एलन मस्कको बालजीवनी नेपाली भाषामा प्रकाशन

सामाजिक सञ्जालको क्षेत्रमा विशेष पहिचान बनाएका ४७ बर्षीय अमेरिकी व्यावसायी एलन मस्कको बालजीवनी नेपाली भाषामा प्रकाशन गरिएको छ । विविध खालको प्रयोग गरेर चर्चामा आइरहने उनको बालजीवनीलाई कथालयले नेपाली भाषामा प्रकाशन गरेको हो ।

अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेजी र नेपाली भाषामा प्रकाशन गरेको छ । कथालयले ‘भविष्यका पाहुना’ शीर्षक दिएर उनको बालजीवनी सार्वजनिक गरेको छ । यसकामूल लेखक लुसिने अलेक्सेनयन हुन् भने थोमस शाहिन्यानले चित्र बनाएका हुन् । नेपालीमा विमलकुमार सुवेदीले अनुवाद गरेको पुस्तकको सम्पादक भिक्टर प्रधानले गरेका छन्।

‘दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मेका मस्क सानैदेखि जिज्ञासु थिए । ‘संसार कहाँबाट सुरु भएर कहाँ टुंगिन्छ’ भन्ने प्रश्न सोधेर अरूलाई हैरान पार्थे । छिटै पढ्न थालेका उनले आठ वर्षको हुँदा त घरको पुस्तकालयमा भएका सबै पुस्तक पढिसकेर इन्साइक्लोपेडिया हेर्न थालिसकेका थिए । केवल १२ वर्षको उमेरमा उनी आफैले कम्प्युटर गेम विकास गरे । त्यसलाई बेचेर उनले औषधि कम्पनीको सेयर किने । यसरी कलिलै उमेरदेखि उनको सपनाले मूर्त रूप लिँदै गयो ।’ कथालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ १९८८ मा विद्यालयको पढाइ सकेर उनी उच्च शिक्षाका लागि क्यानडा पुगे । कहिले नातेदारको फार्ममा त अहिले आरावालका रूपमा पनि काम गरे । १९९२ मा उनी अमेरिकाको पेन्सलभानियाँ पुगे र भौतिकशास्त्र र अर्थशास्त्रको अध्ययनमा लागे । भाइसहित उनले ‘जिप २’ इन्टरनेट कम्पनी स्थापना गरे । पछि उनीहरुले कम्पनी बिक्री गरे । मस्कको भागमा २ करोड २० लाख डलर हात पर्यो, जतिबेला उनी २७ वर्षका मात्रै थिए । पछि उनी ‘पे–पाल’को सहसंस्थापक बने ।’

उनले २०११ मै कुनै पनि बेला मानिसलाई मंगल ग्रहमा पठाउने वाचा गरेका थिए । त्यो प्रयास उनले थालिसकेका छन् । २०१८ उनले अन्तरिक्षमा पठाइएका मध्ये सबैभन्दा शक्तिशाली यान ‘फाल्कन हेभी’ मंगलग्रह पठाएका थिए ।

पुस्तकमा एलन मस्क सानो छँदाका बानीव्यहोरा, पारिवारिक अवस्था, उनको सिकाइ प्रक्रिया, आफ्नो सपना र त्यसलाई साकार पार्न गरेको संघर्षका बारेमा उल्लेख गरिएको छ । यो पुस्तक ६ वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, छलफल गर्न तथा ९ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न सक्नेछन् । नेपाली र अंग्रेजी दुवै भाषामा २८ पृष्ठको दुवै शीर्षकको पुस्तकको मूल्य २ सय ८० रुपैयाँ राखिएको छ ।