बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको भनिएको बन्दका काण लाखौँ बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ । बन्दको त्रासका कारण काठमाडौँलगायतका स्थानका विद्यालय बन्द भएकामा सो अभियानले चिन्ता पनि व्यक्त गरेको छ ।
सो अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माद्वारा जारी विज्ञप्तिमा बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने स्थापित मान्यतालाई बेवास्ता गरेर बन्द आह्वान गरिएकामा आपत्ति जनाइएको छ । यस्ता बन्दका कार्यक्रम फिर्ता लिन र शान्तिपूर्ण क्रियाकलापबाट आफ्ना राजनीतिक मुद्दा उठाउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
विद्यालय र बालबालिकामा प्रत्यक्ष असर पर्नेगरी कुनै पनि क्रियाकलाप नगर्न सिजपले आग्रह समेत गरेको छ । शान्तिपूर्ण वातावरणमा शिक्षा आर्जन गर्न पाउने बालबालिकाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सिजपले सबैसंग अनुरोध गरेको हो ।
बन्द वा त्यस किसिमका क्रियाकलापले बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने मान्यताको ठाडो उल्लंघन मात्रै नभइ कानुनी व्यवस्थाको अवहेलना र नेपालले गरेका अन्तर्राष्ट्रय प्रतिबद्धताको बेवास्ता हुने सिजप प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।