After SEE Portal

मानिस खुसी हुने शैक्षिक दर्शन

Bridge Course

मानवीय जीवनका केही शास्वत पक्ष छन् । यी पक्षलाई सबैले स्वीकार गर्नै पर्छ । हरेक मानिस जन्मेपछि मर्नै पर्छ । समय ढिलो चाँडो होला, तर यो धर्ती सबैले एक दिन छोड्नै पर्छ । साथीसँगी, इष्टमित्र, घरपरिवारबाट एकदिन सबै अलग हुनै पर्छ । जब व्यक्ति सुखमा रहन्छ आफन्त सबै जनासँगै हुन्छन् अझ कति त अगाडि नै हुन्छन् । तर दुःख एक्लै व्यहोर्नु पर्छ । आफ्नो भागमा परेको दुख बाँडिदैन् । दुःखको अनुभव बाँड्ने भ्रममात्र हो । 

एउटा उदाहरण लिउँ । विवाहमा जन्ती अगाडि हुन्छन् भने दुलाहा पछाडि हुन्छन् । तर मृत्यु यात्रामा मलामीहरु पछाडि हुन्छन् । नुन मिठो हुँदैन त्यही भएर यसमा कहिल्यै कीरा पर्दैन । तर गुलियो मिठाइमा छिट्टै कीरा देखिन्छन् । यसबाट के पाठ लिन सकिन्छ भने सत्य मिठो नहुन पनि सक्छ । दर्दनाक हुन्छ । जीवन झुठ सत्य हो भने मृत्यु दर्दनाक सत्य हो । यसैबाट थाहा हुन्छ सत्यको वास्तविकता । ऋषिमुनीले जीवनको यो सत्य बुझेको हुनाले उनीहरुमा यसलाई हेर्ने दृष्टिकोण फरक थियो । अभावमा पनि सन्तोष थियो । त्यतिबेला ऋषिमात्र नभएर आमजन पनि सन्तोषमै थिए भन्ने पढ्न पाइन्छ । खुसी भएकै सुन्न पाइन्छ । तर विविध भौतिक प्रगतिका साथमा पनि आजका मानिस बेचैनी, असन्तोष, तनाव र इर्ष्यामा बाँचिरहेका छन् । भएर पनि केही नभए जस्ता छन । तमाम भौतिक सुख साधन भएर पनि दुःखमा रहे जस्ता छन् धेरै मानिसहरु ।     

भनिन्छ, मानिसले सुख आर्जन गर्न वा कमाउन सक्छ तर खुसी खरिद गर्न सक्दैन् । मानिस आफ्नै पौरखले सुख खरिद गर्न सक्छ, भौतिक सुख सुविधा जम्मा गर्न सक्छ । तर यसो भन्दैमा सुखमा बस्ने सबैजनासँग खुसी हुँदैन भन्ने पनि होइन । सुखमा रहने सबैसँग खुसी नहुन पनि सक्छ भन्न मात्र खोजिएको हो । तर अर्कोतिर कति मानिससँग सुख सुविधा छैन, तर उनीहरु खुसीमा बाँचेका हुनसक्छन् । अनावश्यक महत्वाकाँक्षा नराखेका पनि हुनसक्छन् । वास्तविकतालाइ स्वीकार गरेर बसेका पनि हुनसक्छन् । 

यस धर्तीमा केही यस्ता मानिस होलान जोसँग सुख र खुसी दुवै होला । अनुमान गरौँ, यस्ता मानिसको सङ्ख्या यस धर्तीमा कति होला ? पक्कै पनि यस्तो सङ्ख्या न्यून नै छ होला । अब प्रश्न उठछ, के भएमा मानिस सुखी र खुसी रहन सक्ला त ? यो प्रश्न धार्मिक जस्तो लागे पनि वास्तविकता यस्तो मात्र पनि छैन । यो प्रश्न अहिलेको युगको अहम् प्रश्न हो । अझ कोभिड–१९ को त्रासमा यस्ता प्रश्न थप मुखरित हुन थालेका छन् । मानिसलाई आफ्नो असली हैसियत थाहा हुन थालेको छ । तसर्थ सुख र खुसीको विषयमा अब बहस गर्नै पर्ने भएको छ । यो नटुङ्गिने सुखको यात्रालाई कहाँसम्म लैजाने वा जान दिने भन्नेमा पनि सोच्नु पर्ने बेला आए छ ।

सुख मूलतः भौतिक पक्षसँग सम्बन्धित छ भने खुसी मानिसको मानसिक र आत्मिक संसारको विषय हो । सहर, ठूलो घर, गाडी, बैङ्क ब्यालेन्स आदिले पनि खुसी प्रदान नगर्ने हुन सक्छ । मानिसमा यी सबै चिज भएर पनि निकै तनाव र बेचैनीमा बाँचेका हुनसक्छन् । खुसीको समाजशास्त्र सुखको संसारभन्दा अलग छ । खुसी त अन्तर मनको विषय हो । सन्तोषको विषय हो । समभावको विषय हो । यसो भनिरहँदा गृहस्थ त्यागेर वनप्रस्थ नै गर्नुपर्छ भन्ने अर्थ लाग्ला । तर त्यसो पनि होइन । मानिसले कर्म गरेर नै खुसी पाउन सक्छ । यसका उपाय हुनसक्छन् भन्न मात्र खोजिएको हो । 

वास्तवमा सुख र खुसीको अर्थ के छ त ? नेपाली बृहत शब्दकोश सुखलाई आराम–सुविस्ताको अनुभव, अनुकूल स्थितिबाट हुने शान्तिको अनुभूति, हर्ष, आनन्द, खुसी, अर्काको भलाइ गर्न पाउँदाको रमाइलो बोध, प्यारो काम–कुरो मिल्दा वा इच्छापूर्ण हुँदाको मज्जा, सुविस्ता, आराम, उन्नति, प्रगति, शुभकल्याण, मङ्गल, आरोग्य, निरोगिता, तृप्ति, सन्तुष्टि आदिजस्ता शब्दावलीले अर्थ्याएको छ । तर खुसीलाइ मनको सुखदायी, हर्ष, प्रसन्नता आदिबाट व्याख्या गरेको छ । यहाँ पनि सुखको अर्थ धेरै ढङ्गबाट लगाइएको छ भने खुसीलाई सीमित शब्दबाट अर्थ्याइएको छ ।

माथि भनिसकियो कि सुख भौतिक पक्षसँग जोडिन्छ, यो आफैमा सापेक्षित हुन्छ । अवस्था र परिवेशले यसको सापेक्षित अवस्थालाई जनाउँछ । गाउँमा रहनुभन्दा सहरमा बस्नुलाई सुख मान्ने गरिन्थ्यो । सहरबाट आजित भएकाहरुले गाउँलाई ठीक मान्ने पनि गर्छन् । तर खुसी व्यक्तिको आत्मिक एवम् मानसिक अवस्थाले निर्धारण गर्छ भन्ने गरिन्छ ।

मानिसले सुख सुविधा कसरी प्राप्त गर्न सक्छ भन्ने बारेमा धेरै लेखिएका छन् । पूर्वीय दर्शनमा मानिसले खुसी प्राप्त गर्ने बारेमा बताइएको छ । पश्चिमाले मनोविज्ञानमा यस्ता पक्ष उजागर गरेका छन् । विभिन्न पुस्तकहरु लेखेका छन् । यिनै सन्दर्भमा रोन्डा ब्यार्नेको ‘द सेक्रेट, द पावर’ भन्ने पुस्तक पनि मानिस कसरी खुसी हुनसक्छ अर्थात् के गरेमा मानिस खुसी हुनसक्छ भन्ने विषयलाई ध्यानमा राखेर लेखिएका पुस्तकमध्ये एउटा चर्चित पुस्तकमा पर्छ । साइमन एण्ड सुस्टर युके लिमिटेड प्रशासक रहेको यस पुस्तक सन् २०१० मा प्रकाशित भएको थियो । व्यक्ति खुसी हुनका लागि भित्री चाहना चाहिन्छ, सकारात्मक सोच चाहिन्छ, आन्तरिक उर्जा बाहिर ल्याउनु पर्छ आदिजस्ता विषयमा पुस्तकको सन्देश केन्द्रित छ । 

भनिन्छ, मानिसको जीवनमा साना साना घटनाले ठूलो प्रभाव पार्न सक्छ । एक मिनेट वा सोभन्दा कम समयमा घटेका घटनाले व्यक्तिको जीवनको दिशा र गति बदल्ने सामर्थ्य राख्छन् । संवादको अन्तिम मिनेटमा महाभारत युद्ध नगर्ने निर्णय गरेको भए यस भूखण्डको इतिहास अर्कै हुन सक्थ्यो । पाण्डवहरु लाक्षागृहबाट बाहिर निस्कन नसकेको भए महाभारतको पूरा ‘डिस्कोर्स’ फरक हुन सक्थ्यो । 

पौराणिक कालमा मात्र नभएर आधुनिक समयमा पनि यस्तै मिनेट वा सोभन्दा कम समयमा भएका निर्णयले कसैलाई विजेता र कसैलाई हरुवा बनाएका छन् । व्यक्तिका जीवनका गति र यति बदलिएका छन् । जीवनका दिशा बदलिएका छन् । जित्नेहरु हार्न पुगे होलान् भने हार्नु पर्नेहरु जित्नेमा दरिए होलान् । शायद विजेताको इतिहास लेखिने भएकोले अरुको सम्झना गरिएन होला । धर्तीमा विजेताहरुको मात्र गुणगानसहित अभिलेख राखिन्छ । जतिसुकै असल र राम्रा भए पनि हरुवाहरु या त बिर्सिइन्छन् या नकारात्मक पात्रको रुपमा इतिहासमा उल्लेख गरिन्छन् । 

रोन्डा ब्यार्नेको ‘द सेक्रेट, द पावर’ पुस्तक पनि लेखिकलाई आफ्नी छोरीले सन् २००४ को सेप्टेम्बर ९ मा दिएको एक सय वर्ष पुरानो ‘द साइन्स अफ गेटिङ रिच’ भन्ने पुस्तकले जीवनको दिशा र गति बदल्यो भन्ने घटनाबाट सुरु गरिएको छ । डेढ घण्टामा पढेर सकिने उक्त पुस्तकले लेखकको जिन्दगीको बाँकी यात्रा बदलेको दावी लेखिकाको छ । आखिर एउटा पुस्तक वा घटनाले व्यक्तिको जीवनको मार्ग नै बदल्न सक्ने रहेछ । तर पढ्ने मानिस सबै किन बदलिएन होला त ? विषय सोचनीय छ । कतिले जीवनको दिशा बदल्ने घटना आएको गएको थाहै पाएनन् होला, या थाहा पाएर पनि अन्तिम समयमा गर्नुपर्ने भन्दा अर्कै निर्णय गरे होलान् । अनि उनीहरुमध्ये धेरैजना बिजेताको सूचिमा पर्न पाएनन् । तसर्थ जीवनमा भएका र हुने घटना जसले जीवनको मार्ग बदल्न सक्छ त्यसलाइ समयमै चिन्न सक्नैपर्छ भन्ने पाठ पुस्तकबाट लिन सकिन्छ ।   

रोन्डा ब्यार्नेका अनुसार हरेक व्यक्तिसँग अथाह क्षमता छ । सोच्ने शत्ति छ । सहन गर्ने क्षमता पनि छ र काम गर्ने क्षमता पनि हुन्छ । तर यस्तो क्षमता सुषुप्त अवस्थामा रहेको हुनसक्छ । सुषुप्त अवस्थामा रहेको क्षमतालाई के कसरी जगाउन सकिन्छ भन्ने विषय अत्यन्त महत्वपूर्ण छ । फेरी सबै व्यक्तिलाई एउटै उपायबाट जगाउन सकिन्छ भन्ने पनि छैन । कसैलाई पुस्तकका घटनाले काम गर्छ कसैलाई बुद्धलाई प्रभावित गर्ने रोगी, वृद्ध, मृत्यु जस्ता जीवनका सास्वत पक्षले प्रभावित गर्छन् । यही क्षमतालाई उनले आन्तरिक उर्जा अर्थात् पावर भनेकी छन् । यही पावर र प्रेमको माध्यबाट मानिसले धेरै काम गर्न सक्छ र खुसीसाथ रहन बाँच्न सक्छ भन्ने भनाइ लेखिकाको छ ।

२५० पेजभन्दा बढी पेजको यस पुस्तकमा लेखिकाका विचारलाई जम्मा १५ वटा शीर्षकमा बाँडिएको छ । अङ्ग्रेजी भाषामा रहेको यस पुस्तकको भाषा शैली अत्यन्त सरल छ । संवादको शैलीमा लेखिएको यस पुस्तक रोचक पनि छ । चित्र र तस्बिरले पुस्तकलाई अझ आकर्षक बनाएको छ । हालसम्म विश्वका ४६ भन्दा बढी भाषामा उल्था भइसकेको यस पुस्तक वास्तवमै उपयोगी र सान्दर्भिक छ ।

लेखिकाले आफ्ना मुख्य विचारलाई पुस्तकको १३ भागमा सविस्तार वर्णन गरेकी छन् । यी शीर्षक पावर (आन्तरिक उर्जा) र यसको प्रभावसँग सम्बन्धित छन् । पहिलो भाग पावरको परिचय र परिभाषासँग सम्बन्धित छ । मानिसको आन्तरिक उर्जालाइ पावर मानिएको छ । प्रेमका माध्यमबाट यसलाई जगाउन सकिन्छ । मानिसमा सकारात्मक सोच सिर्जना गर्न सकिन्छ । प्रेमकै माध्यमबाट सकारात्मक पक्षलाई आफूतिर आकर्षण गर्न सकिन्छ । यी सबैको बीउको रुपमा प्रेम अर्थात् लभ रहन्छ भन्ने मत लेखिकाको छ ।

व्यक्तिले अनुभव गर्ने विषयबाट सोच र विचार सिर्जना हुन्छ, विचारको प्रवाह हुन्छ । प्रेमपूर्वक अनुभव गर्न थालियो भने यसपछिका सबै कार्यमा सकारात्मक प्रभाव पर्छ नै । तसर्थ सकारात्मक सोचका लागि पनि प्रेमपूर्वक सकारात्मकढङ्गबाट अनुभव गर्नुपर्छ । साथै यस ब्रह्माण्डका हरेक पदार्थमा चुम्बकीय गुण हुन्छ । सकारात्मकढङ्गबाट अनुभव गरि सोचिएको अवस्थामा मानिसले वातावरणमा रहेका तरङ्गमध्ये सकारात्मक तरङ्गमात्र आकर्षित गर्छन् । यिनै तरङ्ग वातावरणलाई सकारात्मक बनाउन पनि सहयोगी बन्छन् । यिनै विषयमा पुस्तकको दुई भाग खर्चिइएको छ ।

पुस्तकको अन्य भागमा पावरसँग पैसाको सम्बन्ध, स्वास्थ्यको सम्बन्ध, अन्य व्यक्तिसँगको सम्बन्ध, आफ्नो उर्जाको आफैसँगको सम्बन्ध, जीवनसँगको सम्बन्ध आदिलाई उदाहरणसहित व्याख्या गरिएको छ । पावरको साँचोको रुपमा पनि केही पक्ष उजागर गरिएका छन् । समग्र पुस्तक नै पावर अर्थात् उर्जालाई केन्द्रमा राखेर तयार पारिएको छ ।   

पूर्वीय दर्शनमा गीता (जहाँ श्रीकृष्ण अर्जुनको संवाद रहेको छ)लाई उत्कृष्ट मानिएको छ । एकाग्रता, साधना र आत्मसंयमलाई जीवनका असल मार्गका रुपमा अर्थ्याइएका छन् । समग्र ब्रह्माण्डको एक अंशको रुपमा मानव रहेको अनुभूत गराउन गीतामा उपदेश शैली प्रयोग भएको छ । आत्मबल बढाएर कर्म गर्नु पर्छ भन्ने सन्देश गीतामा दिइएको छ । द पावर पुस्तक पनि गीताकै यही सन्देशको सेरोफेरोमा रहेको प्रतित हुन्छ । मानिसको सोच, संवेग, अनुभव नै सफलताका अचुक अस्त्र हुन भन्ने आशयबाट पुस्तक लेखिएको छ । प्रेम र सकारात्मक सोच जीवनका आदर्श उपाय हुन । मानिस खुसी हुने चक्रमा प्रेमले तस्बिर अनुमान गर्ने, अनुभव गर्ने, प्राप्त गर्ने र सिर्जना गर्ने भन्नेमा लेखिकाले पुस्तकको धेरै भाग खर्च गरेकी छन् । 

पुस्तक अध्ययन गर्दै गर्दा मेरो मनमा विचार आयो– अब हामीले शिक्षाको दर्शन बदल्ने बेला भएछ । गीताकै सन्देशको एक भागको वरिपरी बसेर तयार गरिएको यस पुस्तक संसरभर बिक्न सक्ने ? तर हामीकहाँ रहेको गीता सीमित व्यक्तिको दराजमा थन्केर रहनु पर्ने वा सीमित घेरामा रहनु पर्ने ? गीताका सन्देशलाई व्यवहारिकीकरण गर्नु नै अहिलेको आवश्यकता हो जस्तो लाग्छ । गीताका सन्देश पनि पश्चिमा पुस्तकबाट अर्कै शैलीमा सुन्नुपर्ने अवस्था सिर्जना हुनु आफैमा अचम्मको विषय भयो म आफूलाई । यस्ता विषयमा अब पश्चिमा पुस्तकको मात्र भर नपरौँ । 

शिक्षाको दर्शन बदलेर विद्यालय तहबाट सकारात्मक सन्देश दिने विषय समावेश गर्दै लैजानु पर्छ । हरेक दर्शन र धर्मका राम्रा पक्षहरु, जसले मनलाई नियन्त्रण गर्न सहयोग गर्छ । त्यसलाई पुस्तकमा राख्दा राम्रै हुन्छ । मनलाई नियन्त्रण गर्नका लागि मनोविज्ञानका पुस्तक त ठिकै होलान् । तर गीता, बुद्धवचन आदि विर्सेर पश्चिमा पुस्तकको मात्र भर नपरौँ । यसैमा बहस सुरु गरौँ । पश्चिमाहरुले हाम्रै सन्दर्भका आधारमा लेखेका पुस्तक उपयोगी हुने तर हाम्रा प्राचीन ग्रन्थ ‘पुरातन’ र काल्पनिक कथा मात्र कसरी हुन सक्छन् ?

पूर्वीय दर्शनका राम्रा पक्षहरुलाई व्यवहारिकीकरण गर्ने सन्दर्भमा दुई वटा दृष्टिकोण उपयुक्त हुनसक्छ । पहिलो आवश्यकता यसका बारेमा हाम्रा बालबालिकालाई कसरी सुसूचित गराउने भन्नेमा थप उपाय चाहिएको छ । दोश्रो, हाम्रा ज्ञान र दर्शनसमेत विदेशी भाषामा लेख्नु पर्छ वा उल्था गरिनु पर्छ, जुन अति आवश्यक भइसक्यो । यसबाट ज्ञानको प्रसार अन्य मुलुकमा गर्न सहयोग पुगोस् । 

हाम्रा बालबालिकालाई हामीले प्रदान गरेको ज्ञान र सोको विधि तथा प्रक्रियाका बारेमा समेत पुनर्विचार गर्न आवश्यक छ । सिनेमामा जस्तो ९० प्रतिशतभन्दा बढी समय ‘भिलेन’को राज र अन्तमा १० प्रतिशत समयलाई ‘हिरो’का भागमा परेको र त्यही हिरोको १० प्रतिशत समयलाई उपलब्धीमूलक मान्ने संस्कारमा परिवर्तन चाहिन्छ । पाउलो फ्रेइरेले भने जस्तै शब्दको अर्थ होइन कि अब त शब्द र जीवनको बीचमा रहेको सम्बन्ध र विरोधाभास खोज्न सक्ने बनाउनु आवश्यक छ । अब जीवनमा सफलताभन्दा पनि सफलताभित्र लुकेको सङ्घर्ष र कहानी पढाउनु पर्ने देखियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे भनेर सतही कुरा गरेर अब पुग्दैन । त्यसक्रममा सबैले भोगेका दुःखका कथा लेख्नुपर्छ, दुःखका कथा पढाउनु पर्छ । यस क्रममा भए गरेका कार्यहरुको जीवन्तताले मानिसलाई भित्रैदेखि बलियो बनाउनसक्छ । 

यति भन्दै गर्दा पुनः त्यही प्रश्नमा आइपुग्छ, के गरेमा मानिस खुसी हुन्छ त ? आफूले भनेअनुसार काम गर्न पाए खुसी हुन्छ त ? आफ्नै व्यवहारमा सुधार गरेर खुसी पाइने रहेछ । प्रसिद्ध वाचक बी. के. शिवानीका अनुसार मानिस खुसी हुनका लागि आफू बदलिनु जरुरी छ । अरुलाई बदल्न खोजेर मानिसले व्यर्थमा समय खर्च गरिरहेको छ । यस कामका लागि मानिसले धेरै आन्तरिक उर्जा खर्च गरिरहेको छ । व्यक्तिले भने अनुसारका सबै काम त कहाँ हुन्छन् र ? अनि यी काम भएनन् वा मानिसले भनेअनुसार गरेनन् भनेर आफ्नो आन्तरिक उर्जा खर्च गर्नु व्यर्थ छ । अरुलाई बदल्नै सकिन्न भन्ने होइन । उनका अनुसार आफू नबदलिइकन अरुलाई बदल्न खोज्नु बेकार छ । हरेक व्यक्तिसँग स्वस्थिति र परिस्थिति दुई वटा छन् । स्वस्थिति आफ्नो नियन्त्रणमा रहन्छ जसलाई बदल्न पनि सकिन्छ । तर परिस्थिति भनेको पर स्थिति वा अरुको स्थिति हो जसलाई बदल्न सजिलो छैन । 

 

 

A Levels MA