Bachelors Portal

कृषि तथा वन विज्ञान विश्वविद्यालयको भवन शिलान्यास

कृषि तथा वन विज्ञान विश्वविद्यालय भवनको आज यहाँ एक समारोहबीच शिलान्यास गरिएको छ । उक्त भवनको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा उहाँले गुणस्तरीय एवं प्राविधिक शिक्षाको विकासमा प्रदेश सरकारले जोड दिएको उल्लेख गर्दै शिक्षाको विकासमा कुनै पनि किसिमको भेदभाव र पक्ष–विपक्ष गर्न नहुने बताउनुभयो ।

कूल रु नौ करोड ८८ लाखको लागतमा निर्माण गरिने उक्त भवन २० कोठासहितको पाँचतले हुनेछ । हेटौँडा उपमहानगरपालिका–१० स्थित फरेष्ट्री कलेजको हातामा करीब दुई कट्ठा जमीनमा सुविधा सम्पन्न भवन निर्माण हुने बताइएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान सङ्काय हेटौँडामा स्नातक तथा स्नातकोत्तर गरी ४२३ र विद्यावारिधिका दुई जना विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा मकवानपुर क्षेत्र नं १ का सांसद तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल, प्रदेश ३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेश ३ का प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीलगायतको उपस्थिति थियो । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर इश्वरीप्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Thuprai - Books and E-books