विद्युतीय पुस्तकालय विकास गर्दै कीर्तिपुर


काठमाडौँ, २४ साउन (रासस)ः कीर्तिपुर नगरपालिकाले स्थानीयवासी तथा सामुदायिक विद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्युतीय पुस्तकालयको विकास गर्ने भएको छ । 

नगरपालिकाले स्थानीयवासी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई पछिल्ला विकास प्रविधिमा आबद्ध गरी नवीनतम् ज्ञान उपलब्ध गराउने नीतिअनुसार उक्त पुस्तकालय स्थापना हुन लागेको छ । विद्युतीय माध्यमबाट पुस्तकलाई पढ्न सकिने व्यवस्था नै विद्युतीय पुस्तकालय हो । 

सूचना र प्रविधिको विकाससँगै आधुनिक समाजमा पुस्तकालय अध्ययन, अनुसन्धान तथा ज्ञानको खोजले मानिसको चेतना वृद्धिसहित सफल बनाउँछ भन्ने अवधारणाबाट उक्त पुस्तकालय स्थापना खोल्न लागिएको नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले बताउनुभयो । बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएपछि परम्परागत रुपमा सञ्चालन हुँदै आएका पुस्तकालयको विकल्पका रुपमा विद्युतीय पुस्तकालयको महत्व बढ्दै गएको छ । 

सफ्टवेरको माध्यमबाट कम्प्युटरमा पुस्तकलाई डिजिटलाइज गरेपछि त्यहाँ भएका पुस्तकलाई विद्युतीय पुस्तकालयमा गएर अध्ययन गर्न सकिन्छ । यस्ता पुस्तकालयमा पढ्नका लागि सूचना प्रविधिको ज्ञानको समेत खाँचो गर्दछ । विद्युतीय माध्यम (कम्प्युटर, ल्यापटप र मोबाइल) को प्रयोगसम्बन्धी ज्ञान नभएका सर्वसाधारणले विद्युतीय पुस्तकालयबाट ज्ञान हासिल कठिन हुन्छ । 

पाठकले इच्छाएको कृति, पुस्तक तथा किताबको नाम टाइप गरेपछि सम्बन्धित पुस्तक पढ्न सकिन्छ । हालै सम्पन्न नगरसभाले स्वयंसेवी शिक्षकको व्यवस्थासहित पुस्तकालय सञ्चालन गर्ने तथा शैक्षिक केन्द्रका रुपमा कीर्तिपुरलाई परिचित गराउनेलगायत विषयलाई अनुमोदन गरेको छ । चालु आवको प्रथम चौमासिकभित्र सो पुस्तकालय सञ्चालन गर्ने नगरपालिकाले अठोट लिएको छ । पुस्तकालय विकास गरी समुदायलाई सचेत बनाउने उद्देश्यसहित आगामी भदौ १५ गते १०औँ राष्ट्रिय पुस्तकालय दिवसको मूल नारा ‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमूना पुस्तकालय’ भन्ने थियो । 

एउटा किताबलाई धेरै जनाले पढ्नसक्ने भएकाले पनि यसको प्रयोग बढ्दै गएको हो । समयको व्यवस्थापनमा सजिलो, पुस्तकालय चाहर्नुपर्ने झञ्झट नहुने र चौबिसै घण्टा आफूले चाहेको पुस्तक विद्युतीय माध्यमबाट पढ्न सकिने भएकाले यसको प्रयोग बढेको छ । विद्युतीय पुस्तकालयमा शिक्षक नभए पनि विद्यार्थीले आफूलाई चाहिएको विषयका पुस्तक सजिलै खोजी अध्ययन गर्न सक्छन् । 

शिक्षा मन्त्रालयको पुस्तकालय शाखाले अहिले देशका अन्य सामुदायिक विद्यालयमा पनि विद्युतीय पुस्तकालयको स्थापना गर्न प्रेरित गरिरहेको छ । विद्युतीय पुस्तकालयमा पुस्तक हराउने, चोरिने र नष्ट हुने डर नहुने हुँदा यसको प्रयोग बढाउन स्थानीय विद्यालयलाई मन्त्रालयले प्रोत्साहन गरिरहेको छ । शिक्षा विभागले यस्तो पुस्तकालयको सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरिसकेको छ । 

विसं २०६६ देखि विद्युतीय पुस्तकालयको शुरुवात गरेपछि साझा शिक्षा ‘ई’ पार्टीले अहिलेसम्म करिब २० हजार पुस्तक तथा चार हजार स्वास्थ्य शिक्षासम्बन्धी पुस्तकलाई भिडियो बनाएर विद्युतीय पुस्तकालयमा समावेश गरेको ई पार्टीका प्रशासक टीकाराज कार्कीले जानकारी दिनुभयो । 

कीर्तिपुर नगरपालिका–२ का वडाध्यक्ष रमेशमान डंगोल दुर्लभ पुस्तक तथा सर्वसाधारणको पहुँचमा नरहेका पुस्तकलाई डिजिटलाइज गरेर विद्युतीय पुस्तकालयमा राख्नुपर्ने सुझाव दिनुहुन्छ । राष्ट्रिय संस्कृति निर्माणमा कीर्तिपुरको सभ्यता र संस्कृतिको विशेष महत्व रहेको बताउँदै उहाँले स्थानीय भाषालाई समेत प्राथमिकता दिई उक्त पुस्तकालयमा समावेश गरिने जानकारी दिनुभयो । एकै पटकमा धेरै जनाले एउटै विषयवस्तुलाई अध्ययन गर्न सक्ने र पाठ्य सामग्रीको अभाव नहुने भएकाले ग्रामीण क्षेत्रमा विद्युतीय पुस्तकालयको प्रभाव बढिरहेको पाइन्छ । 

मुलुकको पहिलो विश्वविद्यालय रहेको उक्त नगरपालिकामा विभिन्न स्थानबाट आउने विद्यार्थीले उच्च शिक्षा हासिल गरेको भए पनि स्थानीयवासीले त्यहाँबाट अपेक्षाकृत लाभ लिन सकेका छैनन् । उच्च शिक्षा अध्ययनका लागि अति विपन्न वर्ग र समुदायका जेहेन्दार विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति उपलब्ध गराउने नीतिसमेत लिएको छ । 

– कृष्णराज गौतम 

Thuprai - Books and E-books