After SEE Portal

कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन नपाइने

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक बालविकास शाखा) ले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

केन्द्रले  प्रवेश परीक्षा लिने र सोसँग सम्बन्धित तयारी कक्षा सञ्चालन गर्ने जस्ता कार्य यदि भएका भए आआफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन र भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्वन गर्न लगाउन  सवै स्थानीय तह र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय र सहजीकरणका लागि सवै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई निर्र्देशन दिएको छ ।

शिशु विकास केन्द्रको अवधारणा अनुसार स्थापना भएका मण्टेश्वरी र संस्थागत विद्यालयका पूर्व प्राथमिक कक्षाहरुमा बालबालिकाको सर्वाङ्गीण विकास हुने क्रियाकलाप नगरी पढाउने, घोकाउने तथा कण्ठ गराउने एवम् यस्तै प्रकृतिका गृहकार्य दिने र कतिपय विद्यालयहरुले कक्षा १ मा भर्नाको लागि प्रवेश परीक्षा लिने गरेको पाइएको छ ।  प्रवेश परीक्षाका लागि भनेर विभिन्न ठाउँमा तयारी कक्षाका नाममा बालबालिकाहरुलाई महिनौं देखि घोकाउने कण्ठ गराउने जस्ता बालबालिकाको सृजनात्मकता र अन्तर्निहित प्रतिभामा हानी पुग्ने जस्ता कार्य हुने गरेको भनी  सरोकारवाला र विज्ञहरूसमेतबाट गुनासो  आएको हुँदा मण्टेश्वरी र संस्थागत विद्यालयका पूर्व प्राथमिक कक्षामा बालबालिकाको सर्वाङ्गीण विकास हुने क्रियाकलाप मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गर्भावस्थादेखि ८ वर्षसम्मको उमेर प्रारम्भिक बालविकासको समय भएको र यस उमेर समूहका बालबालिकालाई सर्बाङ्गीण विकास हुने खालका क्रियाकलापहरुमा बढी संलग्न गराउनु पर्ने  निर्देशन पत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रिय शिक्षा नीति, २०७६, अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धी ऐन, २०७५ र सोको नियमावली २०७७, शिक्षा ऐन २०२८ र नियमावली, २०५९ विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम २०७७ र आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रम २०७६ ले शिशुविकास केन्द्र, प्रारम्भिक बालविकास पूर्व प्राथमिक शिक्षा र आधारभूत तह (कक्षा १–३) मा बालबालिकाको भर्ना, विकास तथा सिकाइ क्रियाकलाप सञ्चालन, विकास तथा सिकाइको मूल्याङ्कन एवम् स्तरीकरण सम्वन्धमा स्पष्ट मार्गदर्शन गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books