
यस वर्ष पनि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले रनिङ अवार्ड प्राप्त गरेको छ । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय टोलीबाट भएको निरीक्षणमा उक्त शिक्षालयले उत्कृष्ट अङ्क प्राप्त गर्दै अवार्ड प्राप्त गरेको हो ।
पच्चीसौँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)का अवसरमा आज काठमाडौँमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक भरत खनियाँलाई उक्त अवार्ड प्रदान गर्नुभयो ।
यस वर्ष सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणका क्रममा देशभरका तालिम शिक्षालयहरूमध्ये सो तालिम शिक्षालय प्रथम भएको हो । यसअघि पनि विभिन्न समयमा उत्कृष्ट शिक्षालयले. ‘रनिङ अवार्ड’ जितेको छ ।
यस्तै ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बालाई प्रदान गरिएको छ । कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा अक्षयकोष खडा गरी सोबापत प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष एक जनालाई वार्षिक रु २५ हजार राशिको ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ प्रदान गरिँदै आएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक कोइरालालाई एपिएफ सम्मानबाट सम्मानित गरिएको छ । वर्षभरिमा नागरिकको सेवा, सुरक्षा र सहयोग र उद्वारमा उत्कृष्ट कार्य गर्न सफल ‘वर्ष जवान–२०८२’ घोषित नं. २४ कालिका गण कास्कीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार कविराज क्षेत्रीलाई ‘वर्ष जवान’ सम्मान प्रदान गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।




