फोहर बेचेर आएको पैसाले बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।
तुलसीपुर बजारबाट उत्पन्न भएका फोहोरबाटै पुनः प्रयोग गर्न मिल्ने फोहोर बेचेर आएको पैसाले विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको सफाइ अभियानका संयोजक निमबहादुर बुढाथोकीले बताए।
सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण छ । ‘हाम्रो सरसफाइ अभियान एक सय ६४औँ हप्तामा प्रवेश गरेको छ, हामीले लामो समयदेखि तुलसीपुरमा प्रत्येक हप्ता सरसफाइ अभियान सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘यही क्रममा भेटिएका पानीका बोत्तललाई सङ्कलन गरेर यस्तै विपन्न विद्यार्थीलाई सहयोग गर्न थालेका छौँ।’ सोमबार विद्यालयमै पुगेर विद्यार्थीलाई कपी–कलम सहयोग गरिएको उनले जानकारी दिए ।
त्यो विद्यालयका ५० बढी विद्यार्थीलाई कपी र कलम सहयोग गरिएको उनले बताए । सो विद्यालयमा धेरैजसो विद्यार्थी अभिभावकविहीन छन् । विद्यार्थीदेखि अभिभावक टाढा भएकाहरू अध्ययन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले बताए। ‘यो विद्यालयमा अधिकांश सहाराविहीन र गरीब विद्यार्थी पढ्छन्’, उनले भने, ‘आर्थिक अवस्था कम्जोर भएकालाई यसरी सहयोग गर्नुले विद्यार्थीमा थप हौसला बढ्ने गर्छ।’
विसं २०४५ मा उक्त विद्यालय स्थापना भएको विद्यालयमा अहिले कक्षा ५ सम्म सम्म पठनपाठन हुन्छ । उक्त विद्यालयमा ८८ विद्यार्थी र सातजना शिक्षक कार्यरत रहेका छन्।