बागलुङ, २१ असोज (रासस) ः बालबालिकामा गुणस्तरीय शिक्षाको जग बसाल्न यहाँको एक सामुदायिक विद्यालयका पूर्वविद्यार्थीले बालकक्षा सुधार अभियान थालेका छन् । सदरमुकामस्थित विद्यामन्दिर माविका पूर्वविद्यार्थीले बालकक्षाको व्यवस्थापकीय सुधारमा लगानी गरेका हुन् ।
अभियानको अगुवाइ सुवासकुमार राजभण्डारी, मुकेश राजभण्डारी, राजेन्द्र आचार्यलगायतले गरेका छन् । अभियानमा देश विदेशमा रहेका पूर्वविद्यार्थीबाट सहयोग आउने क्रम शुरु भएको छ । हालसम्म रु दुई लाख सङ्कलन भएको पूर्वविद्यार्थी मुकेश राजभण्डारीले जानकारी दिनुभयो । विसं १९९७ मा खुलेको विद्यामन्दिर मावि जिल्लाकै जेठो विद्यालय हो । मावि तहसम्म पढाइ हुने यस विद्यालयमा १४०० विद्यार्थी अध्ययनरत छन् ।
शुरुमा पूर्वविद्यार्थी निर्देश राजभण्डारीले आफ्नो जन्मदिनको अवसरमा रु २५ हजार प्रदान गर्नुभएको थियो । “आफूले पढेको विद्यालयमा केही गर्ने सोच आएपछि बालकक्षा सुधारमा लाग्यौँ”, राजभण्डारीले भन्नुभयो । सानो प्रयास र लगानीमा पनि व्यवस्थापकीय सुधारको काम गर्न सकिने विश्वास पूर्वविद्यार्थीमा छ ।
भौतिक सुधारदेखि बालबालिकाको पोशाक, शैक्षिक सामग्रीमा यो वर्ष रु छ लाखको योजना अघि बढेको छ । विद्यालय आउने बानी पार्न र सिकाइ बढाउन बालबालिकालाई निःशुल्क खाजासमेत व्यवस्था गरिएको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले यसै साता बालबालिकालाई खाजा वितरण गर्नुभएको थियो ।
पूर्वविद्यार्थीसमेत रहनुभएका श्रेष्ठले खाजा व्यवस्थापनमा दुई वर्षसम्म मासिक रु एक हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्वविद्यार्थीको पहलमा बालकक्षा सुधारको काम अघि बढ्नु सह्रानीय रहेको विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले बताउनुभयो ।
५० बाललबालिका अट्ने गरी कक्षा कोठा व्यवस्थापन गरिएको छ । सिकाइको गुणस्तर बढाएर थप बालबालिका आकर्षित गर्ने र उनीहरूलाई टिकाइराख्ने विद्यालयको योजना छ । पूर्वविद्यार्थीकै पहलमा निःशुल्क खाजासँगै पोशाक, शैक्षिक सामग्री र शिक्षक व्यवस्थापनको काम पनि अघि बढेको छ ।
बालकक्षामा प्रायः गरीब र विपन्न वर्गका बालबच्चाले पढ्ने हुँदा सहयोगको खाँचो रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासकुमार राजभण्डारीले बताउनुभयो । “सामुदायिक विद्यालयको बालबालिकाले पनि गुणस्तरीय शिक्षाको अवसर पाउन् भनेर अभियान थालेका हौँ”, उहाँले भन्नुभयो । बाल विकास केन्द्रमा अहिले २८ बालबालिका छन् । तीमध्ये अधिकांश किसान, मजदुर र न्यून आय भएका परिवारबाट आएका हुन् ।