शिक्षाशास्त्र कमजोर विद्यार्थीलाई प्रमाणपत्र दिने कारखाना मात्र

तपाईँले ससाना नानी बाबुहरुलाई तिमी के बन्छौं भनेर सोध्नु  भयो भने, इन्जिनियर, डाक्टर, पाइलट भन्ने जवाफ बढी सुन्न पाउनु हुन्छ । विरलैले मात्र शिक्षक भन्ने गरेको सुनिन्छ ।

एसईई वा कक्षा १२ को नतिजामा राम्रो जीपीए ल्याउने विद्यार्थीको रोजाइमा क्रमशः साइन्स, इन्जिनियरिङ र व्यवस्थापन पर्ने गरेको छ । त्यो भन्दा कम जीपीए भएकाको रोजाइ मानविकी, समाजशास्त्र पर्ने गरेको छ । तर, थोरै जीपीए भएका र अन्य संकायमा भर्ना नपाउने विद्यार्थीको रोजाइमा शिक्षाशास्त्र पर्ने गरेको छ ।

यसका अलावा गाउँगाउँमा कक्षा १२ सम्म शिक्षा समूहका विभिन्न विषय पठनपाठन हुने विद्यालय सञ्चालनमा छन् । भने स्नातक तहसम्म पढाइ हुने क्याम्पस हेर्ने हो भने देशका दुरदराजमा पनि शिक्षाशास्त्र सम्बन्धी अध्यापन हुने क्याम्पसहरु सञ्चालनमा आएका छन् ।

गाउँमा सहज पहुँच भएपछि घरखेतीको काम भ्याएर पढ्ने विद्यार्थीको पहुँच शिक्षाशास्त्रमा छ । एकातिर भर्ना प्रक्रियामा नीतिगत कमजोरी अर्कातर्फ विद्यार्थीले गुणात्मक फड्को मार्न नसक्दा शिक्षाशास्त्र कमजोर विद्यार्थीलाई प्रमाणपत्र दिने कारखाना जस्तो मात्र भएको त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन रविकिरण अधिकारीले बताए ।

शिक्षाशास्त्रको गुणस्तर कमजोर छ । विषयगत रुपमा हेर्ने हो भने झन टीठ लाग्दो छ । हुने विरुवाको राम्रो पात भने जस्तै अन्य संकायमा राम्रो जीपीए भएका विद्यार्थीको रोजाइमा पर्ने हुँदा यी संकायराम्रो भएको सहायक डीन अधिकारीले बताए । ‘ पढ्नबाट बञ्चित नहोस भनेर विद्यार्थीलाई पढ्ने अवसर शिक्षाशास्त्रले दिएको हो ।’ उनले भने, ‘पढ्नुपर्छ भन्ने चेतना विद्यार्थीमा भएन हाउ टु पास भन्ने प्रवृत्ति मात्र भएका कारण हाम्रो संकायको गुणस्तर कमजोर भएको हो ।’

कमजोर जीपीए ल्याएका विद्यार्थीले शिक्षा समूहका विषय पढ्न पाउने भएपछि यसको व्यापक आलोचना हुँदै आएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ग्रेडिङ प्रणालीबाट सुरु भएपछि विद्यार्थीले आफूले रोजेको विषय पढ्न पाउनुभन्दा पनि जीपीएको आधारमा विषय छनोट गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि यो संकाय कमजोर जीपीए भएका विद्यार्थीका लागि अवसर प्रदान गर्ने हुँदा यसको गुणस्तरमा नै प्रभाव परिरहेको छ ।

डि वा डि प्लस ल्याउने विद्यार्थीले पनि इच्छाशक्ति भएमा राम्रो प्रगति गर्न सक्ने सहायक डीन अधिकारीले बताए । ‘बढुवा हुने नामको लागि मात्रै पढ्ने, पढ्नका लागि नभई अन्य प्रयोजनका लागि शिक्षाशास्त्र पढ्ने प्रवृत्तिले गर्दा शिक्षाशास्त्र नै धारासाही भएको छ’ उनले भने ।

सानोठिमी क्याम्पस भक्तपुरका सहप्रध्यापक बलदेव देवकोटा भन्छन्, ‘डी र ई अर्थात २ दशमलबभन्दा कम जीपीए ल्याएका विद्यार्थीले शिक्षा विषय वा संकायमा पढेर भोलि कस्ता शिक्षक उत्पादन गर्ने ? देशको शिक्षा कतातिर जान्छ ? भनेर सरोकारबालाहरुले सोच्ने बेला आएको छ ।’

‘यो नियम विद्यार्थीको हकमासमेत छैन’ उनले भने, ‘शिक्षा पढेर पनि तिनीहरुले आफूलाई कहाँ पुर्याउँछन् र हातमा प्रमाण पत्र त हुन्छ तर बजारमा बिक्न नै गाह्रो हुन्छ ।’

श्री संकटमोचन माध्यमिक विद्यालय जनकपुरका प्रधानाध्यापक बलिराम साह भन्छन्, ‘कमजोर जीपीए ल्याउने विद्यार्थीले पढ्नै पाउँदैनन भन्ने हुँदैन । ३.४ जीपीए ल्याएकाले पनि शिक्षा विषय पढ्छन् आफ्नो रुचिको विषय पढ्ने हो । तर ग्रेडिङ सिस्टमले गर्दा भने कम जीपीए ल्याएका विद्यार्थीलाई विषय छनोट गर्ने मौका भएन ।’

उनी थप्छन्, कमजोर जीपीए ल्याएका वा कमजोर विद्यार्थीहरु अधिक संख्यामा एजुकेसन पढ्ने भएपछि उनीहरुले पढेर शिक्षक भए भोलि कस्तो प्रकारको शिक्षा दिन्छ भन्ने विषयमा सोंच्नु चाहिँ पर्छ । उनले त्यस्ता शिक्षकले विद्यार्थीलाई कुन लेवलको शिक्षा दिन्छ भन्ने गम्भीर प्रश्न उब्जिएको बताए ।

भर्नाका लागि कति जीपीए आवश्यक

शिक्षा विषय पढ्न न्यूनतम जीपीए १ दशमलब ६ जीपीए मात्रै लयाएपनि पुग्छ यद्यपि नेपाली, अंग्रेजी र सामाजिक शिक्षामा डी प्लस ल्याएकै हुनुुपर्छ ।

त्यस्तै शिक्षाको परिचय, हेल्थ एन्ड फिजिकल एजुकेसन, पपुलेसन स्टडिज, इन्भाइरोन्मेन्ट एजुकेसन पढ्न न्यूनतम जीपीए १ दशमलव ६ मात्रै ल्याए हुन्छ तर अङ्ग्रेजी, नेपाली, विज्ञान, स्वास्थ्य तथा जनसंख्यामा डी प्लस ल्याएकै हुनुपर्छ ।

त्यस्तै संस्कृत व्याकरण, साहित्य, वेद, नीतिशास्त्र पढ्न जीपीए १ दशमलव ६ मात्र भए पुग्छ तर नेपाली, संस्कृत, सामाजिक अध्ययन र अंग्रेजीमा डी प्लस ल्याउनै पर्छ । पत्रकारिता, ह्युमन भ्यालु एजुकेसन र कानुनमा भर्ना हुन जीपीए १ दशमलव ६ मात्र भए पुग्छ । अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा डी प्लस ल्याउनु पर्ने हुन्छ ।

साथै मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापानी, उर्दू, जर्मन, चिनियाँ र अन्य भाषा तथा नृत्य, संगीत, पेन्टिङ पढ्न पनि जीपीए १ दशमलव ६ भए पुग्छ तर अंग्रेजीमा डी प्लस ल्याएको हुनु पर्छ ।

होटल म्यानेज्मेन्ट, ट्राभल तथा टुरिज्म अध्ययन गर्न पनि १ दशमलव ६ जीपीए मात्र ल्याए पुग्छ तर अंग्रेजी, नेपाली, गणित तथा सामाजिक अध्ययनमा डी प्लस ल्याउनै पर्छ । भने नेपाली र टिचिङ नेपाली पढ्न अंग्रेजी, संस्कृत, नेपाली र सामाजिक अध्ययनमा डी प्लस ल्याउनै पर्छ । इतिहास, राजनीतिशास्त्र, गृहविज्ञान, समाजशास्त्र, दर्शनशास्त्र, पुस्तकालय तथा सूचना विज्ञान, ग्रामीण विकासमा भर्ना हुन जीपीए १ दशमलव ६ मात्र ल्याए पुग्छ तर अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा कम्तीमा डी प्लस ल्याउनु पर्ने हुन्छ ।

भर्नाको आधार परिवर्तन हुनुपर्छ

अन्य कुनै विषय पढ्न नपाउने विद्यार्थी शिक्षा समूहमा पढ्न पाउने भएपछि कमजोर विद्यार्थीको आकर्षण शिक्षा बन्न पुगेको छ । कम जीपीए ल्याएका विद्यार्थीले शिक्षा विषय पढ्ने छुट हुँदा शिक्षा क्षेत्र नै धरासायी भएको विज्ञहरुको तर्क छ ।

शिक्षाशास्त्रले पनि अब भर्नाका लागि नयाँ अवधारणा लागु गर्नुपर्ने सहायक डीन अधिकारी बताउँछन् । कम्तीमा पनि सी वा डि प्लस सम्मका विद्यार्थीलाई मात्र शिक्षाशास्त्र संकाय अन्तरगत भर्ना गरिनु पर्ने उनको भनाइ छ ।