राष्ट्रिय परीक्षा बोर्डले एक महिना अघि अध्यक्षका रुपमा डा. महाश्रम शर्मालाई पायो । उनै शर्माले आफ्नो पदभार सम्हालेसंगै हाल सम्म गरेका काम तथा भावी रणनीति तथा कार्ययोजनाका विषयमा इडियुसञ्जालले इडियु टकको ११६ औं श्रृखलामा गरेको कुराकानीको सारसंक्षेपः
अहिले सम्म के कस्ता कार्यसम्पादन गर्नुभयो ?
म आउँदा-आउँदै पुरक परीक्षा सञ्चालन हुँदै थियो । त्यसपछि नतिजा निकाल्ने लगायतका काम भए । नतिजा पछि थप परीक्षा सञ्चालन हुँदै छ । नतिजा प्रकाशनका नियमित काम भयो । मुख्यतयः विद्यार्थीहरु बोर्डमा दुःखपूर्ण तरिकाले लाइनमा बस्नु पर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि अनलाइन प्रणालीमा लाने सन्दर्भमा काम अघि बढेको छ । सकेसम्म छिटो विद्यार्थीलाई सेवादिन काम भएको छ । त्यो बाहेक परीक्षा तयारी एसईईको तयारी भएका छन् । कक्षा ८, १० र १२ को स्तरीकृत परीक्षा सञ्चालनका विषयमा विगतमा भएका प्रश्नपत्रको बैङ्क तयार गर्ने विषयमा काम अघि बढेको छ । केही आन्तरिक व्यवस्थापन र केही रिफर्मका काम भएका छन् । निकट भविष्यमा धेरै काम गर्न बाँकी छ । कोभिडका कारण विद्यालय तथा विज्ञसंग अन्तरक्रिया तथा छलफल गर्ने विषयमा समस्या सिर्जना गरेको छ । केही अनलाइन छलफल भए पनि अन्य बाँकी छ । भौतिक उपस्थितिमा छलफल गर्न बाँकी छ । अब यी कामलाई लाइनमा राखेर अघि बढ्छौं ।
अबको एसईई कसरी र कस्तो विधिबाट हुन्छ ?
एसएलसी १९९० देखि अहिलेसम्म कक्षा १० को परीक्षा विगतमा एसइलसीका नाममा हुन्थ्यो अहिले एसईईको रुपमा आएको छ । एसईई हुन्छ कि हुँदैन भन्नु भन्दा कुनै पनि विद्यार्थीको निश्चित अवधि पुगेपछि परीक्षा हुन्छ । हरेक कक्षाको अन्त्यमा परीक्षा हुन्छ । नेपालको सन्दर्भमा विगत देखि नै कक्षा १० को परीक्षा स्तरीकृत रुपमा हुँदै आएको छ । स्वदेश तथा विदेश वा सरकारी वा गैर सरकारी संस्थामा रोजगारीमा प्रवेश गर्दा वा माथिल्लो श्रेणीमा अध्ययनका लागि भर्ना हुनका लागि मानकका रुपमा स्तरीकृत रुपमा परीक्षा हुँदै आएको छ । आगामी दिनमा पनि कक्षा ८ को स्थानीय कक्षा १० को प्रदेश र कक्षा १२ को राष्ट्रिय स्तरमा गर्ने गरी काम भइरहेको छ । ऐन नियममा पनि यसरी नै सञ्चालन हुने गरी बनाउनुपर्छ । राष्ट्रिय परीक्षा बोर्डमा कक्षा १० को वैशाखमा कक्षा १२ को परीक्षा जेठमा गर्नेगरी तयारी भएको छ ।
परीक्षाको तालिका कहिले आउँछ ?
परीक्षाको तालिका सामान्यतयाः तीन महिनाअघि प्रकाशन हुने गर्थो । विगतमा चैत्रमा परीक्षा हुँदा तीन महिनाअघि नै तालिका प्रकाशन हुन्थ्यो । तर कोभिडका कारण एसईई तोकिएको समयमा हुन सकेन । परीक्षा पटक पटक सर्यो । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई बोर्डले प्रमाणीकरण गर्यो । यस्ते परिवेश हुँदाहुँदै २०७७ मा हुनु पर्ने परीक्षा २०७८ मा मात्र भयो । यो वर्षको परीक्षा कक्षा ११ को भर्नामा अवरोध नपर्नेगरी एसईई गर्ने तयारी भइरहेको छ । वैशाखदेखि सुरु हुनुपर्ने पठनपाठन साउन भदौमा मात्र भएको छ । दुर्गम क्षेत्र लगायत सबै ठाउँमा चैत्रसम्म पढ्न पाउनुपर्छ भनेर तालिका प्रकाशनमा केही ढिलाइ भएको हो । अहिले कोभिडको कारण विश्वविद्यालय तथा लोकसेवाका परीक्षा स्थगित छन्, सरकारले चुनाव गर्ने कुरा आएको छ । त्यसैले यी तमाम विषयलाई लिएर बोर्डले वैशाखमा सहज किसिमले परीक्षा सञ्चालन गर्न सक्ने अवस्था भएका कारण छिट्टै तालिका सर्वाजनिक गर्छौं ।
कक्षा १२ को परीक्षा जेठमा संभव छ त ?
कुनै पनि काम गर्दा बोर्डले समय तालिका बनाएर नै गर्ने गरेको छ । वैशाखमा १० को लिए पछि जेठमा १२ को परीक्षा लिने भएको हो । यो वर्षको शैक्षिक वर्ष तथा आगामी शैक्षिक वर्षमा क्षति नहुने गरी परीक्षा योजना बनाउँदै छौं ।
कक्षा ११ को परीक्षा आन्तरिक मूल्याङ्कनबाट हुने भएपछि यसको उपलब्धि कक्षा १२ मा कसरी जोड्न सक्छौं ?
बोर्ड परीक्षा तथा मूल्याङ्कन सम्बन्धि नीति नियम निर्माण गर्ने नियामक निकाय हो । समग्र हिसाबले परीक्षाका हरेक नतिजालाई विश्लेषण गर्ने परीक्षालाई कक्षा कोठासंग जोड्ने काम गर्छ । अबको परीक्षा प्रणाली हिजोको जस्तो केन्द्रबाट, विद्यार्थीलाई त्रासमा राखेर गर्नुभन्दा विद्यार्थीको चौतर्फी मूल्याङ्कन गरेर तल्लो कक्षा देखि नै हरेक पक्षको मूल्याङ्कन गरेर प्रमाणीकरण गरी बजारमा योग्य जनशक्ति पठाउने हो । कक्षा ८ को परीक्षा स्थानीय स्तरबाट गरेर बोर्डले मापदण्ड तयार गर्ने, कक्षा १० को प्रदेशबाट गरेर मापदण्ड निर्धारण, फेसिलिटेसन गर्ने र कक्षा १२ को प्रमाणपत्रमा कक्षा ११ मा पढेका कुरा समावेश गरियो भने अन्तर्राष्ट्रिय स्तरको मान्यता पाउने हो ।कक्षा १२ को प्रमाण पत्र पाएका विद्यार्थीले विश्वको जुनसुकै विश्व विद्यालयमा भर्ना पाउनेगरी तल्लो तहबाट मूल्याकन गर्ने, त्यसका लागि पोर्टफोलियो बनाउने, परीक्षा प्रणाीलाई सुधार गर्ने, तीन घण्टाको परीक्षामा लेखेर पास गर्ने भन्दा पनि विद्यार्थीको ओभरल पक्षको मूल्याङ्कन हुनु पर्छ, त्यस हिसाबबाट बोर्ड अघि बढ्छ । कक्षा ११ को विद्यालयले लिने परीक्षाको नतिजालाई कक्षा १२ मा रिफ्लेक्स हुने गरी व्यवस्थापन गर्नुपर्छ । विद्यार्थीको सही मूल्याङ्कन शिक्षकले नै गर्न सक्छ तर निश्चित तहमा स्तरीकृत परीक्षा हुन जरुरी छ ।
दुई-दुई ओटा परीक्षा नियन्त्रण कार्यालय रहनु जरुरी छ ?
हिजोको उच्च माध्यमिक शिक्षा परिषद् र परीक्षा नियन्त्रण कार्यालय मिलेर राष्ट्रिय परीक्षा बोर्ड बनेको हो । शिक्षा ऐनको ८ औं संशोधन पछि बोर्ड बनेर कार्यसम्पादन गर्दै आएको छ । यसको जानुपर्ने ठाउँ तत्कालीन अवस्थामा राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यलय बनेपछि यहाँका र त्यहाँका कर्मचारीलाई इन्टरचेन्ज गर्नु पर्ने थियो । कतिपय अवस्थामा त्यो बनिनसकेको अवस्था छ । यहाँ राष्ट्रिय परीक्षा बोर्डका केही कर्मचारीहरु तत्कालीन अवस्थामा उच्च माध्यमिक शिक्षा परिषद्का ऐन र छुट्टै विनियमावली अन्तर्गत कर्मचारी कार्यरत हुनु हुन्थ्यो । परीक्षा नियन्त्रण कार्यलयमा निजामती सेवाबाट आएका कर्मचारी थिए । दुवै खालका कर्मचारी मिलाएर एक-अर्कामा ओनरसिप हुनुपर्ने हो । मलाइ के लाग्छ भने, शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रक छुट्टै नियुक्त गर्ने अवस्था अब हुँदैन । परीक्षा नियन्त्रक कक्षा १० र कक्षा १२ जनशक्ति व्यवस्थापन सर्वेका आधारमा एउटा स्टक्चर बनाउन केही ढिला भएको मैले पाएँ । मेरो पहिलो प्राथमिकता भनेको संगठन संरचना परिवर्तन गर्ने हो । परीक्षा नियन्त्रण कार्यलय होइन राष्ट्रिय परीक्षा बोर्डभित्र कक्षा १२ हेर्ने महाशाखा र कक्षा १० सम्म हेर्ने महाशाखा हुन सक्छ, दुई छुट्टा छुट्टै परीक्षा बोर्ड हुँदैन । कक्षा १० को १९९० सालदेखिको अभिलेख व्यवस्थापन गर्नुपर्ने छ । अभिलेख व्यवस्थापन जरुरी छ । जन्ममिति लगायतका कुराले समस्या कक्षा १० को सर्टिफिकेटमा विभिन्न कुरा नमिलेर समस्या आएका कुरा छन् । त्यो अभिलेख महाशाखा नि हुन सक्छ । कक्षा १० को अभिलेख एक ठाउँमा र कक्षा १२ को अर्को अभिलेखालय बनाउन सकिन्छ । दुईटा परीक्षा नियन्त्रण कार्यलय हुँदैनन् । संगठन संरचना नमिलेर तत्कालीन अवस्थामा मात्र रहेको हो । कर्मचारी छुट्टै भन्ने कुरामा दुइटै परीक्षा नियन्त्रण कार्यलयलाई एउटै महाशाखाको हैसियतले राष्ट्रिय परीक्षा बोडले हेर्ने काम भइरहेको छ । शिक्षा मन्त्रालयले कर्मचारी पठाउँदा बोर्ड मार्फत् पठाउँछ । परिषद्का कर्मचारी र निजामती सेवाका कर्मचारी पनि दुईटै ठाउँमा काम गरिरहनुभएको छ । अबको व्यवस्थापन सर्वेबाट एउटै महाशाखाबाट काम गर्ने गरी अघि बढाउँछौं । यही माध्यमबाट काम अघि बढाउँछौं ।
हजुरका भावी कार्ययोजनाहरु के कस्ता छन् ?
व्यवस्थापन सर्वेक्षण गरेर दुईटै परीक्षा नियन्त्रण कार्यालयलाई एउटै महाशाखाबाट कार्य सम्पादन गर्ने, अभिलेखालय वा महाशाखा मार्फत् कार्य सम्पादन गर्ने । प्रादेशिक कार्यालयमा कार्यरत कर्मचारीहरु प्रोमोसन हुन सकेका छैनन् । अब त्यसलाई व्यवस्थापन गर्ने चुनौती पनि छ । राष्ट्रिय परीक्षा बोर्डको कार्यक्षेत्र र हिजोको परिषद् हुँदाको अवस्था केही फरक छ । अहिले पहिला जस्तो अनुमति दिने, कुरा हुँदैन । अहिले परीक्षालाई कक्षाकोठासंग जोड्न, परीक्षा व्यवस्थापन, नमुना प्रश्नपत्र निर्माण, परीक्षा विश्लेषण, परीक्षा सुधार तथा परिमार्जन, अध्ययन अनुसन्धान जस्ता कुरा यसको जिम्मेबारीमा आएको छ । कर्मचारीलाई सक्षम बनाउने काम गर्नुछ । दोस्रो काम भनेको राष्ट्रिय परीक्षा बोर्डले अहिलेसम्म नेपालभरका कक्षा १२ का विद्यार्थीलाई काठमाडौं धाउनु पर्ने कुरा छ । त्यसलाई नेटवर्किङ गरेर सूचना प्रविधिको मार्फतबाट प्रदेश तथा जिल्लाबाट प्रदान गर्नुपर्ने छ । तेस्रो भनेको परीक्षा प्रणालीमा तीन घण्टाको परीक्षामा विद्यार्थीको कुन के कुराको मूल्याङ्कन गर्यो भन्ने, तीन घण्टामा घोकेका कुराबाट मात्र मूल्याङ्कन गर्ने गरिएको छ । अब परीक्षालाई स्तरकृत गरेर चौतर्फी क्षेत्रको मूल्याङ्कन गर्नुपर्ने छ । विभिन्न प्रदेशमा प्रादेशिक परीक्षा सञ्चालन गर्नुपर्दा एउटै स्तरको परीक्षा सञ्चालन गर्दा स्तरकृत प्रश्नपत्र बैङ्क निर्माण गर्नुछ । यसको सुरुआत भए पनि परीक्षामा भने लागु भएको भने छैन । आगामी वर्षका परीक्षामा हामी त्यातिर जान्छौं । परीक्षा भनेको सहज किसिमले विद्यार्थीले हरेक क्रियकलाप जस्तै बोध, ज्ञान र अभिवृत्ति पक्षको मूल्याङ्कन गर्ने जस्तै ४ जीपीए ल्याउने व्यवहारमा लागु गर्न नसक्ने अवस्था छ यसलाई परिमार्जन गरेर सिपमूलक मूल्याङ्कन तथा परीक्षण गर्न जरुरी छ यो पनि मेरो कार्ययोजनामा छ । अर्को कुरा धेरै कुरा केन्द्रीकृत छ । हरेक किसिमबाट शिक्षकहरु प्रश्न निर्माण, उत्तरपुस्तिका परीक्षण हुँदै आएको छ त्यसैले अबका दिनमा कक्षाकोठालाई परीक्षासंग जोड्ने पनि कार्ययोजनामा परेको छ । अहिले सानो कुरा जस्तै जन्ममिति, नाम सञ्च्याउन समस्या झेलिरहेका छन् त्यसलाई सहज बनाउन विद्यालयदेखि नै परिमार्जन गरी क्षमता अभिवृत्ति गरी अटोमेसन गरी काम अघि बढाउने मेरो कार्ययोजना छ । यसका लागि सरोकारवालासंगको छलफलबाट तल्लो तहमा गएर पुरानो ढङ्गबाट नभई परिमार्जन गरी अघि बढ्नु पर्नेछ ।
अन्त्यमा, सरोकारबालालाई केही भन्न चाहनुहुन्छ ?
सबै सरोकारवलालाई परीक्षा मूल्याङ्कन र कक्षा कोठा एकअर्काका परिपुरक हुन् । त्यसैले विद्यार्थीको सिकाइ उपलब्धिको मापन गर्ने कुरा परीक्षाले गर्छ । बार्षिक रुपमा गर्ने परीक्षालाई अझ व्यवस्थित गर्दै आन्तरिक मूल्याङ्कनको माध्यमबाट जानुपर्छ । बाह्य परीक्षाको सन्दर्भ कक्षा ८ पछि स्थानीय, कक्षा १० मा प्रादेशिक र कक्षा १२ पछि राष्ट्रिय रुपमा परीक्षा गर्ने कुरा अघि बढेको छ । यही हिसाबले परीक्षाको तयारी गर्दै जान अनुरोध गर्दछु ।