After SEE Portal

सुदुरपश्चिम प्राविमा कम शिक्षक उत्तीर्ण

Bridge Course

शिक्षक सेवा आयोगले शिक्षक छनोटका लागि गत वर्ष गरेको विज्ञापनको नतिजा धमाधम प्रकाशन गरिरहेको छ ।

माध्यमिक तह र निम्न माध्यमिक तहका शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले सिफारिस गरेका माध्यमिक तहका शिक्षक अपवाद बाहेकका ठाउँमा नियुक्ति पाइ सकेका छन् भने निम्न माध्यमिक तहका शिक्षक नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । भने, प्राथमिक तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिरहेको छ ।

आयोगको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षामा माग गरेभन्दा कम उम्मेदवार उत्तीर्ण भएका छन्। आयोगले प्रावि तहको १३ हजार बढी रिक्त दरबन्दीको लागि २०७८ पुस १४ गते विज्ञापन गरेको थियो।

आयोगले गत चैत्र १९ गते र ०७९ साल असार १३ गते लिएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजाअनुसार ६ ओटा जिल्लामा कम उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका हुन्।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार दार्चुलामा १३२ जना माग गरिएकोमा १०२ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्। त्यस्तै, बैतडीमा २०४ जना माग गरिएकोमा २०३ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्।

त्यसैगरी, बझाङमा ९६ जना माग गरिएकोमा ७७ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्। त्यस्तै, डडेलघुरामा ९५ जना शिक्षक माग गरिएकोमा ८५जना मात्र अन्तर्वार्ताका लागि सिफारिस भएका छन्।

त्यसैगरी कैलालीमा ७४ जना माग गरिएकोमा ८१, कञ्चनपुरमा ७६ जना माग गरिएकोमा ८०, र बाजुरामा ७३ जना माग गरिएमा ६५ जना अन्तर्वार्ताका लागि सिफारिस भएका छन् ।

त्यस्तै,अछाम जिल्लामा १३७ जना शिक्षक माग गरिएकोमा १३५ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्। त्यस्तै डोटीमा १४८ जना माग गरिएकोमा १३४ जना मात्र छनोट भएका छन् ।

शिक्षक सेवा आयोगले पाठ्यक्रम परिवर्तन गरी दुई चरणमा परीक्षा लिने प्रणालीको सुरुवातले गर्दा माग कोटाभन्दा कम उत्तीर्ण भएको हुनसक्ने शिक्षा विकास निर्देशनालय दिपायलका शाखा अधिकृत उवम् सुचना अधिकारी कृष्ण बोहराले बताए।

उनले भने,‘आयोगले पहिले एकै चरणमा एकसय पूर्णांकको विषयगत परीक्षा लिन्थ्यो उक्त परीक्षामा उत्तीर्ण भएकाहरू अन्तर्वार्तामा सहभागी हुन पाउने व्यवस्था थिया। तर त्यो व्यवस्था परिवर्तन गरी पहिलो चरणमा एकसय पूर्णांकको वस्तुगत परीक्षा उत्तीर्ण भइसकेपछि मात्र दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने प्रावधान छ।’

आयोगले माध्यमिक तहका लागि एक हजार ५५२ पदका लागि विज्ञापन गरेकोमा एक हजार १८२ जनाको मात्र नियुक्तिकालागि सिफारिस भए । माविमा आवश्यकताभन्दा ३७० जना कम शिक्षक सिफारिस भए ।

त्यसैगरी, आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको दुई हजार ५९८ रिक्तदरबन्दीका लागि लिएको परीक्षाबाट नियुक्तिका लागि आवश्यकताभन्दा १०५ जना कम शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ। उक्त पदको लागि ८८ हजार ५१९ जना परीक्षार्थी सामान्य परीक्षामा सामेल भएका थिए ।

 आयोगका अनुसार आन्तरिक प्रतिस्पर्धाबाट हुने बढुवामा समेत माग संख्याअनुसार शिक्षक सफल हुन सकेनन् । १७५ पूर्णाङ्कको परीक्षा सञ्चालन गर्दा सय अंक कटाउने शिक्षक अत्यन्तै कम भेटिएका छन् ।

विभिन्न तहमा अझै ५३ हजार १ सय ५८ जना शिक्षकको दरबन्दी नपुग रहेको सरकारी प्रतिवेदनले नै औँल्याएको छ ।

राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य पुष्परमण वाग्ले नेतृत्वको टोलीले सार्वजनिक गरेको प्रतिवेदनमा माध्यमिक तहमा २४ हजार ३ सय ८४ विषयगत शिक्षक र अन्य तहमा समेत गरी नपुग ५३ हजार १ सय ५८ थप शिक्षकको व्यवस्था गर्न सरकारलाई सुझाएको छ । सो प्रतिवेदनले ६ हजार ४३० माध्यमिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजीको विषयगत शिक्षकको व्यवस्थापन गर्नुपर्ने समेत सुझाएको छ । तर लामो समयपछि आयोगले गरेको विज्ञापनमा माग गरे अनुसार उम्मेद्वार उत्तीर्ण हुन नसकेपछि आयोगको आग्रहमा नीति अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययनमा विशेषज्ञहरूले शिक्षा शशास्त्र संकायमा रहेका कमीकमजोरीका कारण सार्वजनिक विद्यालयले शिक्षक अभाव व्यहोर्नुपरेको औंल्याएका छन् ।

A Levels MA
Thuprai - Books and E-books