सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । कक्षा १२ को परीक्षामा अर्कैको नाममा परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेको हुन् ।
पक्राउ पर्नेमा भोटखोला–४ की मनिशा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । खाँदबारी–३ को महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिने दिदी पक्राउ परेकी हुन् ।
बाल विकास सिकाइ विषयको परीक्षामा नक्कली परिक्षार्थी बनेर परीक्षा दिँदै गर्दा प्रहरीले मनिशालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुवेदीले बताए ।
अरुणोदय माध्यमिक लिङ्गम कक्षा १२ का विधार्थी अनुषा गुरुङको सट्टामा परीक्षा दिइरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली परिक्षार्थी मनिसालाई परिक्षा सञ्चालन भएको ४५ मिनेटपछि प्रहरीको जिम्मा लगाइएको महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङका केन्द्राध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए । पक्राउ परेकी मनिशालाई परीक्षा ऐनअनुसार कारबाही हुने जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख केशव भट्टराईले बताए । नक्कली परीक्षार्थी पक्राउ परेको सङ्खुवासभाको पहिलो घटना हो ।