Thuprai - Books and E-books

महामारी, शिक्षा क्षेत्रका जिज्ञासा र समाधान

कोभिड १९ को सर्वत्र चिन्ता छ । यसले समाज विकासको गतिलाई ठप्प प्रायः पारेकोछ । शिक्षा, कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा मात्र हैन, नयाँ नयाँ प्रविधिको विकासलाई पनि निरन्तरता दिन सकिएको छैन । समग्र मानिसको ध्यान कोभिड तिर नै केन्द्रित छ ।

जनताको ध्यान यसको संक्रमण कसरी रोक्ने, कसरी जोगिने, आज कुन ठाउँमा कति संक्रमित भए यता तिर छ । सरकारको ध्यान यसको असरबाट जनतालाई कसरी जोगाउने, कसरी नियन्त्रण गर्ने भन्नेमा छ । सुरक्षाका सबै निकायको ध्यान शान्तिसुरक्षा र यसको व्यवस्थापनमा केन्द्रित छ । आर्थिक जगतको ध्यान कसरी सुरक्षित र प्रभावकारी तरिकाले आर्थिक गतिविधिहरू सञ्चालन गर्ने भन्नेमा छ । यस्तै किसान, मजदुर, कर्मचारी, पत्रकार लगायत सबैका आ-आफ्नै चिन्ता र चासो छन् । यस्तै परिस्थितिको माझमा यहाँ शिक्षा क्षेत्रका चिन्ता र चासोको विषयमा केहि विषय समेट्ने कोशिस गरिएको छ ।

विद्यार्थी

एकान्त बस्तीको बसाइ छ । रिजल्ट थाहा पाईयो । भर्खर पुस्तक पाइएको छ । अब कसले पढाउने हो । आँफै पढ्नु पर्ने हो कि । शिक्षकहरू आफ्नो बस्तीमा हुनुहुन्न । विद्यालय कहिले लाग्ने हो ।आफूले मात्र पढेर पनि के होला र सरहरूलाई थाहा नै हुँदैन । कताकता सुनेको अर्को वस्तिमा त सरहरूले कहिलेकाहिँ आएर पढाउन थाल्नु भयो रे ।

विद्यालयले पुस्तक बाँड्यो । टोलमा आएर शिक्षकहरूले पढाउने खबर पठाउनु भएको छ । कतै चौतारी, कतै पुरानो खाली घर र कतै खाली स्थानमा आएर पढाउँदै हुनुहुन्छ । बाआमाले त्यहाँ नजाने होकि भन्नुहुन्छ । संक्रमण फैलिएला कि भनेर सरहरू पनि डराएर पढाउनुहुन्छ । कहिले नजिकै कसैलाई पोजेटिभ भयो रे भन्ने सुनिन्छ त कहिले नयाँ मानिसहरू आए रे भन्ने हल्ला ।

यस्तो हल्लैहल्लाको माझ कसरी पढ्ने, के सिक्ने अनि सरहरूले कसरी सिकाउने होला । कहिले कुन विषय कतिञ्जेल पढ्ने समय मिलाउनै गाह्रो । सबै साथीहरू पनि आउँदैनन् । स बैबस्तीमा पढाइ पनि भएको छैन । खुल्ला ठाउँ पानि पर्छ, साँघुरो ठाउँमा कोचिएर बस्नुपर्छ । भौतिक दुरी पालना गर्ने भन्ने त हो तर कसरी ? स्यानिटाइजर, मास्कको कुरा पनि त सुनेको हो । सर्वसुलभ छैन । साबुन पानि सधैभरि सबैतिर कसरी पाउनु र ?

अब रेडियो हुनेहरुका लागि त्यसैबाट पढाइ हुन्छ रे भन्ने सुनियो । खुशी लाग्यो । अभिभावकसँग रेडियो मागेर पढाएको सुँने । किताब हेर्दै सुन्न त सजिलो भयो । कापीमा टिप्न गाह्रो । नबुझेको कुरा कसरी सोध्ने । होमवर्क पाइयो कसलाई देखाउनु र फेरी ? एउटा रेडियो सबैले पालो गरेर सुन्दै पढियो । घरमै बसेर पढ्न सिक्न पाइने बाहिर निस्कनु नपर्ने हुँदा सहज भयो ।

घरमा टेलिभिजन हेरेर पनि किताबमा भएका विषयहरू सिक्न पाइयो । सोध्न, कापिमा टिप्न र गृहकार्य देखाउन नपाए पनि रमाइलै भयो । विद्यालयको भन्दा फरक शिक्षकले पढाउनुभयो । दाई र बहिनीको पनि कक्षा यसरी नै भएकाले राम्रै भयो । तर ठूलो दिदीले उहाँको मनपरेको सिरियल आएको बेला र बाबाले अर्को च्यानलबाट समाचार सुन्ने बेलामा चाहि छुट्यो । बिजुली नआएको बेला त कसैले पनि टेलिभिजन हेर्दै सिक्न पाइएन ।

घरमा कम्प्युटर छ । त्यसमा पढ्ने सामग्री राखेर पनि किताबका कुरा पढ्न सिक्नमिल्छ । सान्दर्भिक सिकाइ सामग्री पाए त रमाइलै हुन्छ । नबुझेको कुरा दोहोर्‍याएर हेरिन्छ । सबै विषय र शीर्षकको भए अझ राम्रो हुने थियो । मेरोमा त एउटा कम्प्युटर मात्र छ, त्यसैमा ३ जना समय मिलाएर हेर्छौ । सरसँग पनि सम्पर्क हुँदैन । गाह्रो भएको सोध्ने कसलाई होला त्यो चाहिँ समस्या छ । बाबाले यहि कम्प्युटरमा मिलेर पढ है भन्नुहुन्छ । आँफै समय मिलाएर पढ्छौँ । बिजुली नभएका बेला चाहिँ समस्या हुन्छ । घरमा एउटा मात्र कम्प्युटर अनि अफिसको काम पनि त्यहिबाट गर्नेलाई चाहि झनै गाह्रो हुन्छ ।

घरमा कम्प्युटर अनि ईन्टरनेट पनि छ भने चाँहि सिकाइ सामग्री पाउन अलि सहज हुन्छ । अझ मोवाइलबाट पनि प्रयोग गर्न पाउने भएमा झन राम्रो हुन्छ । शिक्षकहरूसँगको प्रत्यक्ष सहभागितामा अनलाईन कक्षा हुने, प्रश्‍नोत्तर र छलफल पनि गर्न पाईने अवस्था हुन्छ । तर कक्षामा पढाए जस्तै पुस्तक खोलेर पढाइ भयो भने त वैकल्पिक सिकाइ भयो या भएन भन्ने हुन्छ । सान्दर्भिक सामग्री भएमा यो विधिबाट सिकाइ राम्रो, प्रभावकारी र समयानुकूल पनि हुन्छ ।

यसरी सिकाइलाई निरन्तरता दिइरहेको अवस्था भएपनि सबैको मनमा जिज्ञासै जिज्ञासा छन् । यति गरेर सिकियो । परीक्षा हुन्छ कि हुन्न होला । पुस्तक, रेडियो, टेलिभिजन र कम्प्युटर जेबाट सिके पनि कक्षा चढ्न पाइने हो कि हैन । एउटै कक्षाका विद्यार्थीहरू हरेकले यी फरकफरक सामग्री प्रयोग गरेर सिकेको कतिको प्रभावकारी हुने हो । एकरूपता नहुने हो कि भन्ने चिन्ता छ ।

अन्तिममा आएर मेरो विद्यालय कस्तो भयो वा कुन होला ? मेरो कक्षा शिक्षक को होला ? साथी भाइहरू कस्ता भए होला भन्ने त छँदैछ ।

अभिभावक

यस्तो महामारीको अवस्थामा आफ्नो नानीबाबुहरूले विभिन्न तरिकाबाट सिक्ने मौका पाइरहेका भएमा विद्यालय, शिक्षक, स्थानीय तह, विभिन्न सेवाप्रदायकहरूसँग अभिभावकहरू खुशी नै भएको पाइन्छ । कठिन परिस्थितिमा बालबालिकाहरूलाई केहि समय मात्र भए पनि सिकाइ प्रक्रियामा सहभागी गराएकोमा उपयोगी भएको बताएका छन् । खालि समयमा बाहिर खेल्नजाने, हुनाले कोरोना संक्रमणमा पर्ने डर केहि मात्र भएपनि कम भएकोछ । तर अभिभावकको यो सन्तुष्टि भन्दा बढी अलमल्ल पर्ने अवस्था सुनिएकोछ । पुस्तक पाएका छन् । धेरै ठाउँमा कसले सिकाउने होला भन्ने पी रछ । कतैकतै चाहिँ टोलमा भइरहेको पढाइमा पठाउनु भन्छन् त्यहिबाट संक्रमण सर्ने पो हो कि । रेडियो टेलिभिजनवाट सिक्ने पनि समय मिलाउन कठिन भएको गुनासो छ । कम्प्युटर र मोवाईलबाट सिक्नेको चाहि उपकरण कम भएका कारण समस्या भएको सुन्न पाईन्छ । ईन्टरनेट डाटाबाट चलाउनु पर्नेको भने खर्चिलो विधि भएको, स्लो भएकाले स्पष्ट नसुनिएको कारण प्रभावकारी नभएको भन्ने मत पनि धेरैको छ । नियमित विजुली नआएको कारण समस्या परेको भन्ने त छँदैछ ।

अर्को तिर महामारीको बेला बाहिर जानु नपर्ने भएता पनि जुनसुकै विधिबाट सिकाइ भएपनि अभिभावक सँगसँगै बस्नै पर्ने बाध्यता परेको पनि बताउँछन् । एकभन्दा बढी नानिबाबुहरू भएकोमा हरेकले उपकरण मागेर कचकच गरेको अवस्था पनि सुनिन्छ । कतैकतै यी सबै समस्याको समाधानको रूपमा ट्युसन पढाउने चलन पनि प्रसस्तै भएको सुनिएकोछ । यस्तोमा फेरी संक्रमण सर्ने चिन्ता त छँदैछ । जे होस् यी सबै कारणले अभिभावकको नियमित शिक्षामा सँधैको भन्दा खर्च बढेकोछ । यो सबै गरेर पनि परीक्षा र कक्षा चढ्ने वा के हुने भन्ने अनिश्‍चितता छँदैछ । रोजगारी गुमाएका वा कम भएका अभिभावकहरूलाई भने अतिरिक्त चिन्ता थपिएकोछ ।

शिक्षक

लामो समय भयो नियमित शिक्षण सिकाइमा सहभागी हुन पाइएको छैन । विद्यार्थीको नतिजा निकालेर पुस्तक सम्म त जसोतसो बाँडियो । कतै कतै टोल शिक्षा भनेर सार्वजनिक स्थानमा विद्यार्थी जम्मा गरेर सिकाउने क्रम भएकोछ । तर त्यहिबाट संक्रमण सर्ने हो कि भन्ने चिन्ता छ । पर्याप्त मास्क र स्यानिटाइजर पनि पाइँदैन । कतै अनलाईन पढाउनु पर्छ भन्ने कुरा आएकोछ । कम्प्युटर छैन, ईन्टरनेटको त कुरै छाडौँ । कम्प्युटर भएपनि डाटावाट चलाउनुपर्छ । कति खर्च लाग्ने हो, थाहा छैन । अनलाईनमा कसरी जोडिने हो ? के पढाउने हो ? जानकारी छैन । कुन सामग्री सिकाउने हो, अनि विद्यार्थीसँग कसरी जोडिने हो । ईन्टरनेट हुनेको पनि हालत उस्तै छ । डिजिटल सामग्रीबारे पर्याप्त जानकारी छैन । कति विद्यार्थीहरू आउनेहुन् त्यो पनि थाहा छैन ।

लकडाउन अगाडी घर आइयो । यो खुल्छ अनि विद्यालय जाउँला भनेर बसियो । बल्ल सबैतिर खुलेको भन्ने कुरा आएकोछ । नजिकको जिल्लावाट जानेको त पिसिआर टेष्ट गर्नुपर्ने, बस्न दिन घरबेटीले पनि अप्ठ्यारो मान्ने, १४ दिन क्वारेण्टिनमा बस्नै पर्ने । त्यति गरेरपनि पढाउन पाइने हो कि हैन, बस्तीमा कतिबेला संक्रमित भेटिन्छन । अनि फेरी टोल शिक्षा पनि बन्द । घरपरिवारबाट पनि उत्तीकै चिन्ता । परीक्षा कसरी गर्ने ? नियमित नहुने विद्यार्थीलाई कसरी सिकाउने, एउटै कक्षाका पनि कसैलाई पुस्तकबाट अनि कसैलाई रेडियो टेलिभिजन अनि कोही अनलाईन रे । अभिभावक पनि अलमल आफ्नो किताव पढ्छ, छिमेकि रेडियो अनि बजार नजिकको अनलाईन एकै कक्षाका यीनको भिन्नता वारे के जवाफ दिनुहोला । यति हुँदाहुँदै पनि बसिबसि जागिर खाए भनेर असन्तुष्टि जनाउनेहरू उत्ति नैछन् ।

सरकार

बढ्दो संक्रमणको अनिश्चितताका कारण यसलाई व्यवस्थित गर्न सरकारबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी भएकोछ । यस अनुसार कक्षागत कार्यपुस्तिकाहरू तयार भएकाछन् । अनलाईन पोर्टल https://learning.cehrd.edu.np/ तयार र सञ्चालन भएकोछ । शिक्षकहरुलाई कार्यक्षेत्र जान भनिएको छ । अधिकांश शिक्षकहरू कार्यस्थल गएर निर्देशिकाको मर्म अनुसार सम्भव भएसम्म वैकल्पिक विधिको प्रयोग गरेर शिक्षण कार्य गरेकाछन् । तर शिक्षण सुरु भएका केहि टोल वा पालिकामा संक्रमित भेटिएकाले फेरी अनिश्चितकालिन बन्द भयो । कतिपय स्थानमा कहिले खुल्ने निश्चित छैन । सरकार पर्ख, हेर अनि सुरक्षित स्थानमा वैकल्पिक विधि मध्ये उपयुक्तबाट सिकाइ सुरु गर्नुपर्छ भन्ने मान्यतामा छ ।

शिक्षक र विद्यार्थी टोलमा भेला हुँदा कोहिबाट संक्रमण फैलियो भने के गर्ने भन्ने चिन्ता छ । यसरी देश भरमा कति पालिकाका कति बस्तीहरूमा शिक्षण भएकोछ तथ्यांक छैन । पालिकागत रूपमा कति विद्यार्थीहरू कुन वर्गमा छन् समष्टिगत तथ्यांक छैन । वैकल्पिक विधिबाट पनि कति शिक्षण भयो थाहा छैन ।

कार्यपुस्तिका कति ठाउँमा पुग्यो, कति प्रयोग भयो थाहा छैन । विद्यालय नियमित खुल्ने मिति सार्वजनिक नभए पनि अब आलो पालो वा टोल शिक्षण अनिवार्य गर्नैपर्ने भएकोछ । शैक्षिक शत्र नविगार्ने र पाठ्यक्रम संकुचन गरेर सिकाइ सक्ने गरिको योजना तयार भएकोछ । विगतमा अनलाईन शिक्षण भएकोमा शुल्क लिने कि नलिने ठुलै विवाद भएको थियो । हाल यसको निर्क्योल गर्ने अधिकार स्थानीय तहलाई दिइएकोछ ।

अब के गर्ने त ?

हाम्रो देशको शिक्षाक्षेत्रको अहिलेको चित्र यस्तै छ । शिक्षाक्षेत्रका समग्र सरोकारवालाहरूको आवाजलाई प्रतिनिधिमुलक ढंगले यहाँ प्रस्तुत गरिएको हो । अब यसलाई हल गर्न सामुहिक योजनाबनाएर लाग्नैपर्छ । एकपक्षले अर्कोलाई दोषी देखाउने,आफू पञ्छने, रमिता हेर्ने, असन्तुष्टी मात्र राख्‍ने समय हैन । यसका लागि सरोकारवालाहरूले केहि त गर्न सकिन्छ नि ।

कोभिड १९ हाम्रो लागि अभिसाप नै हो । यो कहाँबाट र कसरी आयो भन्ने भन्दा पनि यसवाट कसरी जोगीने, कम क्षति हुन दिने र क्रमशः कसरी मुक्त हुने भन्ने तिर ध्यान जानुपर्छ । यसले पारेका अप्ठ्याराहरू के कस्ताछन् र कसरी समाधान गर्ने क्रमशः त्यता जानुपर्छ । हामीले छलफल गरीरहेको शिक्षाक्षेत्र यसबाट पुर्ण रूपले प्रभावित भएको छ । स्वास्थ्य र सुरक्षा पहिलो सर्त हो । पर्याप्त सचेतना अपनाऔँ । यसका लागि नेपाल सकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ सबैले कार्यान्वयन गरौँ । घरमा भएका उपकरण र सुविधाहरूको आधारमा सम्भव भएसम्म चाँडो विद्यार्थीहरू वर्गीकरण गरौँ । आ-आफ्नो स्थानीय तहमा सबैको तथ्यांक पठाउन र अपडेट गर्न नभुलौ । अब स्थानीय तह अनुसारको तथ्यांक प्रदेश र केन्द्रमा पठाऔँ । यसलाई कति समय लाग्छ, तत्काल योजना बनाऔ । समयमै पुरा गरौँ । अब हामीसंग सबै स्तरको तथ्यांक तयार हुन्छ ।

यसका आधारमा दोश्रो चरणको योजना, अनुगमन, सहयोग र मुल्यांकन गरौँ । विद्यार्थी वर्गीकरणका पाँच आधारमा हाल उपलव्ध सामग्री संकलन गरेर स्थानीय तहमा पठाउन ढीला नगरौँ । सामग्री अपुग भए बनाउँदै क्रमशः पठाउँदै गरौँला । छपाइ सामग्री करिव पुरा छैँदैछन् । पाठ्यपुस्तक यस अघि नै अधिकांस ठाउँमा पुगेकैछ । सरकारी र गैरसरकारी स्तरबाट कार्यपुस्तिका तयार भएकाछन् । यीनलाई पनि स्थानीय तहसँगको सहकार्य र मुल्यांकनको आधारमा सम्भव भएसम्म आवश्यक स्थानमा पुर्‍याऔँ । अनि रेडियो र टेलिभिजनका लागि तयार भएका कार्यक्रम पनि प्रभावकारी तरिकाले उपयोग गरौँ । विषयगत विज्ञहरुको सहयोगमा थप तयार पार्दै गरौँ । हाल अधिकांस स्थानीय तह समेटीने गरि रेडियोको पहुँच छ । केहि स्थानीय तहको निश्‍चित गाउँवस्तिमा नसुनिने अवस्था होला । त्यसलाई तयारीको काम अगाडी बढाउँदै गरौँला । तथ्यांकको आधारमा कहाँको कुन रेडियो र टेलिभिजनबाट कति प्रशारण गर्ने त्यही अनुसार नक्साङ्कन गर्दै काम सुरुवात गरौँ । यसका लागी स्थानीय तहहरूको अगुवाइ जरुरीछ । साथै नियमित सहयोग, अनुगमन, मूल्यांकन र पृष्ठपोषण दिने काम गरिरहौँ ।

सूचना प्रविधिको युग छ । अधिकांस स्थानीय तहको कार्यालयमा ईन्टरनेट सेवा भएको सुनिन्छ । अद्यावधिक भइरहौ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रको अगुवाईमा हाल उपलव्ध सबै प्रकारका सामग्री संकलन र वितरण हुनुपर्छ । हाल तयार भएका https://learning.cehrd.edu.np/, https://www.pustakalaya.org/ जस्ता वेभसाइटमा उपलव्ध डिजिटल सामग्रीलाई स्थानीय तहहरूवाट आएको तथ्यांकको आधारमा सम्भव हुने ठाउँमा क्रमशः अनलाईन वा अफलाईन तरिकाबाट प्रयोग हुने वातावरण मिलाउनुपर्छ । कम्प्युटर, मोवाईल, ट्याव्लेट जस्ता उपकरण भएका अभिभावकहरूलाई यस्ता सामग्री प्रयोगमा उत्साहित गरौँ । शिक्षकलाई अपडेट हुन भनौँ जस्को जे अवस्था छ, त्यहिबाट सुरु गरौँ । तत्काललाई हरेक विद्यालयमा प्रविधिमा पुर्ण जानकार शिक्षक हुनैपर्छ भन्ने छैन । केहि शिक्षकहरू जसले यस्तो प्रविधिमा काम गर्नसक्छन् । तिनबाटै सुरु गर्ने वातावरण बनाऔँ । क्रमशः यी शिक्षकबाट अन्य शिक्षकहरू उत्पादन हुन्छन् । यसमा स्थानीय तह शिक्षा, युवा तथा खेलकुद शाखाको अगुवाइ हुनुपर्छ ।

हाल विद्यमान सरकारी नितिनियम र जनशक्तिको परिचालन र प्रयोग हुनुपर्छ । यसबाट अपुग भएमा नयाँ जनशक्ति परिचालन र खोजी भन्दा पनि हाल काम गरिरहेका निजि र गैरसरकारी क्षेत्रको जनशक्तिलाई पनि काममा लगाउनुपर्छ ।

सिकाइ सहजिकरणका पाँचै विधिबाट सबैले प्रयोग गरेपछि प्रयोगकर्ताको नियमित पृष्ठपोषणको आधारमा अद्यावधिक भइरहने वातावरण बनाउनुपर्छ । संघिय, प्रदेश वा स्थानीय सरकार कहाँबाट ईन्टरनेट सेवा प्रदायकहरूसँग सहकार्य गरेर सरकारी मान्यता प्राप्त सामग्री भएका वेभसाईटहरुलाई नितान्त शैक्षिक प्रयोजनका लागि सके सधैभरी वा नसकेमा यो शैक्षिक शत्र भर मात्र भएपनि निःशुल्क वा न्युनतम शुल्कमा प्रयोग गर्न सकिने वातावरण बनाउनुपर्छ ।

स्थानीय तहहरुले डिजिटल शैक्षिक सामग्रीहरू प्रयोग गर्न आफ्नो क्षेत्र भित्र सम्भव भएसम्म कम्प्युटर, मोवाईल, ट्याव्लेट वा यस्तै उपकरण चलाउने व्यवस्था मिलाउनु पर्छ । व्यक्तिगत वितरण गर्दा धेरै लागत पर्ने हुनाले प्रयोगकर्ताको आधारमा सामुहिक प्रयोगको लागि स्थानीय तहबाट घुम्ती तरिकाले उपलव्ध गराउने वातावरण मिलाउनु उपयुक्त हुन्छ । निश्‍चित समुदायको तोकिएको स्थान र समयमा वालवालिकाहरूले यस्ता उपकरणमा राखिएका डिजिटल शैक्षिक सामग्री प्रयोग हुने वातावरण मिलाउनुपर्छ । यसरी शैक्षिक सामग्री सहितका उपकरण प्राप्त भएपछि स्थानीय स्तरमा उपलव्ध मध्ये योग्य शिक्षकवाट सहजिकरण गर्ने वातावरण मिलाउन सकिन्छ ।

अहिले विद्यार्थी जहाँ छ त्यहाँको साधनश्रोत सामग्री प्रयोग गर्न वातावरण बनाउनुपर्छ । शिक्षकहरूलाई आफ्नो कार्यक्षेत्रमा जान कठिन छ भने जो जहाँछन् त्यहिको स्थानीय तहसँग समन्वय गरेर सहयोग गर्न लगाउनुपर्छ । सहज वातावरण भएपछि शिक्षक विद्यार्थी आफ्नो ठाउँमा जाने सुविधा छँदैछ । पाठ्यक्रम एकै र शैक्षिकशत्र समान भएका स्थानमा आजको विषम परिस्थितीमा यो सुविधा दिन अप्ठयारो मान्न हुँदैन । शैक्षिक शत्रको अन्तिममा जस्तो अवस्था हुन्छ । त्यहि अनुसार विद्यार्थीको स्तरवृद्धि हुने वातावरण बनाउनुपर्छ । यसको क्षतीपुर्ति गर्न आगामी वर्षका लागि तिनै तहका सरकारहरूले प्याकेजमै योजना तयारीमा लाग्नुपर्छ ।

समुदायस्तरमा शिक्षण गर्दा भने सुरक्षाका उपायहरूवारे पुर्ण सचेत हुनुपर्छ । न्युनतम स्वास्थ्य सजगता, मास्क, स्यानिटाइजर जस्ता उपकरण र सामाजिक दुरी कायम राख्‍ने जस्ता विषय कडाइका साथ पालन गर्नुपर्छ । कुनै वस्तिमा संक्रमण सुरु भएमा, शंका लागेमा वा नयाँ स्थानबाट कुनै व्यक्ति आएमा सम्बन्धित वडा कार्यालय वा तोकिएको ठाउँमा तुरुन्त जानकारी गराउने गरिको चुस्त सुचना प्रणाली विकास गर्नुपर्छ ।

सहज ठाउँमा गुडिरहेको गाडीलाई केहि अप्ठ्यारो ठाउँ आए पछि त्यहाँबाट निस्कन अलि बढी शक्ति प्रयोग गर्नुपर्छ । हालको अवस्था यहि हो । अन्य क्षेत्रका अतिरिक्त शिक्षाक्षेत्रलाई पनि चलायमान राख्‍न सबै सरोकारवालाहरूले सजगताका साथ लाग्नुपर्छ । आधारभुत काम बाहेक अन्य के पुग्यो या पुगेन वा के गर्नुपर्थ्यो भन्ने कुरा क्रमशः गर्दै गर्नुपर्छ । यसो भए मात्र बिद्यार्थीहरूले केहि मात्रामा भएपनि सिकाइलाई निरन्तरता दिन सक्छन् ।