काठमाडौँ, २८ फागुन (रासस) : रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ ।
आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । दरखास्त दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् ।
भाषा परीक्षाका लागि इपिएस शाखाको वेबसाइट https://eoers.epsnepal.gov.np/ बाट अनलाइनमार्फत फारम भर्न सकिने छ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिने छ ।
कोटा बढ्यो
यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साविकको कोटा यस पटकदेखि केही सङ्ख्यामा वृद्धि भएको छ । सन् २०१९ का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ ।
पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ ।