Bachelors Portal

प्रविधियुक्त शैक्षिक विकासमा जोड’

पर्वत, १९ माघ (रासस) : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अबको युगमा प्रविधियुक्त शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । 

पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै तिमिल्सिनाले अब परम्परागत शैलीको शिक्षालाई पूर्ण रुपमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले प्रत्येक स्थानीय तहमा एक–एक वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन हुनुपर्ने बताउँदै कम्तीमा माध्यमिक तहको शिक्षा पूरा गरेपछि कुनै न कुनै विषयमा दक्ष बनोस् र रोजगारी वा स्वरोजगारमूलक काम गर्न सकोस् भन्ने उद्देश्यका साथ तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले अब शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो नेपाल बन्न नहुने बताउँदै स्वदेशमै लिएको शिक्षाले स्वदेशमै रोजगार गर्न सक्ने वातावरण निर्माण गर्न सकेमा मात्र मुलुकले छिटो फड्को मार्ने उहाँको भनाइ रहेको थियो । अध्यक्ष तिमिल्सिनाले मुलुकले बिस्तारै गति लिँदै गएको बताउँदै अबको पाँच वर्षभित्रमा नागरिकले अपेक्षा गरेभन्दा पनि धेरै विकास हुने बताउनुभयो । 

तमिल्सिनाले अबको पाँच वर्षभित्रमा पर्वतका अधिकांश सडक कालोपत्र गर्ने, घरघरमा खानेपानीलगायत आधारभूत सुविधा पु¥याउनका लागि आफू निरन्तर सक्रिय रहने बताउनुभयो । उहाँले पूर्णेश्वर माविमा प्राविधिक शिक्षालय सञ्चालन गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद पदम गिरीले तीनै तहका सरकारको आवश्यक समन्वय र सहकार्यबाट समृद्ध पर्वत जिल्ला बनाउनका लागि निरन्तर लागिपरेको बताउनुभयो । उहाँले अबको पाँच वर्षभित्रमा सरकारले गरेका सबै प्रतिबद्धता र थालेका योजना सम्पन्न हुनेमा विश्वस्त हुन आग्रह पनि गर्नुभयो । 

Thuprai - Books and E-books