Thuprai - Books and E-books
Scholarship edusanjal

विद्यार्थीलाई कस्तो शिक्षा दिने ?

Admission edusanjal
Schools edusanjal

दक्षिण एशियाका नेपाल लगायत केही देशहरुको शिक्षापद्वति पूर्वीय सभ्यता अर्थात मान्यतामा आधारित छ । प्राचीनकालमा शिक्षा आर्जन (ज्ञान हासिल) गर्नका लागि गुरुकुलमा बसेर कठोर साधना गर्नुपथ्र्याे त्यसका लागि कठोर नियमको पालना गर्नुपथ्र्याे । गुरुवचनलाई अकाट्य वा अपरिवर्तनीय रुपमा हेरिन्थ्यो । तत्कालिन समयको लागि यो नै उत्तम प्रणाली थियो भन्नेमा दुइमत नहोला, यहि कुरा संस्कृतिको रुपमा विकास हुँदै आएको पनि हो ।

संस्कृतिलाई मानिसको जीवनशैलीका रुपमा परिभाषित गरिन्छ , यो परिवर्तनशील छ । यसका आधारमा भन्ने हो भने शिक्षा प्रणाली पनि परिवर्तनीय हो  र आवश्यकता पनि । आजको दिनसम्म पनि नेपालमा केही दुइ चार विद्यालयलाई बाहिर राखेर हेर्ने हो भने प्रतिस्पर्धात्मक शिक्षालाई नै सर्वाेपरी महत्वको शिक्षा ठानिन्छ तर गुह्य रुपमा हेर्ने हो भने गुरुकुलीय शिक्षा पद्धतिको निरन्तरता भने होइन । गुरुकुलीय शिक्षापद्धतिमा सबैलाइ समान रुपले हेरिन्थ्यो र आफ्नो रुचिको विषयमा निपुण हुने अवसर दिइन्थ्यो भन्ने कुराको सामान्य उदाहरण एउटै गुरुकुलबाट शिक्षित पाँच पाण्डवको पाँच विधामा निपुण हुनुवाट प्रष्ट हुन सकिन्छ । मेरो बुझाइमा प्रतिस्पर्धात्मक शिक्षा भनेको शैक्षिक संस्कृति भित्रको सबैभन्दा ठूलो विकृति हो । अब प्रश्न उठ्छ आफ्ना छोराछोरीहरुलाई कस्तो शिक्षा दिने विकृति रहित वा विकृति सहित ?

आफ्ना बालबालिकालाई नराम्रो शैक्षिक संस्कार दिन त न अभिभावक चाहन्छन् न शिक्षक नै त्यसैले अब विना प्रतिस्पर्धाको शैक्षिक संस्कार नै मुख्य गन्तव्य हुनुपर्छ । यसो भन्दै गर्दा कतिपयको मनमा प्रश्न उठ्न सक्छ प्रतिस्पर्धात्मक युगमा यो कसरी उचित छ ? यसका लागि हामीले यो बुझ्नु जरुरी छ कि एक्काइसौं शताब्दी प्रतिस्पर्धाको युग त अवश्य हो तर रोल नम्बर १ हुने होइन ,सधै राम्रो हुने हो यसका लागि अरुसँग प्रतिस्पर्धा गर्ने नभइ आफ्नो क्षेत्रमा अब्बल हुने हो । आफु १ नम्बर हुन्छु भन्ने दौडमा लाग्यो भने अरुलाई कमजोर बनाउनुपर्छ भन्ने गलत मान्यता पछ्याउन सकिन्छ अर्थात खुट्टा तान्ने प्रवृत्ति पनि बढ्न सक्छ । अहिलेको विश्वजगतलाई हेर्ने हो भने सधै सबै विधामा कोही पनि १ नम्बर छैन र पहिलो हुने दौडका खेलाडिहरु दैनिक रुपमा परिवर्तन हुँने क्रम पनि बढ्दो छ त्यसैले यो सोचाइवाट मुक्त हुन जरुरी छ ।

प्रतिस्पर्धात्मक शिक्षाले पार्ने अर्काे नकारात्मक प्रभाव भनेको मनोबैज्ञानिक प्रभाव हो । विभिन्न विद्यालयमा परिक्षाका प्राप्ताङ्कका आधारमा रोल नम्बर राख्ने प्रवृति अझै देख्न पाइन्छ यो सरासर गलत हो । यसले अन्तिम हुने विद्यार्थीको मानसिकतामा ठूलो असर गर्छ अझ उसलाई निरुत्साहित गर्दछ । तथापी सम्पूर्ण प्रगतिविवरण हेर्ने हो भने अन्तिम हुने विद्यार्थीपनि केही पक्षमा प्रथम हुने भन्दा अब्बल देखिन्छ । अझ आफ्नो विषयमा राम्रा गर्ने विद्यार्थी र राम्रो गर्न नसक्ने विद्यार्थीबीचको भेदभाव र पढाइका आधारमा गरिने वर्गीकरण त  अझ डरलाग्दो हुन्छ । कक्षामा प्रथम त एकजना मात्र हुन्छ के त्यसको लागि अन्य थुप्रै विद्यार्थीलाई नराम्रो देखाउनु उचित हो त ? कदापी होइन त्यसैले यस्तो शिक्षा किन दिने ?

नेपाली संस्कारमा जन्मदै ठूलो मान्छे बन्नुपर्छ अर्थात सबैभन्दा जान्ने बन्नुपर्छ भन्ने किसिमको मनोबैज्ञानिक दवाव सिर्जना गरिन्छ । जसले वालवालिकाको कलिलो मस्तिष्कमा जरा गाडेको हुन्छ र पछि सोहि कुरा हासिल गर्नकै लागि जुनसुकै कार्य गर्न पनि पछि हट्दैनन् जसले उनीहरुलाई विसङ्गतिका सम्वाहक पनि बनाउन सक्छ त्यसैले ठुलो होइन असल बन्नुपर्छ भन्ने भावनाको विकास गराउन सहयोग पुग्ने शिक्षा प्रदान गरौं ।

अर्काे महत्वपूर्ण पक्ष भनेको स्वाबलम्बी बन्न सिकाउने  किसिमको शिक्षा प्रदान गर्न जरुरी छ । अहिलेका बालबालिकाहरु कफिका विभिन्न प्रकार र स्वादका बारेमा विज्ञ छन् तर असामान्य अवस्था सिर्जना हुँला कालो चिया बनाउन जान्दैनन् । जसले गर्दा परनिर्भरताको स्थिति बढ्दै गएको छ । सफा र स्वच्छ हुनुपर्छ भनेर सिकाउँदै गर्दा खेतमा काम गर्ने किसानको महत्वलाई अपहेलना गर्न उत्प्रेरणा दिनु कदापी उपयुक्त होइन । मायाको नाममा सबै आफै गरिदिएर पछाडी नपारौ । असफलता नै सफलताको पहिलो द्वार हो भनेर सिकाउन सकेनौ भने सानो असफलताले ठुलो दुर्घटना पनि निम्त्याउन सक्छ भन्ने कुरामा सचेत बनौं ।

अहिलेका बालबालिकाले विभिन्न देशका बारेमा सोधिएका प्रश्नको सजिलै उत्तर दिन सक्छन तर आफ्नो देशको भाषा, भूगोल, संस्कृति , परिवेश, रहनसहन, समाज तथा राजनितिका बारेमा अनभिज्ञ देखिन्छन यसले राष्ट्रियता  मात्र कमजोर बनाउँदैन सचेत नागरिकको खबरदारी नहुँदा देश स्वार्थी तत्वहरुको स्वार्थ पुरा गर्ने अखडा बन्न सक्छ ,आफ्नो परिचय गुम्न सक्छ । अर्काे कुरा सबै कुरा विद्यालयले मात्र सिकाउँछ भन्ने सोँचवाट अभिभावकहरु पनि मुक्त हुन जरुरी छ । विद्यालयले त ज्ञानलाई उचित व्यवस्थापन गरिदिने हो, आवश्यक सहयोग गरिदिने हो  । आफ्नो सँस्कार , नैतिकता तथा राष्ट्रियता जस्ता कुरा सिकाउने पहिलो विद्यालय घर नै हो भन्ने बुझौँ ।

अहिलेको विश्वले मानिसको सोँचाइलाई तीव्र गतिमा दौडिन बाध्य पारेको छ र त्यो प्रतिस्पर्धाबाट कोहि भाग्न सक्ने अवस्था पनि छैन । बरु त्यस प्रतिस्पर्धामा रहेर कसरी जित्ने भनेर सिक्नुभन्दा केही नयाँ कुरा सिर्जना गरेर छुट्टै परिचय र स्थान बनाउनु नै समयको माग हो किनभने वर्तमान विश्वले सिकारु खोजेको हैन नयाँ कुरा सिर्जना गर्न सक्ने सोँच,विचार र व्यक्ति खोजेको हो जसले आउने सन्ततिलाई परिवर्तनको दिशातर्फ अगाडी लैजान सकोस असल मार्गदर्शन गर्न सकोस,यसप्रकारको शिक्षा नै आजको आवश्यकता हो ।

संस्कृतमा एउटा भनाइ छ ’घोकन्ति विद्या धावन्ति खेती’ अर्थात अभिधा अर्थमा भन्दा घोकेर आर्जन गरिएको विद्या र दौडिएर (हतारमा)  गरिएको खेतीले फल राम्रो दिँदैन ,त्यसैले अहिलेको शिक्षालाई घोकाइमा मात्र सीमित नगरी व्यवहारमा प्रयोग गर्न सक्ने बनाउन सक्नुपर्छ । यसका लागि नीतिगत रुपमै सरकारी स्तरवाट परिवर्तन हुनु जरुरी छ । यसका लागि नेपालमा पहिलो आवश्यकता भनेको शिक्षामा पर्याप्त लगानी र त्यसको उचित व्यवस्थापन र सदुपयोग हो र अर्काे महत्वपूर्ण पक्ष भनेको शिक्षालाई राजनीतिवाट टाढा राख्नु हो । यति गर्न सक्यौ भनेमात्र  शैक्षिक प्रणालीमा आवश्यक सुधारका किरणहरु देख्न सक्छौं ।

लेखक प्रिमियर इन्टरनेशनल स्कुल ललितपुरका नेपाली शिक्षक हुन्