शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयका सचिवसँग ‘कार्यसम्पादन सम्झौता’ गरेका छन् ।
मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच मन्त्री पोखरेलले शिक्षा सचिव खगराज बराल र विज्ञान प्रविधि सचिव कृष्णराज विसीसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पाखरेललगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।
पोखरेलले समयसीमा भित्रै सरकारले राखेको लक्ष्य हासिल हुने र परिणाम देखिने गरी काम गर्न सचिवहरुलाई निर्देशन पनि दिए ।
मन्त्री पोखरेलले आर्थिक वर्षको अन्त्यमा मात्रै काम गर्ने परिपाटीको अन्त्य गरी बजेटअनुसार तत्काल काम गर्न निर्देशन दिए । उनीले जनताप्रति उत्तरदायी भएर जनमुखी कामगर्नुपर्ने बताए । छोटो समयमा नतिजा दिनेगरी काम गर्न मन्त्री पोखरेलले निर्देशन पनि दिए ।
कार्यसम्पादन सम्झौता ‘प्रक्रिया’ को रुपमा मात्रैं नबुझ्न चेतावनी दिँदै मन्त्री पोखरेलले सम्झौता अनुसार काम नभए कार्बाही गरिने स्पष्ट पारे ।
एक बर्षभित्र गर्ने कामको बिषयमा समय र मिति उल्लेख गरी कार्यसम्पादन सम्झौता गरिएको छ ।
सम्झौतामा कसले के काम गर्ने, कति महिनाभित्र गर्ने र कस्ता कामलाई विशेष प्राथमिकतामा राख्ने भन्ने विषय उल्लेख छन् । सम्झौतापछि सबैले कार्यतालिकाअनुसार काम गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।
सम्झौताअनुसार काम भए–नभएको सम्बन्धमा मन्त्री पोखरेलले सबै निकायका प्रमुखसँग चौमासिक बैठकमा जानकारी लिनेछन् ।