A Levels MA

झापाको पाँच सामुदायिक विद्यालयमा प्राविधिक विषय अध्यापन

बनियानी, २२ वैशाख (रासस): झापाका पाँच सामुदायिक विद्यायलमा यसै शैक्षिक सत्र २०७६देखि विभिन्न प्राविधिक विषयमा अध्यापन हुने भएको छ ।

सरकारको ‘एक स्थानीय तह एक प्राविधिक शिक्षा’ नीतिअन्तर्गत यहाँका पाँच सामुदायिक विद्यालयमा प्राविधिक विषयमा अध्यापन हुन लागेको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख जयनारायण महतले जानकारी दिनुभयो ।

प्राविधिक विषयमा मध्यमस्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्यले देशभरका १५० स्थानीय तहमा एकसाथ प्राविधिक विषयको अध्यापन हुन लागेको उहाँले बताउनुभयो । 

“देशभरका १५० स्थानीय तहमा यो कार्यक्रम लागू भएको छ,” प्रमुख महतले भन्नुभयो, “एक स्थानीय तहमा एउटा विषय भनिए पनि यस वर्ष झापाका पाँच स्थानीय तहमा प्रविधिक विषयमा अध्ययन शुरु हुन लागेको हो कनकनकवस्थित मोति मावि र गौरीगञ्ज गाउँपालिकास्थित गौरीगञ्ज माविमा कृषि विज्ञानको विषय अध्यायन हुने भएको छ । 

त्यस्तै हल्दिबारी गाउँपालिकास्थित हल्दिबारी नमूना माविमा र झापा गाउँपालिकास्थित जनता माविमा बाली विज्ञान र बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माविमा कम्प्युटर इञ्जिनीयरिङ विषयमा अध्यापन हुने उहाँको भनाइ थियोे ।

प्रत्येक विद्यालयले उक्त कक्षाका लागि ४८ विद्यार्थी भर्ना गर्नेछन् । झापामा यस वर्ष पाँच विद्यालयबाट २४० विद्यार्थीले प्राविधिक शिक्षा हासिल गर्न पाउनेछन् । उनीहरुले कक्षा ९ देखि कक्षा १२ सम्म तीन वर्षसम्म सम्बन्धित विषयमा अध्ययन गर्नेछन् । 

सरकारले प्राविधिक विषयमा मध्यमस्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्यले विद्यालयस्तरबाटै प्राविधिक विषय अध्ययनका लागि यो कार्यक्रम लागू गरेको हो ।

कार्यक्रमअन्तर्गत कक्षा सञ्चालनका लागि सरकारले प्रत्येक विद्यालयलाई माध्यमिक र निम्नमाध्यमिकस्तरको एक÷एक शिक्षक उपलब्ध गराउने प्रमुख महतले जानकारी दिनुभयो । “शुरुमा कक्षा सञ्चालन गर्न निश्चित रकम सरकारले उपलब्ध गराउनेछ,” उहाँले भन्नुभभयो, “त्यो रकमले आवश्यक सामग्री खरीद गर्नुपर्ने छ ।”

यसै शैक्षिक सत्रदेखि सरकारको पूर्ण अनुदानको कोटामा बाली विज्ञान विषयमा पठनपाठन शुुरु गर्न लागिएको हल्दिबारी नमूना माविका प्रधानाध्यापक टङ्कबहादुर पाख्रिनले जानकारी दिनुभयो । 

“बाली विज्ञान अध्यापनका लागि हल्दिबारी गाउँपालिकाले सिफारिश र स्वीकृति दिएपछि पढाइ शुरु गर्न लागेका हौँ,” प्रधानध्यापक पाख्रिनले भन्नुभयो, “यसै शैक्षिक सत्रदेखि ४८ जनाको कोटामा प्राविधिक तथा व्यावसायिक धारतर्फ कक्षा ९ देखि पढाइ शुुरु गर्छौं ।”

स्थानीयस्तरमै प्राविधिक विषयको पढाइ हुने भएपछि महँगो शुल्क तिरेर प्राविधिक विषयको अध्ययनका लागि अन्यत्र जानु नपर्ने भएको छ । 

गाउँपालिकाले तय गरेको ‘हल्दिबारीको दृष्टि कृषि र पर्यटनमार्फत समृद्धि’ भन्ने कार्यक्रमलाई लक्षित गरी कृषि प्राविधिक उत्पादन गर्ने लक्ष्यका साथ यो विषयको पठनपाठन शुुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

हल्दिबारी माविलाई सानोठिमीस्थिति शिक्षा तथा मानव विकास स्रोत विकास केन्द्रले २०७६ साल वैशाख २ गते बाली विज्ञान विषय अध्यापनको स्वीकृति दिइसकेको छ । 

कक्षा ९ मा भर्ना लिएर क्रमशः कक्षा १२ सम्म लैजाने लक्ष्य रहेको प्रधानध्यापक पाख्रिनले बताउनुभयो । विद्यार्थी भर्नाका लागि वैशाख २६ गते प्रवेश परीक्षा लिई ३० गतेदेखि कक्षा सञ्चालन गरिने भएको छ ।

Thuprai - Books and E-books