कोभिड १९ को त्रास कहिले सकिन्छ भन्नेमा अनुमान गर्न पनि सकिएको छैन् । अझ पनि विश्वका कतिपय मुलुकमा यसको प्रभाव बढ्दो क्रममा छ । यसबाट आज अर्थात वैशाख ९ गतेसम्म २४ लाखभन्दा बढी व्यक्ति संक्रमित छन्, सोमध्ये छ लाखमात्र निको भइसकेका छन् भने एक लाख ६५ हजारभन्दा बढी व्यक्तिको जीवन गइसकेको छ । अन्य संकटभन्दा यो फरक केमा देखियो भने यसले मानव जातीलाई त्रासमा राखेर उसका सम्पूर्ण क्रियाकलाप नियन्त्रणमा लिएको छ ।
भूकम्प आयो धेरैजनाको मृत्यु भयो, घाइतेलार्इ उपचार गर्न अस्पतालमा लगियो, बाँचेका अर्थात बाँकी रहेकाहरुसँग भोलिको आशा थियो । अझ अर्को अर्थमा भोलि आउने त्रास वा भय उनीहरुमा कम थियो । आखिर मानिस त्यही आशाको त्यान्द्रोमा झुण्डिएर त बाँच्ने रहेछ । कोभिड १९ ले मानिसलार्इ आजमात्र नभएर भोलिका दिनका लागि पनि त्रासमै राखेको । जबसम्म यो त्रासलाई आशामा बदल्न सकिन्न तबसम्म हाम्रा आगामी दिन सहज बन्न कठिन छ, लकडाउन भित्रका दिन त अझ तनावपूर्ण नै हुनेछन् । सामाजिक संजालमा जति नै उपदेश दिए पनि आफूलाई तीनले काम गर्ने छैनन् । उपदेश त लेख्न र अरुलार्इ देखाउनमात्र काम लाग्छ । भोगेको जीवनबाट प्राप्त ज्ञान र अनुभवमात्र काम लाग्ने रहेछ । हामीमध्ये अधिकले यस्तो भोग्नु परेको थिएन त्यही भएर अहिले आफूलाई कसरी सम्हाल्ने भन्नेमा समस्या देखियो ।
एउटा सम्झनु पर्ने पक्ष के छ भने विगतमा पनि मानव समाजले ठूलाठूला महामारी झेलेको थियो । कतिपय महामारी त संसारभर फैलिएका थिए भने कतिपय सीमित क्षेत्र विशेषमा व्याप्त थिए । यस्ता महामारीहरु कहिले पूर्वबाट सुरु भए भने कहिले पश्चिमबाट सुरु भइ एक अर्कातिर सर्दै गएको पाइन्छ । समयको हिसाबले एक वर्षदेखि चार, पाँच वर्षसम्म पनि यस्ता महामारीका प्रभाव कायम रहेको देखिन्छ । यस्ता महामारीबाट धेरै मानिसको मृत्यु भयो जुन समय समयमा चर्चा भइ आएको पनि देखिन्छ । तर मानिसबाहेक अन्यक्षेत्रमा के कति असर गर्यो भन्नेमा त्यति चर्चा गरिएको पाइदैन् ।
विश्व इतिहासको अध्ययनले के देखाउँछ भने यी र यस्ता थुप्रै एवम् अनेकौं संकटबीच मानव समाज गुज्र्यो । यसबाट धेरै धनजनको क्षति भए पनि बाँचेकाहरु पुनः उठेर आफ्नो कर्ममा लागे । त्यही बाँचेकाहरुको कर्मका आधारमा मानवीय र अन्य विकास यहाँसम्म आइपुगेको हो ।
मानव इतिहासमा लेखिने गरी अहिले पुन अर्को संकट मानवका लागि थपिएको छ । मानवका लागि संकट छ तर वातावरणमा सुधार आएको खबरहरु प्रकाशित भइरहेका छन् । त्यही भएर यो संकट विश्वलार्इभन्दा पनि मानवका लागि हो भन्दा उपयुक्त हुन्छ । यस संकटबाट विश्वमा के कति क्षति हुन्छ सो त भोलिको दिनमा नै थाहा होला । जे जति मात्रामा क्षति भए पनि ढुक्कसँग के भन्न सकिन्छ भने कोभिड १९ पछि पनि मानव जीवन रहन्छ र मानवका क्रियाकलाप पुनः सञ्चालनमा आउनेछन् । हरेक महामारीका असरका रुपमा केही पुरानासहित नयाँ कार्यहरु विगतमा जस्तै गरी पुनः सञ्चालनमा आउने नै छन् । केही नयाँ कार्यहरु थप पनि हुनेछन् ।
अब सोच्नु पर्ने विषय यहीनेर छ । के हाम्रा क्रियाकलाप लकडाउनभन्दा अगाडि जस्तै ढंगबाट वा उहीरुपमा पुनः सन्चालनमा आउँछन् होला त ? यसका लागि अनुमान गर्न दुर्इ वटा दृष्टिकोण उपयुक्त हुन सक्छन् ।
पहिलो दृष्टिकोणअनुसार विगतमा यस्ता विश्वव्यापी महामारी पछि ठूला परिवर्तन भएका छन् । विश्व व्यवस्था फेरबदल भएका छन् । मुलुकको सामाजिक, आर्थिकमात्र नभएर व्यक्तिका जीवन शैलीमा पनि परिवर्तन आएको थियो । नयाँ नयाँ आविष्कार भएका पनि छन् । भनाइको मतलब नयाँ नयाँ मूल्य मान्यता बनेका छन् । कतिपय पुराना मान्यता भत्किएका छन् ।
यसैगरी दोश्रो दृष्टिकोण अहिले नै महामारीबाट सामाजिक आर्थिक क्षेत्रमा परेको प्रभाव र त्यसबाट सृजित असरको अनुमान गरेर भोलि के हुन्छ भन्ने हो । यसका लागि कारण र असरको सम्बन्ध केलाउने सामर्थ्य आवश्यक हुन्छ । त्यही भएर यस दृष्टिकोणबाट हुने परिवर्तनको आँकलन थोरैले मात्र गर्न सक्छन् भन्ने गरिन्छ ।
माथि दिइएमध्ये जुन दृष्टिकोण अवलम्बन गरे पनि अहिलेको अवस्थाका सम्बन्धमा एक खालको समान धारणा बनाउन सकिन्छ सो भनेको कोभिड१९ पछि समाज र यससँग सम्बन्धित पक्षहरुमा परिवर्तन हुन्छ नै । हालको त्रास कहिलेबाट पूर्णरुपमा सकिन्छ भन्न त कठिन छ । तर पनि संकट जति लामो असर त्यति नै मात्रामा बढी हुनसक्छ । विश्व व्यवस्था, मुलुकहरुबीचको सम्बन्ध, व्यक्तिको आचरण लगायत सामाजिक आर्थिक पाटोमा आउने ठूलो फेरबदलको प्रभाव सबैमा पर्ने निश्चित छ । जब यी पक्षहरुमा परिवर्तन आउँछ त्यसबाट शिक्षा, शिक्षण प्रक्रिया र शिक्षा व्यवस्थापनमा स्वभावतः ठूलो प्रभाव पर्छ ।
हुन त पूर्वाधारको विकासको अवस्था कमजोर भएको हाम्रो जस्तो मुलुकमा यसको प्रभाव कम हुनसक्छ भन्ने तर्क पनि छ । तर मानवीय सम्बन्धमा पर्ने प्रभाव भने हाम्रोमा पनि कमजोर नहुन सक्छ । हाम्रो अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक नै रहेको र परम्परागत कृषिमा आधारित ग्रामीण जीवनशैली भएकोले यसबाट परिवर्तन कम हुन्छ भन्ने पनि छ । तर सहरमा हुने परिवर्तनको प्रभाव तुलनात्मकरुपमा बढी नै हुन्छ । हिजो पनि कामै गरेर खाने, खेती गरेर खाने अनि आज पनि सोही काम वा खेती गरेर खानेलाई यसको प्रभाव अप्रत्यक्ष तर दीर्घकालीन हुनसक्छ । किनकी यिनीहरुमा पर्ने प्रभाव भनेको अझ गरिबी बढ्ने हो । तर वित्तीय संस्थामा आधारित, रेमिटेन्समा आधारित र निजी क्षेत्रमा आश्रितहरुलाई पार्ने प्रभाव प्रत्यक्ष र ठूलो हुने निश्चित छ ।
विश्वमा समयसमयमा देखिएका यस्तै महामारीबाट समाज, देश र समग्र विश्वमा ठूला परिवर्तन भएका हुन । राजनीतिक र आर्थिक संरचनामा व्यापक परिवर्तन गर्नका लागि दवाव सिर्जना भएकै हुन् । यसबाट नै समाजको पाओर डाइनामिक्स बदलिएको हो भन्दा फरक पर्दैन् । उत्पादनका साधन र माध्यममा बदलाव ल्याउनका लागि यिनै महामारी सहयोगी बने । नयाँ नयाँ अनुसन्धान र सुधारका कामले प्राथमिकता पाए । भूराजनीतिक संरचनामा पनि परिवर्तन आयो । विश्वव्यवस्थाका संरचनामा फेरबदल भए । यस्तै परिवर्तन मुलुकभित्र पनि आएका हुन सक्छन् ।
हाम्रोमा पर्ने प्रभाव के हुन सक्लान ? र भविष्यले कस्तो बाटो समाउला ? यसैमा विचार गर्ने हो भने हामीले अबका दिनमा गर्नुपर्ने कामहरु तय हुनेछन् । सरल अर्थमा भन्नु पर्दा यी विषयहरु नै हुन शिक्षाका सम्बन्धमा अबका दिनमा गर्नुपर्ने कामहरु ।
जोन हप्किङ्स विश्वविद्यालयका अनुसार अहिले विश्वका लगभग दुर्इ तिहाइ जनसङ्ख्या लकडाउनमा छन् भन्ने गरिन्छ । उद्योग कलकारखाना बन्द प्रायः छन् । यसको सोझो असर अर्थतन्त्रमा पर्ने देखिन्छ । अर्थतन्त्रको थप संकुचन हुन्छ । यसको संकुचनका कारणले गर्दा मुलुक र घर परिवारमा थप दवाव सिर्जना हुन्छ । अहिलेको अनुमानअनुसार आर्थिक वृद्धि ३ प्रतिशतभन्दा कम हुने अनुमान भइसकेको छ जुन कोभिड १९ भन्दा अगाडि लगभग ९ प्रतिशत जति हुने अनुमानमा आधारित थियो । आइएलओले त विश्वभरमा लगभग २ करोड ३० लाख व्यक्ति बेरोजगार बन्छन् भनेर बताइसकेको छ । नेपालबाट कामदारको रुपमा विदेशमा रहेका ६५ लाख व्यक्तिको स्वदेश आउने क्रम अब सुरु हुनेछ । यी र हरेक वर्ष रोजगार बजारमा नयाँ कामदारका रुपमा प्रवेश गर्ने ५ लाखहरुको अवस्था पनि जोखिममा पर्ने निश्चित छ । रेमिटेन्समा आधारित हाम्रो अर्थतन्त्रमा यसबाट ठूलो नकारात्मक असर पर्ने निश्चित छ । विश्वमा जस्तै हाम्रोमा पनि गरीबको सङ्ख्यामा तीब्र गतिमा बढोत्तरी हुनेछ । शिक्षामा गरिब लक्षित कार्यक्रम के हुन भनेर तय गर्नु आवश्यक छ ।
१) अर्थतन्त्रमा आउने संकुचन र नागरिकको बदलिदो जीवनशैलीकै कारण निजी क्षेत्रमा धेरै पेशा वा कामहरु कटौती हुन सक्छन् । यसबाट धेरै बेरोजगार बन्न सक्छन् । निजी क्षेत्रमा कम तलबमा काम गर्नु पर्ने अवस्था आउन सक्छ । समग्रतामा सामाजिक सुरक्षा थप कमजोर बन्न सक्छ । निजीक्षेत्रको नियमन कमजोर भयो भने अरु अनावश्यक खेलहरु पनि यहीभित्र नहोलान् भन्न सकिन्न । शिक्षाका सन्दर्भमा अभिभावक र विद्यालयबीचमा नयाँ सम्झौता हुनसक्छ । निजी विद्यालय मर्ज हुने अवस्था आउँछ । साना र मझौला व्यवसाय (विद्यालय समेत) थप संकटमा पर्न सक्छन् भने ठूला विद्यालयलाई अझ फाइदा पुग्न सक्छ । यी र यस्तै विविध कारणबाट समाजमा थप विभेद बढ्न सक्छ । अझ वर्गीय खाडल बढ्न सक्छ । अबका दिनमा नक्शाङ्कन गरेर मात्र छनौट भएका सामुदायिक विद्यालयको थप सुदृढीकरण र निजी विद्यालको मर्ज अहिलेका उपयुक्त विकल्प हुनसक्छन् ।
२) शैक्षिक व्यवस्थापन र शिक्षण सिकाइमा भर्चुअल सिकाइको माध्यम फस्टाउने छ । व्यक्ति व्यक्तिको बीचमा कायम गर्नुपर्ने शारीरिक दूरीका कारण कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप कसरी सञ्चालन हुने भन्नेमा पनि विविधता देखिन सक्छ । साना साना कक्षा भन्ने अवधारणाका कारण शिक्षामा अझ थप व्ययभार पर्न सक्छ । भर्चुअल पद्धतिमा जाने क्रममा व्यक्तिको लागि र मुलुकको लागि शिक्षा थप महँगो पर्न जान्छ सुरुवाती चरणमा । सुरुमा बानी पर्न पनि कठिन छ । यसको सामग्री तयारी आदिको लागि पनि थप लगानी चाहिन्छ नै । यसबाट कमजोर वर्गका लागि स्तरीय शिक्षा लिने प्रक्रिया अझ कठिन बन्न पनि सक्छ । यसका लागि पहिला खाका बनाएर मात्र अगाडि बढ्न उपयुक्त हुन्छ । कठिन अवस्थामा रहेकाहरुलार्इ सहयोगसहित यस कार्यक्रममा लगाउनु पर्छ ।
३) हामी भर्चुअल सिकाइ भन्दैछौँ । यसका लागि हामीसँग पूर्वाधार छन् त ? मुलुकका लगभग १० हजार जति सामुदायिक विद्यालयमा मात्र कम्प्यूटर छ । जम्मा १० हजार विद्यालयमध्ये १२ प्रतिशत जतिमा इन्टरनेट सुविधा छ र ३५ प्रतिशत जति विद्यालयमा बिजुलीबत्तीको सुविधा छ भन्ने अनुमान छ । सामुदायिक विद्यालय पढ्ने बालबालिकाका अभिभावक न्यून आय भएका छन् । धेरै जना अर्काको घरमा काम गर्दै पढ्ने समूहका छन् । बिहान बेलुका खान समस्या भएका अधिक परिवारका छन् । जब मुलुक भर्चुअल सिकाइतर्फ अगाडि त बढ्छ तर यसमा पनि कमजोर र न्यून आय भएका वर्गले आर्थिक कारणले नै सोहीमात्रामा लाभ लिन सक्दैनन् । यसबाट समाजमा वर्ग विभाजनको दायरा अझ फराकिलो हुन सक्छ । नक्शाङ्कन गरेर मात्र पूर्वाधारमा लगानी गरौँ ।
४) संरचना बदल्न सजिलो होला, पाठ्यक्रम पनि बदलिएला । तर हाम्रो बानी व्यवहार आचरण शैली कसरी बदल्ने ? शिक्षकलाई प्रविधिमैत्री के कसरी बनाउने ? यसमा हुने परिवर्तनले मात्र हाम्रा भावी दिन कति सहज वा असहज भन्ने हुन्छ । व्यक्तिलाइ कसरी बदल्ने हो यस बारेमा सोचौँ । हरेक संकटले अवसर पनि दिन्छ भनेको शायद यही भएर होला । जीवनशैली र आचरण नबदलिकन अबको समाज झेल्न कठिन छ । तसर्थ यसको लागि अहिलेबाट तयारी गर्दा हुन्छ ।
५) अबका दिनमा विश्वव्यापी रुपमा प्रभाव पर्ने भनेको पाठ्यवस्तु र ज्ञान सीप हासिल गराउने विधिमा गर्नुपर्ने परिवर्तन हो । हिजोको जस्तो ज्ञान, सीपले काम नगर्ने देखियो । स्वामी प्रभुपादद्वारा लिखित श्रीमद्भगवतगीता (यथारूप)को तेह्रौं अध्यायको ८ देखि १२ सम्मको श्लोकमा व्यक्तिमा हुनुपर्ने सीप, क्षमता आदिका बारेमा उल्लेख गरिएको छ । गीतामा यसलाई ज्ञान भनिएको छ जुन १९ वटा क्षेत्रमा छन् । हामीले यसलाई मात्र पालना गर्न सके पनि पुग्छ । यी काम त्यति जटिल खालका छैनन् ।
६) अबका दिनमा हाम्रा भाष्य नै बदलिने छन् । हिजोका दिनमा विद्यालय जाने बालबालिकालाई मोबाइल कम्प्युटरमा धेरै नबस बरु बाहिर जाउ, खेल भन्ने गरिन्थ्यो । अब अहिले लकडाउनमा घर भित्रै बस भनिएको छ । भूकम्प आउँदा बाहिर जाने र नजाने पनि यस्तै विषय रहे । तसर्थ अबका दिनमा प्रयोग हुने भाष्य नयाँ हुनेछ । यी सबै भाष्य विद्यार्थीलाई सिकाउन पहिला शिक्षकले नै सिक्नु पर्छ । के हाम्रा शिक्षक, शैक्षिक प्रशासक आदिबाट यी काम सम्भव छन् ? यसको लागि अभियान चाहिन्छ ।
७) यसले परीक्षा पद्धतिमा पनि परिवर्तन गर्ने बेला औंल्याएको छ । हामीकहाँ विद्यालयलाई जवाफदेही बनाउने र स्तरयुक्त परीक्षा प्रणाली अवलम्वन गर्ने हो भने यो विषय त्यति जटिल नबनाउँदा हुन्छ । तर यसका लागि हामी के कति मात्रामा तयार छौँ त ? तहको अन्तमा लिइने परीक्षाका बारेमा मुल विषयको मात्र स्तरयुक्त परीक्षा लिने पद्धति बनाउनु आवश्यक छ । अब त विद्यालयलाइ नै जिम्मेवार बनाएर जानु पर्छ । निर्णय गर्ने बेला यही नै हो ।
८) यस वर्षको शैक्षिक सत्र मिलान गर्ने काम पनि चुनौतिपूर्ण नै हुने देखिन्छ । नियमावलीमा शैक्षिक सत्र अवधि (दिन) किटान हुने व्यवस्था छ, पाठ्यक्रममा पाठ्यभार तथा क्रेडिट आओरको व्यवस्था छ, परीक्षासम्बन्धी व्यवस्था छ । अब परिवर्तन हुने अवस्थालार्इ सम्बोधन गरेर काम गर्नका लागि यी सबैका बारेमा विधिवत निर्णय चाहिन्छ । लकडाउन खुलेपछि मात्र यस विषयमा निर्णय गर्नु उपयुक्त हुन्छ । तर हाम्रो संस्कार अन्तमा हतारमा निर्णय गर्ने रहेको विगतको परम्परा कायम रहेमा अझ थप दवाव पर्न सक्छ । त्यही भएर अहिले नै विकल्पहरु बनाउनेतर्फ लाग्नु आवश्यक हुन्छ । कन्डेन्स पाठ्यक्रमका बारेमा सोचेर काम सुरु गर्दा हुन्छ । लकडाउन र अन्य प्रभावको आँकलन नगरिकन परीक्षा रोक्ने वा नलिनेजस्ता निर्णयले कसैलाइ फाइदा पुग्दैन ।
९) यसबाट केही सुक्ष्म खालका असरहरु पनि देखन सक्छन । व्यक्ति व्यक्ति बट्चको भौतिक दूरी अबका दिनमा अझ बढ्न सक्छ । यसले वास्तवमै सामाजिक दूरी पनि बढाउन सक्छ । अबका दिनमा डाक्टर तथा सुरक्षाकर्मीलाइ हेर्ने दृष्टिकोणमा बदलाव आउन सक्छ । समाज आफ्नै मूल्य मान्यतातर्फ फर्कन पनि सक्छ । वैयक्तिक स्वतन्त्रतामा केही सीमितता थपिए पनि राज्य बलियो हुनुपर्छ भन्ने अवधारणा अवश्य बढ्छ । प्रविधिको प्रयोग अझ बढ्न सक्छ र यसको असर जीवन शैली मै पर्छ ।
१०) लकडाउन हटाउनसाथ सबै काम यथावतरुपमा गर्न पाइन्छ भन्ने होइन । यसले विभिन्न कृयाकलापहरुलाइ क्रमशः खुला गर्ने हुनसक्छ । पूर्णरुपमा विद्यालय सन्चालनमा आउनका लागि लकडाउन खुला गरेपछि पनि केही समय लाग्छ नै । तसर्थ हाम्रा कार्यहरु पनि सोहीबमोजिम तय गर्नुपर्छ ।
र अन्तमा,
कोभिड १९ पछि पनि समाज रहन्छ । हाम्रा कार्यहरु रहिरहन्छन् । विद्यालय रहन्छन् । शैक्षिक क्रियाकलाप पनि हुनुपर्छ नै । मूल प्रश्न यहीरुपमा रहन्छन् त भन्ने हो । यी बदलिन्छन् भनेर अनुमान र आंकलन गरेर केही तयारी गर्नुपर्छ । अबको अवस्थालार्इ सम्बोधन गर्नका लागि नयाँ सोच तय गरी तीनलाइ कार्यान्वयनमा ल्याउनु पनि पर्छ । यस्ता ठूला महामारीपछि ससानाभन्दा पनि ठूला कार्यबाट हुने असरको मात्रा बढी हुने भएकोले अबका दिनमा ठूला परिवर्तन गर्ने बारेमा विभिन्न विकल्प बनाउनु आवश्यक छ । लकडाउनको अवधिमा घरभित्र बस्नेभन्दा अर्को उपाय छैन । अहिले तय गरिएका विकल्पहरुका बारेमा थप सोचेर लकडाउन पछि कार्यान्वयनमा ल्याउन सजिलो हुनसक्छ ।
(लेखक सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हुन् ।)