भौतिक उपस्थिति बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न सिसिएमसीको सिफारिस

कोभिड – १९  व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले सहरी सहरी क्षेत्रका विद्यालयमा भौतिक उपस्थितिमा  पढाइ बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले  जानकारी दिइन् ।

बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको छ ।  

सीसीएमसीले सम्पूर्ण विद्यालयलाई भौतिक उपस्थिति भन्दा अनलाइन पाठपाठनमा जोड दिएको छ । सिसिएमसीको भर्खरै सम्पन्न बैठकले सहरी क्षेत्रमा भौतिक उपिस्थतिमा पठनपाठन गराउनुभन्दा अनलाइन कक्षालाई जोड दिन सिफारिस गरेको सीसीएमसीका सचिव खगराज बरालले जानकारी दिए । 

पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको छ । 

स्वास्थ्य मन्त्रालयले पटकपटक भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाउन शिक्षा मन्त्रालयलाई आग्रह गरे पनि शिक्षा मन्त्रालयले अटेर गर्दै आएको छ । सिसिएमसीले सिधै विद्यालय बन्द गर्ने सिफारिस गर्न नमिल्ने भएको हुनाले घुमाउरो पारले विद्यालय बन्द गर्न सिफारिस गरेको बैठकका एक सहभागीले बताए ।