Edusanjal +2 scholarship

पहिलो शिक्षक अभिभावक, दोस्रो विद्यालय–शिक्षक, तेस्रो वातावरण

Thuprai - Books and E-books

 

बच्चा आफैं बिग्रने होइन परिस्थितिले बिर्गाछ । बच्चा नजान्ने होइन उसलाई नजान्ने बनाउने वातावरणले हो ।

नेपालको शिक्षा

विश्‍वको शैक्षिक इतिहास हेर्दा धेरै ठाउँमा सार्वजनिक शिक्षा कमजोर छ । हाम्रो देशका पनि अधिकांश विद्यार्थीहरू जाने केही विद्यालयहरू मात्र सन्तोषजनक छन् भन्‍न सकिन्छ । तर लामो समय बित्दा पनि अरु थप विद्यालयहरूको नाम आउन सकेको छैन । यो तथ्यले नै हाम्रो शिक्षाको अवस्था प्रष्ट बनाउँछ ।

द्वन्द्वमा शिक्षा क्षेत्र धेरै नै प्रभावित भएकाले धेरै राम्रा विद्यालयहरूमा क्षति पुग्यो, खासगरी निजी तथा साझेदारीमा चलेका विद्यालयहरू । यो नकारात्मक प्रभावको असर अहिलेसम्म रहिरहेको छ र केही राम्रा विद्यालयहरू अझ पनि चल्न सकेका छैनन् ।

रातो बङ्गला स्कुललाई पनि द्वन्द्वले पिरोलियो र यो प्रभावको सामना गर्दै अगाडि बढिरहेका छौँ ।  विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई सामना गर्दै अगाडि बढ्ने शैलीले नै प्रगतिको मार्गमा लम्काइरहेको छ । यो आपसी सम्मान र सहकार्यको दर्शन नीति–निर्माताकर्ता तथा शिक्षाको नेतृत्व लिने सबैले बुझ्‍न जरुरी छ । सबैले मिलेर काम गरे मात्र शिक्षा क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न सकिन्छ ।

रातो बङ्गला स्कुलले विद्यार्थीहरूलाई भावनात्मक र सामाजिक सिप विकास गर्न प्रोत्साहन गरेर जीवन उपयोगी सिप प्रदान गरेको हुन्छ । अभिभावक, शिक्षक र विद्यार्थी स्वयंको प्रगाढ सम्बन्धले यो सम्भव भएको छ । रातो बङ्गलाको पूरा परिवारले बुझ्दै आएको कुरा के छ भने विद्यालयले र घर परिवारले एक्लै काम गर्ने भन्दा सहकार्य गर्दाको उपलब्धि धेरै गुणा स्तरीय हुन्छ र यो कुरा हामीले गरेको ३० वर्षसम्मको प्रत्यक्ष अनुभवले प्रष्ट पारेको छ ।

रातो बङ्गलाका परिवारले के पनि बुझ्दै आयो भने आफ्नो शिक्षालयमा मात्रै केन्द्रित भयौभने पुरा समाज र देशले काँचुली फेर्ने अवस्था आउँदैन र एक्लो वृ‌हस्पति हुन मन भएन । त्यसैले हामीले सार्वजनिक शिक्षा सुधारका लागि विभिन्‍न जिल्लाहरूमा काम गर्न थाल्यौँ तर हामीले यसको प्रचारप्रसार भन्दा इमान्दारीपूर्वक काम गर्ने कुरामा जोड दियौँ । अवस्थाको अध्ययन गरेर  सहयोगको सदुपयोग गर्ने सामुदायिक विद्यालयहरूलाई सहकार्य गर्न प्राथमिकतामा राख्यौँ । हामीले बालबालिकालाई केन्द्रमा राखेर कसरी सिकाउनु पर्छ भनेर शिक्षक तालिम दिन्छौँ, यसका साथै शैक्षिक सामग्रीहरूको वितरण र यसको प्रयोग कसरी गर्ने भनेर सिकाउने गर्छौं । साथै विद्यालयको भौतिक संरचनाको विकास गर्न पनि प्रोत्साहन गर्ने गर्छौं । हामीले विद्यार्थीमा आफ्नो विद्यालयप्रति अपनत्वको भावना विकास गर्न सहयोग गर्छौं । त्यसैले हामीले काम गरेका विद्यालयहरूमा भौतिक संरचनाको संरक्षण विद्यार्थी आफैले गर्ने गर्छन् ।

पाँच जिल्लाका शिक्षकलाई तालिम प्रदान

रातो बङ्गला स्कुलले अभिभावकबाट लिने ट्युसन शुल्कको १८ प्रतिशत छुट्याएर एउटा कोष बनाएको छ, जसलाई रातो बङ्गला साझेदारी कार्यक्रम नामाकरण गरेका छौँ । त्यही कोषबाट सामुदायिक विद्यालयमा सहयोग गर्ने गरेका छौँ । करिब बीस वर्षअगि धादिङ, दैलेख, ललितपुर, म्याग्दी र मकवानपुर पाँचओटा जिल्लाका १०–१० ओटा विद्यालयमा शिक्षक तालिम तथा अन्य सहयोग गरेर यो कार्यक्रमको सुरुवात गर्‍यौँ । द्वन्द्वको मध्यकालीन अवस्थामा, जुनबेला दैलेख जस्तो द्वन्द्वले पीडित जिल्लामा कुनै पनि सहयोगी संस्थानहरू जान उत्सुक हुँदैनथ्यो र त्यतिबेला त्यहाँ अवस्थित सं‌स्थाहरूले पनि जिल्ला छाडेका थिए । हामीले यही जिल्ला रोजेर काम गर्‍यौँ । हामीले तत्कालीन जिल्ला शिक्षा कार्यालयहरूसँग सहकार्य गरेर, आवेदन मागेर विद्यालय छनौट गर्‍यौँ र विद्यालयका नेतृत्ववर्ग र  शिक्षकहरूको लागि तालिम प्रदान गर्‍यौँ । हामीले तालिम प्रदान गरेपछि धादिङको भूवनेश्‍वरी माविको काँचुली नै फेरिएको छ । त्यस्तैगरी म्याग्दीको बेनी सामुदायिक स्कुलले पनि धेरै प्रगति गर्‍यो । नेतृत्वको भूमिका बुझेपछि प्रधानाध्यापकहरूले नै शिक्षकहरू र अभिभावकहरूसँग सहकार्य गर्दै सो विद्यालयको मुहार फेरेका हुन् । नेतृत्व वर्गहरूले उपलब्ध सीमित स्रोत र साधन, (आर्थिक, भौतिक, सामाजिक र बौद्धिक सबैको) राम्रोसँग परिचालन गरी सहकार्य गर्दै आफ्नो विद्यालयलाई अगाडि बढाउन सक्ने हुन्छन् ।

पाँच जिल्लाको कार्यक्रम सफल भएपछि रातो बङ्गलाले दैलेखमा केन्द्रित भएर ७ वर्षसम्म काम गर्‍यो ।  दैलेख स्कुल परियोजना एउटा नमुना परियोजना थियो जहाँ एउटा सानो संस्थानले पूरा जिल्लाको ४१३ विद्यालयहरूको विकासमा टेवा पुर्‍यायो । हाल रातो बङ्गलाले आफ्नो कार्य ललितपुर जिल्लामा केन्द्रित भएर यहाँका सबै सामुदायिक विद्यालय तथा पूर्व प्राथमिक कक्षाहरूमा काम गरिरहेको छ । गोरखा र तेह्रथुम जिल्लामा पूर्व प्राथमिक कक्षाहरूको विकासमा टेवा पुर्‍याउन हालै प्रारम्भिक बालविकास कार्यक्रम सुरु भएको छ । 

पहिलो शिक्षक अभिभावक, दोस्रो विद्यालय शिक्षक, तेस्रो वातावरण

हरेक बालबालिकाको अभिभावक पहिलो शिक्षक हो । जन्मने बित्तिकै धेरै कुरा उसले घरबाट र आफूलाई हेरचाह गर्नेसँग सिक्छ र विद्यालय आउन्जेलसम्म उसको धेरै हदसम्म बानी बेहोरा र आचरण बनिसकेको हुन्छ । त्यसपछि ऊ विद्यालय आउँछ र शिक्षकले यो विद्यार्थीको पृष्ठभूमि बुझेर उसलाई टेवा पुग्‍ने गरेर सिकाउनु पर्ने हुन्छ, यसैले ऊ दोस्रो शिक्षक भयो । हामीले अहिलेसम्म ध्यान दिन नसकेको कुरा के हो भने, विद्यार्थीहरूको तेस्रो शिक्षक चाहिँ वातावरण हो । त्यसैले हाम्रो शिक्षक तलिममा केन्द्रित हुने विषय नै विद्यार्थीहरूलाई राम्रोसँग बुझ्‍ने परिबेश बनाउने र उनीहरूलाई राम्रो वातावरणमा सिकाउने । वातावरणमा थरिथरिका शिक्षक सामग्रीहरू पर्छन् ।

उदाहरणका लागि हामीले विद्यार्थीहरूलाई काठका निर्माण सामग्री (building blocks) दिन्छौँ । धेरै थरिका आकर र प्रकार भएका काठका ठुला–साना टुक्राहरूले उनीहरूले निर्माण गर्न सिक्छन् । विद्यालय, घर, कक्षाकोठा, बगैँचा, लाइब्रेरी, खेलमैदान र उनीहरूलाई जे मन पर्छ त्यही बनाउँछन् । यो सामग्रीको राम्रो प्रयोग गर्दा विद्यार्थीहरू सिर्जनशील हुन सिक्छन्, उनीहरूको तार्किक सोच बढ्छ । उनीहरूले समस्याको समाधान गर्न सिक्छन्, गणित र बिज्ञानको ज्ञान बढ्छ, आत्मविश्‍वास बढ्छ, सहकार्यको सिप बढ्छ र सामाजिक र भावनात्मक सिपको विकास हुन्छ । २१औँ शताब्दीका लागि माथि उल्लेख गरेका सिपहरूले धेरै महत्त्व दिन्छन् । त्यसैले रातो बङ्गला स्कुलले आफ्नो स्थापनाकालदेखि नै काठका निर्माण सामग्रीहरूको प्रयोग गर्दैआएको छ । गएको केही वर्षदेखि त आफूले काम गर्ने हरेक पूर्व प्राथमिक कक्षाकोठा अनिवार्य रूपमा यी सामग्रीहरू प्रदान गरेको छ ।  ४० हजार जति पर्ने यी काठका सामग्रीको धेरै टिकाउ हुन्छ र वर्षौं वर्षसम्म विद्यार्थीहरूले प्रयोग गर्दै सिक्न पाउँछन् । पैसा परे पनि यसको लामो टिकाइ हुन्छ । रातो बङ्गलाले आफ्नो स्थापनाकाल, ३० बर्ष अगि बनाएको काठको सेट अहिलेसम्म पनि कक्षामा प्रयोग भइराखेको छ ।

यही हो तेस्रो शिक्षक वातावरण भनेको । त्यसमा थप राम्रो किताबहरूले भरिएको पुस्तकालय, हिसाब गर्ने सामग्री, बिज्ञान सिक्ने सामग्री र विद्यालयको संस्कृति र शिक्षक, अभिभाककको आपसी सम्बन्ध र व्यवहार । हामी ठूलालाई आदर र सानालाई माया भन्‍ने परम्परागत टुक्का सिकाउँदै आएका छौँ । यो सिकाइ गलत हो । साना र ठूला दुबैलाई आदर गर्ने र दुबैलाई माया गर्ने प्रेरणा दिनुपर्छ ।

हामी सानैदेखि लैङ्गिक भेदको पाठ परिवारबाटै सिकाउँछौँ । यसको उदाहरण परिवारबाट लिन सकिन्छ । हामी छोरालाई स्कुलबाट आउने बित्तिकै झोला फ्याँकेर खेल्न जाने छुट दिन्छौँ तर छोरीलाई घरको काम सिकाउछौँ । पढ्न पाएर घरको काम पनि सिक्ने छोरीले धेरै सिप विकास गर्न पाउँछे, तर छोराले यी सिप सिक्न नपाएको भएर उसको न सामजिक, न भावनात्मक सिप विकास हुन्छ न अरु जीवन उपयोगी सिप नै । हामीले छोराछोरीलाई समान व्यवहार गर्नु भनेको नै छोरालाई सिर्जनशील र समझदार बनाउनु हो । यसको सुरुवात भेदभाव नगरिकन उसलाई घरको दिनचर्यामा सक्रिय सहभागी बनाउनु हो । नभए हाम्रा छोराहरू छोरीको अगाडि धेरै पछाडि पर्छन् ।

के के कुरालाई ध्यान दिने ?

नेपालको औपचारिक शिक्षाको इतिहास धेरै लामो छैन । सन् १९५१ मा जम्मा ३ सय विद्यालय थिए । अहिले ३५ हजार विद्यालय पुगिसके । यो निकै ठूलो प्रगति हो । हामीले कोसेढुङ्गा नै पार गरेका छौँ तर औद्योगिककालको शिक्षा आत्मसात् गरेर । झन्डै २०० वर्ष पहिले बेलायतले उद्योगमा काम गर्ने कामदार उत्पादन गर्न बनाएको शिक्षा भारतमा आयो र नेपालले त्यही नै छिमेकी मुलुकबाट आयात गर्‍यो । नेपाललाई औद्योगिककालको शिक्षा काम लाग्दैन, हाम्रो परिबेशमा ठूला ठूला उद्योगभन्दा अफ्नो देश र परिबेश बुझेर यसलाई सुहाउने उद्योग स्थापना गर्न टेवा दिने खालको शिक्षा चाहियो । २१औँ शताब्दीमा उपयोगी सिप विकास गर्नु भनेको नै किताबमा सीमित शिक्षा प्रणालीलाई छोड्नु हो । भनेकै घोकन्ती बिद्याभन्दा पृथक र जीवन उपयोगी सिप विकास गर्ने खालको शिक्षा हो । सिर्जनात्मक, मिलेर काम गर्न सक्ने, धैर्यवान्, सामाजिक विद्यार्थी उत्पादन गर्नको लागि उनीहरूले यी सबै सिपहरू विकास गर्न मौका कक्षाकोठामा पाउनुपर्छ । त्यसको लागि अर्कै खालको शिक्षा हुनुपर्छ ।

सफल शिक्षा प्रदान गर्नको लागि पाँचओटा कुरालाई प्राथमिकतामा राख्नुपर्छ ।

 

पहिलो : स–सना बच्चाको उमेर सुहाउँदो सिकाइ

हामीले के बुझ्नुपर्छ भने पाँच वर्षभन्दा साना बालकहरूलाई कक्षामा गर्ने व्यवहार ठूलो विद्यार्थीलाई भन्दा धेरै पृथक हुनुपर्छ । उनीहरूको विकासको क्रम सुहाउँने कार्यक्रम हुनुपर्छ । मस्तिस्कको तीब्र विकास भएको यो बेलामा उनीहरूले सिक्ने भनेको कुरा नै राम्रो बानी व्यवहार, भाषाको विकास, शब्द भन्डारको बृद्धि, मालसमानहरूलाई ठाउँमा राख्‍ने र व्यवस्थित हुने, माया लिन र दिन जान्‍ने, ठूलो र सानो मांशपेसीको विकास र खेलेर सिक्ने वातावरण । स–सना बालकहरू विद्यालयमा प्रवेश गर्ने बित्तिकै हामीलाई उनीहरूलाई लेख्‍न पढ्न सिकाउन हतार हुन्छ तर यो कुरा ठीक होइन । उनीहरूको पढ्नेभन्दा धेरै अरु कुरा सिक्ने उमेर हो यो, र पढ्नको लागि तयार हुने समय ।

 बच्चाको मष्तिस्कको विकास र उसको पाठ्यक्रम मेल खायो भने मात्र उसको उत्तरोत्तर प्रगति हुन्छ । पाठ्यक्रम र कक्षाको क्रियाकलाप उसको स्तरभन्दा माथि भयो भने बच्चाले म केही जाँन्दिनँ भन्‍ने भावना विकास हुन्छ । बच्चाको मष्तिस्कको क्षमताभन्दा कमजोर पाठ्यक्रम भयो भने उसलाई ‘मलाई सिकाएको कुरा कस्तो सजिलो, म जे पनि जान्छु’ भन्‍ने भावनाको विकास हुन्छ र उसले ध्यान दिन छोड्छ । दुवै अवस्थाको नकारात्मक नतिजा हुन्छ । बच्चा आफै बिग्रने होइन परिस्थितिले बिर्गाछ । बच्चा नजान्‍ने होइन उसलाई नजान्‍ने बनाउने वातावरणले हो ।

प्रारम्भिक उमेरमा राम्रो वातावरण पाएको विद्यार्थीको आत्मविश्‍वास बलियो हुन्छ र ऊ खुसीसाथ सिक्न तयार हुन्छ ।

प्रारम्भिक उमेरमै विद्यार्थीलाई सिर्जनात्मक बन्‍ने, सहकार्य गर्ने, धैर्यवान्, सबैसँग मिल्ने बनाउनुपर्छ । ईसिडि कक्षालाई अनिवार्य गर्नुपर्छ र प्राथमिकता दिनुपर्छ । यसका लगि सरकारी, गैरसरकारी संस्थाको हातेमालो र सहकार्य चाहिन्छ ।

दोस्रो : गरेर सिक्ने अवसर

विद्यार्थीको लागि शिक्षा अझै पनि कक्षामा लामबद्ध बस्‍ने शिक्षकले भनेअनुसार पाना पल्टाउने पाठ घोक्ने अनि त्यही जाँचमा कन्ठस्थ बनाएको कुरा लेख्‍ने कुरामा सीमित छ । जीवनलाई चाहिने कुरा उनीहरूले सिक्ने मौका नै पाउँदैनन् । मस्तिष्कको सानो भागलाई मात्रै हामीले उपयोग गरिरहेका छौँ । त्यसले गर्दा मस्तिष्कको कुठाराघात भइरहेको छ । अर्थात् जति बढ्न सक्थ्यो त्यति भएको छैन । मस्तिष्कको चौतर्फी विकास गर्न विद्यार्थीलाई प्रयोगात्मक रूपमा सिकाउनुपर्छ । एकआपसमा छलफल गरेर निष्कर्षमा आउने प्रथाबाट उनीहरूको प्रस्तुति मात्र राम्रो हुने होइन, उनीहरूले एकअर्कालाई बुझ्‍ने मौका पाउँछन् । कुनै कुराको अनुसन्धान गरेर कक्षामा आफ्नो प्रतिवेदन दिँदा धेरै थरीका सिप विकास हुन्छन् । साथीको राम्रो प्रस्तुतिबाट उनीहरूले प्रेरणा लिएर आफूलाई विकास गर्न सक्छन् । शिक्षकले मात्रै सिकाउने भन्दा विद्यार्थीले एकअर्कासँग सिक्दा झन् प्रभावकारी हुन सक्छ ।

हामी हरेकलाई थाहा छ कि हामीले गरेर नै सिक्छौँ भनेर, चाहे यो साईकल चढ्न होस्, खान पकाउन, पढ्न वा कविता लेख्‍ने । त्यसैले यो कक्षाकोठामा लागू गर्न अत्यन्त महत्त्वपूर्ण छ । जीवनको भोगाइ नै वास्तविक सिकाइ हो ।

तेस्रो : सक्षम र सवल शिक्षक

अभिभावक पहिलो शिक्षक भए तापनि विद्यालयमा विद्यार्थी आइसकेपछि अभिभावक ढुक्क हुन चाहन्छन् कि अब उनीहरूको बच्चाले राम्रो वातावरणमा माया गरेर सिकाउने शिक्षकले उनीहरूको हेरचाह गर्छन् । तर हामीलाई के पनि थाहा छ भने शिक्षक बन्‍न सजिलो छैन र शिक्षकले तालिम लिएर तयार हुनुपर्छ । बिडम्वना के छ भने सरकारले नै पढ्नमा कमजोर भएकाहरूलाई शिक्षक बन्‍न प्रोत्साहन गर्छ । अफ्नो विषयमा राम्रो दख्खल नभएकाले सिकाए भने विद्यार्थीहरूले पनि राम्रोसँग सिक्न सक्दैनन् र शिक्षाको स्तर खस्किनुभन्दा अरु उपाय हुँदैन । तर पढाइमा अब्बल मानिसहरूलाई राम्रो शिक्षक तलिम दिन सक्यौँ भने हरेक विद्यार्थीले राम्रोसँग सिक्ने मौका पाउँथ्यो ।

शिक्षक तलिममा विषयवस्तुको तालिमभन्दा शिक्षकले विद्यार्थीलाई कसरी सम्हाल्ने, उसलाई कसरी रमाइलो हुने गरेर सामग्री प्रस्तुत गर्ने र अर्थपूर्ण कार्यहरू दिने भन्‍ने कुराले प्राथमिक स्थान लिन्छ । आखिरमा शिक्षकले आफ्नो विषयको ज्ञान लिएर नै आएको हुनुपर्छ । शिक्षकको तालिम प्रयोगात्मक हुनुपर्छ ताकि उनीहरूले आफैले भोगेपछि विद्यार्थीलाई के सजिलो, के रमाइलो र के कठिन होला भन्‍ने पनि बुझ्छन् ।

तालिम प्राप्त दक्ष शिक्षक हरेक कक्षामा हुनु हाम्रो बालबालिकाको नैसर्गिक अधिकार हो ।

 

 चौथो : नेतृत्वको भूमिका

नेतृत्व वर्गले दूरदृष्टि राखेर आफ्नो बालबालिकाको हितमा काम गर्छ । बिद्यालयको हरेक गतिविधिमा शिक्षक र अभिभावकको साथ लिएर अगाडि बढ्छ । शिक्षकको अभिवृद्धि गर्न तालिमको व्यवस्था मिलाउने, अभिभावकहरूको सहकार्यमा विद्यालयलाई एक रमणीय ठाउँ बनाउने र सबै कामहरू पारदर्शी भएर गर्ने ।

नेतृत्वको अग्रसरमा विद्यालय विकास योजना बन्छ र यहीअनुसार शैक्षिक पात्रो । त्यो पात्रोमा पठन–पाठन मात्र होइन कि विद्यालयमा गर्नुपर्ने अनेक गतिविधहरू पनि उल्लेख गरेको हुन्छ, जस्तै– वादविवाद कार्यक्रम, स्पोर्टस् डे, एलोकुसन, शैक्षिक मेला इत्यादि ।

कार्यक्रमहरू सहज बनाउनका लागि शिक्षक र अभिभावकको सहकार्य मात्र होइन कि विद्यार्थीहरूको पनि सहभागिता सुनिश्‍चित गर्नुपर्छ किनभने यस्तै मौकाबाट विद्यार्थीहरूले धेरै कुरा सिक्छन् ।

प्रधानाध्यापकले सामूहिक नेतृत्वको अवसर दियो भने आफ्नो अभिभारा कम हुनुको साथै आफ्ना सहकर्मीहरूलाई पनि नेतृत्वदायिक भूमिका खेलेर सवल हुने मौका प्रदान गर्छ । समूहमा हरेकको सवल पक्ष हुन्छ र सबैको सवल पक्षलाई सवलीकरण गरेर योगदान दिने मौका दियो भने विद्यालयको सकारात्मक परिवर्तन सुनिश्‍चित हुन्थ्यो ।

पाँचौँ : शिक्षामा लगानी

बिडम्वना के छ भने नेपाली सरकारको शिक्षामा लगानी दिन प्रतिदिन घट्दै छ । करिब १६ वर्ष अगि (सन् २००६)मा अधिकतम लगानी भएको थियो र त्यो लगानी हरेक वर्ष कम हुँदै जाँदैछ । त्यसै गरेर शिक्षामा बिदेशी अनुदान घट्दै छ ऋण बढ्दै छ । उदाहरणको लागि २०१२/१३ मा नेपाल सरकारले ८१% लगानी गरेको थियो र १९% विदेशी अनुदान लिएको थियो । तर त्यो तथ्याङ्‍क २०२१/२२ को आर्थिक वर्षमा आएर नेपाल सरकारको ७४% लगानी थियो भने, ७% विदेशी अनुदान र १९% विदेशी ऋण ।

बढ्दो ऋण र घट्दो लगानीले शिक्षा क्षेत्रलाई मात्र होइन नेपाललाई नै आर्थिक समस्या निम्त्याइदिन्छ । नेपाल अब बिकासोन्मुख देश होइन कि अब निम्‍न मध्यम आयस्रोत भएको देश भइसक्यो, त्यसैले विदेशी दातृ संस्थाहरूले अनुदानको साटो ऋण दिने हुन्छ । यसैकारण नै हो अब नेपालले झन् शिक्षामा लगानी बढाउनु पर्छ, र हरेक नागरिकलाई राम्रोसँग पढेर जीवन उपयोगी सिप विकास गर्ने राम्रो वातावरणमा मिलाउनु पर्छ । त्यसो गर्दा मात्र हाम्रा कर्णधारहरूले यो देशको अझ विकास गर्न सक्ने हुन्छन् ।

नेतृत्व वर्गलाई तालिम दिएर सक्षम बनाउनु पर्छ र शिक्षकको पनि राम्रो तालिम हुनुपर्छ । त्यसो गर्दा सिकाइ भनेको किताव पढेर मात्रै सिक्ने होइन, तर कक्षाकोठा र बाहिरका धेरै सामग्री उपभोग गरेर सिक्ने वातावरण हुनुपर्छ । विज्ञानका प्रयोगशाला, खेल्ने मैदान, थरी थरीका खेल सामग्री,  बाद्यवादन र सङ्‍गीतका सामग्री, राम्रा पुस्तकले भरिएका पुस्तकालय, विद्यालयमा अब हुनु जरुरी छ । यसो भए मात्र विद्यार्थीले राम्रो सिक्न सक्ने आधारभूत मापदण्ड पूरा हुन्छ ।

नर्वे, फिल्याण्ड किन अगाडि गए ? उनीहरु ९०, १०० बर्ष अघि हामी जस्तै थिए । सबैभन्दा महत्त्वपूर्ण शिक्षा हो भनेर काम गरेपछि उनीहरू आज त्यहाँ पुगेका हुन् । अरु देश पनि यसरी नै शिक्षालाई प्राथमिकतामा राखेर मात्रै अगाडि बढेका छन् । ससाना बालबालिका र मानव स्रोतमा उनीहरूले लगानी गरिरहेका छन् । नेपाल भने यसमा चुकिरहेको छ । यसलाई हामीले कसरी हेर्ने, शिक्षामा कसरी ध्यान केन्द्रित गर्ने भन्‍नेमा हामीले सोच्‍न जरुरी छ । वृहत् छलफल गर्न जरुरी छ ।

माथिका पाँच बुँदामा काम गर्नको महत्त्व राज्य संयन्‍त्रले बुझ्नुपर्छ र यो बुझाइलाई साझेदारहरूको सामु प्रष्ट पारिदिनु पर्छ र मार्गदर्शन दिनुपर्छ । अनि मात्र हामी बढ्छौँ उन्‍नतिको बाटोमा ।

 अन्त्यमा,

आज ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका नारी दिवस हो । नारीहरूसँग एक्स क्रोमोजोम छ । त्यसैले हामी शक्तिशाली छौँ । संस्कार समाजले तल राख्यो भन्दैमा हामी तल पर्ने होइन । नारीलाई विद्यालय जानबाट बञ्‍चित हुन नपरोस् । परिस्थिति नराम्रो छैन । नेपालका महिलाले जुनसुकै ठाउँमा, सबै क्षेत्रमा गरिखान सक्छन् । हामीले काम गर्ने धेरै अवसर पाएका छौँ । पाएको अवसरलाई सदुपयोग गरेर नेपालको मुहार फेर्ने अभियानमा सबैलाई जुट्न र हातोमालो गर्न आग्रह गर्न चाहन्छु ।

(लेखक रातो बङ्गला फाउन्डेसनका अध्यक्ष तथा रातो बङ्गला स्कुलका निर्देशक हुनुहुन्छ । उहाँसँग इडियु पत्रले गरेको कुराकानीको अंश)