काठमाडौँ, १० कात्तिक (रासस) ः शिक्षासेवी एवं नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारत रहनुभएका मास्केको दिउँसो ३ः३० बजेतिर मस्तिष्कघातका कारण निधन भएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो ।
मस्तिष्कघातका कारण एक महीनाअघि उहाँ अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । मास्केको आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धूम्रबाराहीमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने महासङ्घका अध्यक्ष थापाले बताउनुभयो । ६७ वर्षीय मास्केका तीन छोरा र श्रीमती हुुनुहुन्छ ।
अमेरिकामा रहनुभएका उहाँका दुई छोरा फर्केपछि सोमबार मात्र दाहसंस्कार हुने भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक कोषाध्यक्ष रहनुभएका मास्केले सरकारी शिक्षकबाट निवृत्त भएपछि निजी शैक्षिक संस्था खोल्नुभएको थियो ।
स्वयम्भूस्थित जलजला शिशु सदनमा उहाँ सञ्चालक रहनुभएको थियो । विसं २०४३ मा भएको काठमाडौँ महानगरपालिका निर्वाचनमा उहाँलाई नेकपा (माले)को तर्फबाट प्रमुखको उम्मेदवार हुनुभएको थियो ।
मास्के राष्ट्रिय खेलकूद परिषद्को उपाध्यक्ष र निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को समेत महासचिव रहनुभएको थियो । तेह्रथुममा जन्मिनुभएका उहाँ हाल काभ्रेस्थित नमोबुद्धमा बस्दै आउनुभएको थियो ।