उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आठौं राष्ट्रिय महाधिवेशन आज देखि सुरु भएको छ ।
महाधिवेशनमा ‘नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदानको विषयमा हिसान शिक्षा बहस’ का लागि आधा दर्जन भन्दा बढी कार्यपत्र प्रस्तुत गरी त्यसमा छलफल हुने भएको छ ।
दुई दिनसम्म चल्ने महाअधिवेशनमा छलफल पछि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया पुरागरी भोलि महाधिवेश समाप्त हुने छ ।
विदेशिने युवा शक्ति स्वदेशमा नै रोक्ने वातावरण तयार गर्नुपर्नेः राष्ट्रपति भण्डारी
महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्सेनि हजारौं युवा जनशक्ति विदेशिने गरेको हुँदा ती जनशक्तिलाई स्वदेशमा नै रोक्न सबै संवेदनशील हुनुपर्ने बताइन् । ‘शिक्षा क्षेत्रको गुणस्तर अन्तर्राष्ट्रिय क्षेत्रसंग प्रतिस्पर्धा गर्न सक्ने बनाउने धेरै काम गर्न बाँकी छ ।’ उनले भनिन्, ‘शिक्षाको विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको छ ।’
महाधिवेशनलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ७५३ ओटै स्थानीय तहमा प्राविधिक धारका शिक्षा पुर्याउने प्रकिया सुरु भइसकेको जानकारी दिए । ‘शिक्षामा काम गर्न ऐन नभएर अल्मिलिएको छ ।’ उनले भने, ‘चाँडै संघीय शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन, उच्च शिक्षा ऐन, चिकित्सा प्रतिष्ठान ऐन ल्याइने छ ।’ ऐनको मस्यौदा कानुन मन्त्रालयमा थन्किएको हुनाले नवनियुक्त कानुन मन्त्रीलाई समेत यो काम तत्काल अघि बढाउन आफूले व्यक्तिगत रुपमा भेटेर सुझाएको मन्त्री पौडेलले जानकारी दिए ।
प्रधान मन्त्री कार्यालयका राज्य मन्त्री उमेश श्रेष्ठले शिक्षामा सरकारले गर्दै आएको १० प्रतिशत लगानी अत्यन्तै न्यून भएको बताए । उनले शिक्षामा प्रगति गर्न सार्वजनिक र निजी क्षेत्रमा साझेदारी गर्नुपर्नेमा जोड दिए ।
सो उद्घाटन सत्रमा कार्यपत्र प्रस्तुत गर्दै हिसानका अध्यक्ष रमेश सिवालले शिक्षामा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गरे ।
महाधिवेशनमा विभिन्न शिक्षालयबाट ६ सय प्रतिनिधि र ५० जना पर्यवेक्षकसहित ६५० जनाको उपस्थिति रहने बताइएको छ ।