‘नेपालमा शिक्षा दिवस कहिलेदेखि मनाउन थालिएको हो ?’ भन्ने प्रश्न सोध्दा सबैको उत्तर हुने गर्दछ– २०३१ साल । सामान्य ज्ञानमा पनि यही उत्तर छ । सेवा आयोगमा परीक्षामा यो प्रश्न सोध्दा उत्तर पनि यही हुन्छ र परीक्षकले यसैलाई ‘सही जवाफ’का रूपमा अङ्क दिने गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकै वर्षदेखि यो गलत उत्तरलाई स्थापित गरिदिएको छ । त्यसैले सबैले गलत उत्तरलाई सही मान्दै आएका छन् । यसको प्रमाणका बुँदा हेरौँ–
१) नेपालमा शिक्षा दिवस २०३२ सालबाट मात्र मनाउन थालिएको हो । अझ राष्ट्रिय शिक्षा दिवसका दिन शिक्षा मन्त्रालयले वितरण गर्ने गरेको कार्यक्रम पुस्तिकाको पुछारमा ‘शिक्षा दिवसका आदर्श वाक्य’ भन्दै हालसम्मका नाराको फेहरिस्त नै छाप्ने गरेको छ । त्यसमा २०३१ सालमा ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्य अर्थात् नारा उल्लेख भएको भनी सरकारी पुस्तिकामा लेखिएको हुन्छ । तर अब यो गलत इतिहासलाई सच्याउनु जरुरी छ ।
२०३१ साल फागुन १२ गते तत्कालीन राजा वीरेन्द्रको शुभराज्याभिषेक सम्पन्न भएको थियो । त्यस दिन अपराह्न उनले काठमाडौँको टुँडिखेलमा आयोजित राष्ट्रका नाममा सन्देश दिएका थिए । उनको सन्देशको उपशीर्षक ‘निःशुल्क प्राथमिक शिक्षा’मा उल्लेख थियो– यी सब कुराबाट हाम्रो मनमा केही तरङ्ग उठ्नु स्वभाविकै हो । हामी चाहन्छौँ, हाम्रो देशमा कोही भोका–नाङ्गा नरहून्, ओखतीमूलोको अभावमा कसैले पनि दुःख झेल्न नपरोस्, शिक्षाको उज्यालो घामबाट हाम्रा कुनै पनि बालबालिकाले वन्चित हुन नपरोस् र प्रत्येक नेपालीले उपयोगी सीप र इलम सिकी आफ्नो पाखुराको बलमा आत्मसम्मानका साथ स्वतन्त्र जीवन यापन गर्न सकून् । हामी चाहन्छौँ, यातायात, कृषि, उद्योग सबै क्षेत्रका विकास होस् र देशका कुनाकाप्चामा बसेका सबै नेपाली बढ्दो मात्रामा सुखसमृद्धिको भागी हुन हुन पाउन् । हामी चाहन्छौँ, यस देशको प्रत्येक भूभागमा लुकिराखेको क्षमताको सदुपयोग भई सबैले मानवोचित जीवनयापन गर्न सकून् र देशको प्रत्येक भाग राष्ट्रिय जीवनको मूल प्रवाहमा सम्मिलित होस् । यही नै हाम्रो भित्री आकांक्षा रहिआएको छ । तर अन्ततोगत्वा देशविकासको मूल आधार शिक्षा नै भएकोले यस क्षेत्रमा के पुरुष, के महिला सबैले समान रूपले अवसर उपलब्ध गर्न सकून् भन्ने उद्देश्यले हामीले हाम्रो सरकारलाई हाललाई देशभर निःशुल्क रूपमा प्राथमिक शिक्षाको व्यवस्था मिलाउन अह्राएका छौँ । यसरी हामीले देशभित्र र देशबाहिरबाट जगेर्ना गर्न सकेको सम्पूर्ण साधन नेपाली मात्रको सर्वाङ्गीण विकासको निम्ति सदुपयोग गराउन दृढ संकल्प गरिबक्सेका छौँ । (स्रोतः २०३१ फागुन १३, गोरखापत्र)
राष्ट्रका नाममा दिइएको सम्बोधनको एउटा वाक्य ‘शिक्षाको उज्यालो घामबाट हाम्रा कुनै पनि बालबालिकाले वन्चित हुन नपरोस्’लाई शिक्षा दिवसको आदर्श वाक्यका रूपमा गलत व्याख्या गरियो र प्रचार पनि गरियो । सरकारी सञ्चार माध्यमका रूपमा स्थापित गोरखापत्रमा त्यो वर्ष शिक्षा दिवसको सन्दर्भ कहीँकतै उल्लेख नै रहेको पाइँदैन । तसर्थ २०३१ सालमा शिक्षा दिवस मनाइएको कुरा सर्वधा गलत हो । आदर्श वाक्य पनि त्यो थिएन । जबकी सन्देशमा धेरै कुरा उल्लेख थिए ।
२) २०३२ साल फागुन ९ गते गोरखापत्रको पहिलो पृष्ठमा ‘शिक्षा दिवस’ शीर्षकमा प्रकाशित राससको समाचारलाई हेरौँ– श्री ५ महाराजाधिराज वीरेन्द्रवीरविक्रम शाहदेवको शुभराज्याभिषेकको पुनित वार्षिकोत्सवको दिन प्रत्येक वर्ष फागुन १२ गते शिक्षा दिवसको रूपमा मनाउने श्री ५ को सरकारले निर्णय गरेको छ । शिक्षा मन्त्रालयका अनुसार उक्त दिवस विभिन्न कार्यक्रमका साथ मनाउन फागुन १२ गतेका दिन अधिराज्यका सबै शिक्षण संस्थाहरुलाई सार्वजनिक बिदा दिने पनि निर्णय गरिएको छ ।
यो समाचारबाट प्रमाण हो । कुरा प्रष्ट लेखिएकै छ । अर्थात् २०३२ सालबाट शिक्षा दिवस मनाउने निर्णय भएको । तत्कालीन राजा वीरेन्द्रको शुभराज्याभिषेक सम्पन्न भएको एक वर्ष पुगेको सन्दर्भमा मनाउन थालिएको हो । अब तेस्रो प्रमाण खोजिरहनु जरुरी पनि देखिँदैन । तर पर्खिनुहोला तेस्रो प्रमाण पनि प्रस्तुत गरौँला ।
तत्कालीन शिक्षाराज्यमन्त्री डा. हर्कबहादुर गुरुङले शिक्षा दिवसको सन्दर्भमा दिएको सन्देशको जुन २०३२ साल फागुन १२ गतेको गोरखापत्रमा छापिएको थियो, त्यसमा उल्लेख एउटा अनुच्छेद पढौँ– शुभराज्याभिषेकको ऐतिहासिक दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष फागुन १२ गतेको दिनलाई शिक्षा दिवस मनाउने श्री ५ को सरकारले निर्णय गरेको हो ।त्यसै दिन ध्रुवकुमार देउजाले ‘शिक्षा दिवस’ शीर्षकमा लेखेको लेखको पहिलो अनुच्छेदमा रहेको एउटा वाक्य हेरौँ– श्री ५ को सरकारले निर्णय गरेबमोजिम अब उप्रान्त प्रत्येक वर्ष आजकै दिनलाई अधिराज्यभरि शिक्षा दिवसको रूपमा मनाइनेछ ।
निजको लेखबाट पनि प्रष्ट हुन सकियो कि अब उप्रान्त हरेक वर्ष फागुन १२ गतेलाई शिक्षा दिवस मान्ने भन्ने । २०३१ सालबाट मनाइएको भए गत वर्षदेखि मनाउन थालिएको भनी उल्लेख हुने थियो । जबकी अब उप्रान्तले २०३२ साल नै हो भनी स्पष्ट भन्न सकियो ।
३) अब तेस्रो प्रमाण हेरौँ । २०३२ देखि २०३४ सालसम्म शिक्षा दिवसको सन्दर्भमा नारा वा आदर्श वाक्य दिइएको थिएन । २०३५ सालबाट मात्र नारा दिन थालियो । तर विभिन्न शीर्षकमा शिक्षा दिवसका बारेमा अन्तक्रिया वा छलफल आयोजना गर्ने चलन रहेको देखिन्छ ।
२०३३ साल फागुन १२ गते ध्रुवकुमार देउजाले लेखेको ‘शैक्षिक उपलब्धिको सुदृढीकरणतिर’ शीर्षक लेखको पहिलो अनुच्छेद पढौँ– अधिराज्यभरिका जनताको घर आँगनमा शिक्षा प्रकाश फैलाई देशबाट रोग र भोक निर्मूल गर्न कटिबद्ध राजाको शुभराज्याभिषेकको दिनलाई शिक्षा दिवसको रूपमा आज दोस्रो पटक मनाइँदैछ ।
कुरो प्रष्ट छ । अर्थात् ‘...आज दोस्रो पटक मनाइँदैछ’ भन्नुले २०३३ सालमा दोस्रो पटक मनाइएको प्रष्ट हुन्छ । भनेपछि २०३२ सालमा पहिलो पटक मनाइएको थियो भन्ने पुग्दो प्रमाण नै यही हो ।
राजनीतिक परिवेशका कारण २०३६ र २०३७ सालमा शिक्षा दिवस मनाइएन । २०६३ सालमा राजतन्त्र विस्थापित भएपछि त्यस वर्ष पनि शिक्षा दिवस मनाइएन । फागुन १२ गतेको सट्टा अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन गर्ने निर्णय गरियो । २०६४ सालदेखि भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिनमा मनाउन थालियो ।
२०७६ सालमा शिक्षा मन्त्रालयले वितरण गरेको कार्यक्रम पुस्तिकामा ४०औँ शिक्षा दिवस भनी उल्लेख गरिएको थियो । त्यसमा २०३१ सालमा पहिलो पटक मनाइएको उल्लेख थियो भने २०३२, २०३३ र २०३४ साल उल्लेख नै थिएन । जबकी २०३२ देखि २०३४ सालका तीन वर्ष त मनाइएकै थियो र मनाइएको कुरा गोरखापत्रमा प्रकाशित समाचारबाट पनि पुष्टि हुन्छ ।
अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन मनाउनु उपयुक्त नहुने भन्दै २०७७ सालदेखि मनाइएन र २०७९ सम्म नै मनाइएन । २०८० सालमा असोज २ गते मनाउने निर्णय गरियो । र, मनाइयो पनि । निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी ऐन २०७५ साल असोज २ गते जारी भएको मितिका आधारमा नयाँ दिन कायम गरिएको हो ।
अब यस वर्ष शिक्षा मन्त्रालयले कतिऔँ शिक्षा दिवस भनेर उल्लेख गर्छ भन्ने हेर्न बाँकी छ । तर विगतमा गरिएका त्रुटिलाई सच्याउँदा मन्त्रालयको उचाइ घट्ने थिएन । धन्यबाद