गलकोट, ३० जेठ (रासस): धौलागिरिको एक मात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्माण गर्न लागेको सुविधा सम्पन्न छात्रावास भवनको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ ।
साविक धौलागिरि अञ्चलका छात्राहरुलाई क्याम्पस अध्ययनका लागि आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले निर्माण गर्न थालिएको छात्रावास भवनको त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले शिलान्याश गर्नुभएको हो ।
क्याम्पसले हाल सामान्य रुपमा केही छात्रहरुलाई मात्र आवासीय सेवा दिने गरेको थियो । अहिले क्याम्पसले पहिलोपटक छात्राहरुलाई लक्षित गरी छात्रावास सञ्चालन गर्नका लागि भवन निर्माण गर्न लागेको धौलागिरि बहुमुखी क्याम्पसले जनाएको छ ।
पाँच तलाको भवन बनाउने लक्ष्य रहेको छात्रावासको यो वर्ष पहिलो तला मात्र निर्माण गरिने क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्यायले बताउनुभयो । हाल त्रिभुवन विश्वविद्यालयमार्फत आर्थिक वर्ष २०७५÷७६ मा विनियोजित बजेट रु ५४ लाख ९८ हजारले पहिलो तला निर्माण गरिने जनाएको छ ।
उपकुलपति खनियाले विद्यार्थीको शैक्षिक गुणस्तर कायम गर्नका लागि आवासीय सुविधाले ठूलो महत्व राख्ने भन्दै लक्ष्यअनुरुप निर्माण सम्पन्नका लागि थप बजेटको निकासाका लागि सक्दो सहयोग गने प्रतिबद्धता जनाउनुभयो ।
लक्ष्यअनुरुपको पाँचतले छात्रावास निर्माण गर्न करीब रु पाँच करोड खर्च लाग्ने क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिनुभयो । धौलागिरि बहुमुखी क्याम्पसमा चारवटा सङ्कायमा झण्डै एक हजार ७०० विद्यार्थी अध्ययनरत छन् ।