Ranakalin Shiksha

आफैं प्रधानाध्यापक, आफैं कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगी

अपनत्वको अभाव । व्यवस्थापनमा स्थानीय समुदाय तथा उत्तरदायित्व बोकेको स्थानीय तहको उदासिनताका कारण महोत्तरीको मनरा शिसवा नगरपालिकाको वडा नं. ९ मा रहेको हनुमानदत्त विश्वनाथ जनता प्राथमिक विद्यालय विगत लामो समयदेखि एउटै शिक्षकका भरमा चलिरहेको छ ।

मजदुर, विपन्न तथा दलित विद्यार्थीको बाहुल्यता रहेकोे सो विद्यालय व्यवस्थापनमा सरोकारवालाको ध्यान नगएका कारण एक कक्षामा ६१, दुई कक्षामा ७४, तीन कक्षामा ५३, चार कक्षामा ५५ र पाँच कक्षामा ६९ गरी जम्मा ३३३ छात्रछात्रालाई विद्यालयका प्रधानाध्यापक तीर्थनाथ झा बिरामी छन् । कहिले काही विद्यालय आउँछन् । अधिकांश समय शिक्षक  रामयाद राउतले अध्यापन गराउँदै आएका छन् । सो विद्यालयमा बालकक्षामा २० जना बालबालिका छन् ।

देशमा राजनैतिक व्यवस्था परिवर्तन भए पनि सो विद्यालयको अवस्था २०४४ साल देखि उस्तै छ । ४४ सालदेखि नै शिक्षकराउतले आफैं शिक्षक आफैं कार्यालय सहयोगी आफैं व्यवस्थापक बनेर विद्यालय चलाइरहेका छन् । नेपाल भारतको दशगजा क्षेत्रको १० मिटर मात्रै उत्तर किनारामा मुसहर बस्तीको छेउमै अवस्थित सो विद्यालयमा २०४४ सालदेखि नै आफैं प्रधानाध्यापक, आफैं कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगीसमेत भएर काम गर्दैै आएको शिक्षक रामयाद राउतले बताए ।

सो विद्यालयमा बालकक्षामा २० जना बालबालिका रहेका छन् । बालकक्षामा एक जना सहजकर्ता कार्यरत रहेको नगर शिक्षा शाखामा कार्यरत एक अधिकृतले बताए । ती अधिकृतका अनुसार  सो विद्यालयमा तीन जना  शिक्षकको दरबन्दी छ ।  झा सर दीर्घ रोगी छन् । एक दरबन्दी रिक्त छ । 

विद्यालयमा व्यवस्थापन समिति पनि छैन । गठन गर्न समुदाय नै सक्रिय हुँदैन । विद्यालय झनझन लथालिंग हुँदै गइरहेको छ । सो विद्यालयले केही समय अगाडि थोरै पैसामा एक जना स्वयम् सेवक शिक्षक राखेको भएपनि विद्यालयले पैसा दिन नसकेपछि ती शिक्षकले काम गर्न मानेन् । पालिकाले आर्थिक सहयोग नगर्दा  समस्या भएको स्थानीयको गुनासो छ । स्थानीयले प्रधानाध्यापक लामो समयदेखि बिरामी भए पनि राजनैतिक दम्भका कारण शिक्षा शाखा केही गर्न नसक्ने  गुनासो गरे । विद्यालय व्यवस्थापनको पूर्ण जिम्मेबारी पाएको स्थानीय सरकारले कानमा तेल हाल्दा आफ्ना छोराछोरीले उचित शिक्षादिक्षा नपाएको स्थानीय बयोबृद्ध बुधवा सदाले बताए ।

२०१० सालमा स्थापित त्यस क्षेत्रकै पहिलो विद्यालय अहिले देशमा तीन तहको सरकार भए पनि कसैको नजरमा पर्न सकेको छैन । भवन, कक्षाकोठा, शौचालय, खानेपानी अभाव र खुला आकाशमुनि टुटे भत्केको कोठाको बरण्डामा वर्षौंदेखि शिक्षा ग्रहण गर्न ससाना बालबालिका बाध्य रहेका छन् भने शिक्षक एवं  शिक्षक राउतले नचाहेर पनि सोही परिस्थितिमा पठनपाठन गराउन विवश रहेको दुखेसो व्यक्त गरे ।

त्यस विद्यालयमा स्थापनाकालमै निर्मित पुराना जीर्ण तीन कोठा मात्रै छन् । सोही कोठामा प्रधानाध्यापक राउतले कक्षा सञ्चालन र कार्यालय सञ्चालन गरिरहेका छन् । विद्यार्थीको चापले गर्दा पठनपाठनमा व्यवधान, कार्यालय सञ्चालनमा समस्या र खाजा पकाउने काममा समेत बाधा अवरोध हुने भएपछि त्यहाँ अध्ययनरत ७० प्रतिशत विद्यार्थीलाई कोठा बाहिर बनाइएको चिसो बरण्डामा बसाएर पढाउनुपर्ने बाध्यता रहेको  शिक्षक  राउतले बताए ।

करिब पाँच कठ्ठा क्षेत्रफल रहेको त्यस विद्यालयमा जति पनि कक्षाकोठा बनाउन मिल्ने पर्याप्त जग्गा रहेको, खुला चौर छ । शौचालय, खानेपानीलगायतका सबै सुविधा जडान गर्न पर्याप्त आधार रहे पनि कसैले चासो नदेखाउँदा समस्या रहेको स्थानीय सदाले बताए ।

प्रदेश २ मा नै शिक्षक अभाव

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्यांक अनुसार नेपालका कुल सामुदायिक विद्यालयमा कार्यरत स्थायी, अस्थायी र राहत तर्फका समेत गरी सम्पूर्ण शिक्षकको हिस्सा क्रमशः ६५.५ प्रतिशत, ६.९ प्रतिशत र २७.६ प्रतिशत रहेको छ । प्रदेश नं.२ मा सामुदायिक विद्यालयमा कार्यरत स्थायी, अस्थायी र राहततर्फका समेत गरी सम्पूर्ण शिक्षकको हिस्सा क्रमशः ६४.९, ६.७ र २८.४ प्रतिशत रहेको छ । तर, माध्यमिक कक्षा (११–१२) मा स्थायी शिक्षक शून्य रहेको प्रदेश सरकार अर्थ मन्त्रालय प्रदेश नं. २ ले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७–७८ मा उल्लेख गरिएको छ ।

विद्यालय, विद्यार्थी र शिक्षक अनुपात

शैक्षिक सत्र २०७७ मा आधारभत तह (१–५), आधारभूत तह (६–८) र माध्यमिक तह (९–१०) सबैमा प्रतिविद्यालय विद्यार्थी अनुपात नेपालको कुल अनपातु भन्दा प्रदेश नं. २ मा बढी रहेको छ । प्रदेश २ को माध्यमिक तह (११–१२) मा यस्तो अनुपात १ः१६ः१ रहेको छ भने आधारभूत(१–५), आधारभूत (६–८) र माध्यमिक (९–१०) मा यस्तो अनुपात क्रमशः २.१०ः१, १.७५ः१ र १.८१ः१ रहेको छ ।

प्रदेश २ को शैक्षिक अवस्था

प्रदेश सरकार अर्थ मन्त्रालय प्रदेश नं. २ ले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७–७८ अनुसार प्रदेश दुईमा ४ हजार १६४ विद्यालय छन् । देशैभरका कुलविद्यालय ३५ हजार ६ सय ७४ भित्र यो प्रदेशमा ११.७ प्रतिशत विद्यालय रहेका छन्। नेपालको आधारभूत कक्षा १ देखि ८ सम्म अध्यापन हनुे विद्यालय ३५ हजार ६४४ मध्ये प्रदेश नं.२ मा ४ हजार १६८ करिब ११.७ प्रतिशत रहेका छन् ।

त्यस्तै माध्यमिक कक्षा ९ देखि १२ सम्म अध्यापन हुने विद्यालय ११ हजार १ सय ८ मध्ये प्रदेश नं. २ मा १ हजार २८ विद्यालय अर्थात् करिव ९.३ प्रतिशत रहेका छन् । प्रदेशको साक्षरता प्रतिशत ४९.५ प्रतिशत मात्र छ । यो प्रदेशमा कक्षा १–१२ सम्म १२ लाख ५५ हजार ६३५ विद्यार्थी अध्ययनरत छन् ।

प्रदेश २ मा ६–८ विद्यार्थी कम

शैक्षिक वर्ष २०७७ मा प्रदेशगत रूपमा हेर्दा आधारभूत तह (कक्षा १–५) को खुद भर्नादर सबै प्रदेशमा ९६.७ प्रतिशतभन्दा माथि रहेको छ।

आर्थिक सर्वेक्षणका अनुसार आधारभूत तह (कक्षा ६–८) मा औषत खुद भर्नादर ९१.९ प्रतिशत रहेको र प्रदेश नं. २ मा यस्तो दर ७४.७ प्रतिशत मात्र रहेकोले यस प्रदेशमा तोकिएको उमेर समूहमा कक्षा ६ देखि ८ पढने विद्यार्थी कम रहेको देखिएको हो ।

शैक्षिक सत्र २०७७ मा देशभरका विद्यालयको आधारभूत तह कक्षा १–८ मा विद्यार्र्थी संख्या ५५ लखा ५५ हजार ३७९ मध्ये प्रदेश नं २ मा १० लाख ५४ हजार ५८२ आधारभूत तह (१–८) मा माध्यमिक तह कक्षा ९–१२ मा कुल १७ लाख ४४ हजार ६ सय ८५ विद्यार्थी रहेकोमा प्रदेश नं. २ मा यस्तो अनुपात १३.७ प्रतिशत रहेको छ ।

त्यसैगरी आधारभूत तह कक्षा १–८ मा कुल ५३ लाख ३७ हजार ६ सय ९४ विद्यार्थी रहेकोमा यो प्रदेशमा १९.७ प्रतिशत रहेका छन् । केन्द्रका अनुसार प्रदेश नं.२ मा आधारभूत कक्षा १–८ र माध्यमिक कक्षा ९–१२ जम्मा खुद विद्यार्थी संख्या १२ लाख ९३ हजार १ सय १ अर्थात् १८.३ प्रतिशत रहेको छ ।