प्राविधिक शिक्षाका लागि प्रतिष्ठानलाई रु पाँच लाख

उर्लाबारी, १५ कात्तिक (रासस) ः मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका विपन्न विद्यार्थीको प्राविधिक शिक्षाका लागि उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले खडा गरेको कोषलाई सहयोग स्वरूप रु पाँच लाख उपलब्ध गराएको छ । 

नगरपालिका कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र प्रतिष्ठानका रोजगार परामर्श तथा बजारीकरण अधिकृत भुवनकुमार धिमालबीच सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । प्रतिष्ठानले विसं २०६५ देखि आर्थिक अवस्था कमजोर भएकाको शिक्षाका लागि उक्त कोषमार्फत लगानी गर्ने र कमाएर तिर्ने गरी ‘प्राविधिक शिक्षा शैक्षिक उपहार ऋण कार्यक्रम’ सञ्चालन गरेको गर्दै आएको छ । 

उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाका १७ नयाँ सहित हालसम्म ४३ जना उक्त प्रतिष्ठानमा अध्ययनरत छन् । सो कोषमा हालसम्म रु एक करोड १५ लाख रहेको अधिकृत धिमालले जानकारी दिनुभयो । उक्त प्रतिष्ठानमा सीएमए, अनमी, पीसीएल सामान्य चिकित्सा, पीसीएल नर्सिङ, आइएससीएजी बालीविज्ञान, आइएससीएजी पशुविज्ञान, डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ, प्राविधिक एसएलसी सिभिल इञ्जिनीयरिङ र भेट जेटिएका लागि उपहार ऋण कार्यक्रम सञ्चालित छ । 

Thuprai - Books and E-books