पाल्पा, ५ असोज (रासस) ः ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ ।
गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनीयरिङ विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादनमा सहज हुने र बढ्दो बेरोजगार समस्या पनि समाधान हुने बताउनुभयो ।
यस वर्ष प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्बाट विद्यालयलले सिभिल इञ्जिनीयरिङ विषय सञ्चालन गर्ने अनुमिति पाएपछि पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक जनार्दन पाण्डेयले जानकारी दिनुभयो । उहाँले प्राविधिक शिक्षा अध्ययनका लागि गाउँपालिका भन्दा बाहिर सदरमुकाम धाउनुपर्ने बाध्यता हटेकोे बताउनुभयो ।
विद्यालयले यस वर्ष बढीमा ४८ विद्यार्थीलाई पढाउन सक्ने गरी व्यवस्थापन गरिएको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थर्कबहादुर पुन मगरले गाउँमा प्राविधिक धारको शिक्षाको विकासले दक्ष जनशक्ति उत्पादन हुने र गाउँको विकासमा सहयोग पुग्ने समेत बताउनुभयो । उक्त विद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी छन् ।