ८१ जना र छात्र ६ सय ८७ जना, राक्सिराङ गाउँपालिकामा छात्रा ४ सय २१ जना र छात्र ५ सय १० जना विद्यार्थी ड्रपआउट भएका छन् ।

मकवानपुर जिल्लाको दस स्थानीय तहबाट सबैभन्दा कम कक्षा १० मा गतवर्ष ९८ जना छात्रा ६७ जना छात्र गरी १ सय ६५ जना ड्रपआउट भएका थिए ।

सबैभन्दा बढी कक्षा १० मा बाग्मती गाउँपालिमा ८५ जना र हेटौंडा उपमहानगरमा ५० जना, मकवानपुर गढीमा ६, मनहरीमा ७, राक्सिराङमा ३ जना र थाहा नगरमा ११ जना ड्रपआउट भएका थिए । कैलाश, बकैया, र इन्द्रसरोवरमा गापामा भने १० कक्षामा ड्रप आउट शून्य रहेको छ । सबैभन्दा बढी जिल्लामा कक्षा १ मा ड्रपआउट भएको छ ।

कक्षा १ मा १ हजार ९ सय ३६ विद्यार्थी २०७५ सालमा ड्रपआउट भएका छन् । कूल ड्रपआउट भएका संख्यामध्ये कक्षा १० मा १.३५ प्रतिशत र कक्षा १ मा १५.८४ प्रतिशत ड्रपआउट भएका छन् । करिब ८१ लाख विद्यार्थी मकवानपुर जिल्लामा कक्षा १ देखि १० कक्षासम्म अध्ययनरत छन् । तीमध्ये गत शैक्षिक सत्रमा १५.८४ प्रतिशत ड्रपआउट भएका छन् ।

‘ड्रपआउट हुने विद्यार्थीको संख्या वार्षिक १२ हजार हुनु यो राम्रो संकेत होइन,’ शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख लीलानाथ गौतमले भने । आर्थिक रूपले अत्यन्त कमजोर, विद्यालय टाढा, खाद्य असुरक्षा र अभिभावकमा चेतनाको कमीका कारण ड्रपआउट हुने गरेको शिक्षा विकास समवन्वय एकाई मकवानपुरका अधिकारीहरूको ठम्याइ छ ।

 भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।