Managed Admission 2022

मालामा नउनिएका फूलहरू: अनुभवको माला

Thuprai - Books and E-books

सुपरिचित लेखक तथा पूर्व प्रशासक डा. खगराज बरालकृत २० वटा फूलहरूको माला २०७८ सालमा  शिखा बुक्सले गाँसेर पाठकसमक्ष अघि सारेको छ । यस अर्थमा पुस्तकको शीर्षक नै प्रतीकात्मक देखिन्छ । विगतमा मालामा एकीकृत बन्न बाँकि रहेका लेखकका अनुभवजन्य भावनालाई अनुभूति सङ्ग्रहका रूपमा पस्किएको छ । ‘मालामा नउनिएका फूलहरू’ हिजो छरपस्ट थिए होलान् तर अब नउनिएको अवस्थामा रहेनन् । यी भावनात्मक फूल अहिले पाठकसमक्ष मन छुनेगरी व्यक्तिगत,  सामाजिक, सांस्कृतिक, पारिवारिक, प्रशासनिक पक्षमा सन्देशमूलक मर्मसहित शृङ्खलाबद्ध तर स्वतन्त्र अस्तित्वमा उनिएका छन् । यस कृतिका २० थुँङ्गा फूलहरूको मुख्य अन्तर्य आदर्श समाज निर्माणका लागि खड्किएका व्यवहारजन्य पक्षहरू उजागर गर्नु नै रहेको देखिन्छ ।

यस कृतिमा लेखकको स्वभावजन्य अनुभूति र लेखनशैली रहेको छ ।  समकालीन साहित्य, प्रशासन वा भनौँ सामाजिक प्रतिष्ठाको एक धुरीमा पुगेका हरेक व्यक्ति प्रति समुदायमा उ सम्भ्रान्त कुलीन र उच्च घरानाबाट मात्र आएको अनुभूति हुनेगर्छ । तर वास्तवमा व्यक्ति र व्यक्तित्वको संघर्षको पाटो, उसका मिहिन अनुभूति र अपेक्षाहरू सधैँ छायामापरेका हुन्छन् । लेखक बरालको स्यानी उपन्यास वा अरू लेखनी हेर्दा उहाँमा एउटा साधारण नेपाली जनजीवनमा बाल्यकाल विताएको र स्वभाविक बाल जिज्ञासा र नेपाली समाजिक परिवेशअनुसारका अभिभावकबाट उत्तर पाएको प्रस्तुति पाइन्छ ।

‘मालामा नउनिएका फूलहरू’ भने अलिक अपेक्षा र आग्रहपूर्ण प्रस्तुतिबाट आदर्श समाज र अनुकरणीय जीवनतर्फ अभिप्रेरित गर्न लालायित देखिन्छन् । जागिरे जीवनमा रमाइलो गर्न र अवसर खोजी गर्न सबैलाई मन लाग्छ नै । तर उहाँमा ज्ञानको अतृप्त भोकसँगै कर्तव्यप्रतिको अगाध आस्था एवम् दायित्वबोध र समर्पण झल्किन्छ ।

कृति समीक्षा गर्दा व्यक्तिसँगको सानिध्यले सकारात्कमक वा नकारात्मक दुवै प्रभाव पार्न सक्छ । म लेखक बरालसँग एक समयको समकालीन जागिरे । एकै सेवा क्षेत्रमा सेवारत रहेको र उस्तै परिवेश भोगेको व्यक्ति । उच्च ‌ओहोदामा पुगेपछि उहाँका प्रशासनिक निर्णय क्षमता र संस्थागत कार्यशैली नजिकबाट नियाल्ने अवसर पाएको छु । आफ्नो हितका खातिर उहाँले ‌ओहोदालाई दुरूयोग गर्नु भएन । यही स्वभावका कारण संस्थाका सदस्यहरूबाट अपेक्षित र गर्न सक्ने जति गर्न पनि सक्नु भएन भन्ने टिप्पणी पनि सुन्ने गरिन्छ । तर सच्चाइ के हो भने उहाँले सधैँ आफूलाई लो प्रोफायलमा राखेर पनि आदर्शलाई मानक बनाइ रहनु भयो । मैले यसकारण उहाँको जीवन पद्धति जोडन चाहेको हुँ कि उहाँका यी बिसओटै लेखहरू अनुभूतिमा आधारित छन् र अनुभूति व्यक्तिको स्वभावअनुसार मुखरित हुने गर्दछ । अझ आदर्श परिकल्पना त झन् स्वभावसँग एकाकार हुन सक्नु पर्छ पनि, जुन यहाँ सम्भव भएको छ ।

मलाई पनि लेखकका रूपमा आदर्श पछ्याउन मन लाग्छ । कोरा र  मनोरञ्जक स्वैरकल्पनाभन्दा समाजलाई गति दिन उचित सनदैशपरक रचनाको वकालत गर्न मन लाग्छ । यसका नाममा आग्रह पालेर अतिरञ्जत वयान पटक्कै मन पर्दैन । यो पुस्ककका हरेक फूलहरूले मैले चाहेको आदर्श अनुशरण गरेका छन् । अध्ययन गर्दै जाँदा यो त मैले पनि अनुभूति गरेको विषय हो तर मैले नै किन पहिले भन्न सकिन भन्ने सोच आउँछ, पटक पटक । लेखकले पाठकलाई आफूसँगै हिँडाउन सक्नुपर्छ र यस विषयमा लेखक पूरै सफल बनेको पाएको छु मैले। । यस अर्थमा पुस्तक सन्देशमूलक र सङ्ग्रहनीय छ । यसको भाषाशैली आञ्चलिक तर सरल र सरस छ ।  साथै लेखककै स्वीकारोक्ति पहिल्याउँदा यो भिन्न प्रतिक्रिया जनाउन पाउने छुट पनि रहेकै छ । त्यसैले पनि पुस्तक पठनीय, सङ्ग्रहनीय र पाठकमैत्री रहेको छ ।

मालामा नउनिउका तर अनुभूतिको सृङ्खलामा क्रमवद्धता प्राप्त गरेका बिस थुगा फूलहरूमा ‘आमा बाबुका कुरा’, ‘हिजो र भोलि’, ‘विहेका कुरा’, ‘खाना सबैको लागि’, ‘वर, पिपल र समी’ , ‘कृष्णसारका कष्ट’, ‘कुकुरका कुरा’ , ‘मृगसँग बातचित’, ‘अतिथि आसनमा अलमल’, ‘विद्वान र बुद्धिजीवी’, ‘के राम्रो के नराम्रो’, ‘अपरिचित परिचित भएपछि’, ‘तीन पोर्टको रहर’, ‘अमेरिकी प्रोफेसरको सरल मन्तव्य’, ‘बालीको वास’, ‘फिलिपिन्सको सङ्घीयता’, ‘संसद् विघटनदेखि संसद् विघटनसम्म’ , ‘नेपालको शिक्षा मेकालेको मनोमानी’,‘वैदिक दर्शन: गुरुकुलीय शिक्षाको आधार’ र ‘अदावी’  रहेका छन् । यी प्रत्येक अनूभूतिले पाठकलाई उपयोगी सन्देश दिएका छन् ।

‘मृगसँग बातचित’ प्रवन्ध भने स्वैरकल्पना शैलीमा रहेको छ । म यसलाई अभिनय र नाटकका रूपमा अझ रोचक हुनसक्ने देख्छु । अतिथि आशन  र अलमल प्रबन्धले मलाई सिन्धुपालचोकमा जिल्ला शिक्षा अधिकारी रँहदाको स्मरण गरायो, जहाँ कुन्चोकमा बनेको विद्यालय भवन उद्घाटन कार्यक्रममा चाहना हुँदाहुँदै पनि मैले निम्ता स्वीकार गर्न सकेको थिइँन ।

विद्वान र बुद्धिजीवी’ मा रहेको वौध्दिक बहस होस् वा विहेका कुरा’ अथवा वैयक्तिक तथा सामाजिक आवश्यकताको उजागर होस् अथवा ‘अमेरिकी प्रोफेसरको सरल मन्तव्य’को व्यवहारिक सन्देश होस् हामीलाई कामलाग्दा खुराक रहेका छन् । ‘नेपालको शिक्षा मेकालेको मनोमानी’,‘ ले नेपालको शिक्षा पध्दतिमा सुधारको अपेक्षा राख्दछ । विदेश मोहको अन्धानुकरण र आफ्नो संस्कार परम्परा र स्वाभिमान प्रतिको अस्वाभाविक वितृष्णालै ग्रसित हाम्रो चिन्तन र मेकाले पद्धतिले दिएको शून्य शिर्जनशीलताको मन्दविषबाट मुक्त हुनका लागि गतिलो सन्देश दिन्छ यसले । कुकुर पाल्ने र बाटाेमा दिशा गराउने कुसंस्कारका त हामी सबै शिकार भैरहेका छौँ नै । यो लेख त ठूला अक्षरमा फोटोकपी गरेर मेरा घरका समीपमा टाँस्न मन लाग्छ, मलाई । पुस्तकको अन्तम प्रबन्धको शीर्षक वृहत नेपाली शब्दकोशमा नै देखिन्न । तर यो दावी नगर्ने त्यागी भन्ने अर्थमा प्रयोग भएको छ ।

‘वैदिक दर्शन: गुरुकुलीय शिक्षाको आधार’ भन्ने प्रबन्धले ज्सिकायनका लागि गुरु चाहिने सिकाइका लगि स्कुल वा गुरुकुल चाहिने रहेछ भन्ने बालसुलभ बुझाइ र यथार्थको समायोजन गरेको छ ।  पूर्वीइ दर्शनमध्ये वैदिक दर्शनभित्रका कुरा जान्न चाहने इच्छा र एक विद्वानसँगको वार्तालापमा आधारित धारा प्रवाह वर्णनले लेखकमा रहेको पूर्वीय चिन्तनप्रतिको गहिरो प्रभाव झल्काएको छ ।

साइसवत, अदावी जस्ता शब्दहरू नेपाली शब्दभण्डारमा थपिएका छन् । गाउँका हजुरबा भने पछि आमाबाबु शब्दलाई पनि आमाबा वा बाआमा भन्नु अझ उपयुक्त हुन्छ भन्ने लाग्छ । मैले नै कभर डिजाइन गर्न पाएको भए किस्तिमा २० वटा फूल राखेर तुन्ने प्रयास गर्थेँ कि भन्ने लाग्छ । तर यी त्रुटि भने होइनन् ।

लेखकका पूर्व प्रकाशित सिकाउने शैलीमा जस्तै यस पुस्तकले सहज रूपमा व्यक्तिगत आचरण र विशुद्ध व्यवहारका साथै समाज सुधारका लागि मिहिन मार्ग दर्शन गरेको छ । यसरी यस पुस्तकले व्यक्तिगत,  सामाजिक, सांस्कृतिक, पारिवारिक र प्रशासनिक पक्षमा नीति निर्माता, अभ्यासकर्ता र आफ्ना व्यक्तिगत कमजोरी सच्याएर अशल नागरिक बन्न चाहने जो कोहीलाई पर्याप्त खुराक प्रदान गरेको छ । वास्तवमा हरेक प्रबन्ध पहिले लामा जस्ता लाग्छन् तर पढ्न थाले पछि नसकी छोड्न मन नलाग्ने चुम्बकीय प्रकृतिका छन् । लेखकबाट आगामी दिनमा निरन्तर रुपमा यस्तै खुराक थपिइरहने अपेक्षातर्फ सहजै तान्न सकेको छ । यो नै लेखकको महत्वपूर्ण सफलता पनि हो ।